अर्थ

कर्णालीमा ५७ प्रतिशत मात्र रोपाई

सुर्खेत – असार सकिन लाग्दा कर्णाली प्रदेशमा ५७ प्रतिशत मात्रै रोपाई भएको छ। क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार साविकको कर्णालीका डोल्पा र जुम्लामा रोपाई सम्पन्न भएको छ। समयमै पानी नपर्दा सुर्खेत र दैलेखमा एक तिहाई मात्रै रोपाई भएको छ।
 
क्षेत्रीय कृषि निर्देशनालयका सूचना अधिकारी नरेन्द्र थापाका अनुसार हुम्लामा ९५ प्रतिशत, कालिकोटमा ८४ प्रतिशत, मुगुमा ६५, दैलेखमा ३३ प्रतिशत, सुर्खेतमा ३५ प्रतिशत, रुकुममा ७४ प्रतिशत, सल्यानमा ५५ र जाजरकोटमा ८० प्रतिशत रोपाई भएको छ।
 
अघिल्लो वर्षको यहीँ अवधिमा कालिकोटमा ८४ प्रतिशत, मुगुमा ६५ प्रतिशत, कालिकोटमा ७० प्रतिशत, हुम्लामा ९८ प्रतिशत, मुगुमा ६५ प्रतिशत, दैलेखमा ४५ प्रतिशत, सुर्खेतमा ४० प्रतिशत, रुकुममा ७० प्रतिशत, सल्यानमा ७८ प्रतिशत र जाजरकोटमा ८० प्रतिशत रोपाई भएको थियो। अघिल्लो वर्ष डोल्पा र जुम्लामा पनि शतप्रतिशत रोपाई सम्पन्न भएको थियो।

सूचना अधिकारी थापाका अनुसार अवको केही दिनमै पानी नपरे खेत बाँझो रहने सम्भावना छ। ‘पानी नपर्दा ब्याडमै धान सुक्न थालिसकेका छन्’ उनले भने, ‘केही दिन अझै पानी नपरे खेत बाँझै रहने अवस्था अवस्था छ।’ उनले खाद्यान्न उत्पादन कम हुने कर्णाली प्रदेशमा समयमै पानी नपर्दा खाद्यान्न संकट निम्तन सक्ने बताए।

प्रकाशित: २७ असार २०७५ १४:०६ बुधबार

कर्णालीमा ५७ प्रतिशत मात्र रोपाई