अर्थ

नेपाल ‘सस्तो’ गन्तव्य: पर्यटकको दैनिक खर्च ५३ अमेरिकी डलर मात्र

पोखरा - नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन्? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो।

त्यसो भए पर्यटकको खर्च बढाउने उपाय के छन् ? थापा भन्छन्, ‘पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्यो । अनि सस्तोमा सेवा दिनु भएन । महँगा पूर्वाधार विकास गर्न हिच्किचाउनु भएन । नेपालका पर्यटकीय प्रडक्टलाई पर्यटन व्यवसायीले उच्च मूल्यमा बेच्न नसक्दा पर्यटकले खर्च गर्ने ठाउँ नपाएको थापाको भनाइ छ।पोखरामात्र नभई आसपासका क्षेत्रमा गतिविधि बढाउँदै पूर्वाधार थप्दै जाने हो भने पर्यटकले खर्च गर्ने ठाउँ पाउने उनले बताए । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलको सन् २०१७ को प्रतिवेदनले पनि नेपाल आएका पर्यटकको दैनिक खर्च ५३ डलर रहेको देखाएको छ ।

पर्यटन पत्रकार मञ्चले गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधारबारे छलफलमा पूर्वसचिव थापाले पर्यटकीय पूर्वाधारमा अझै लगानी अपुग भएको बताए । मुलुकलाई समृद्ध बनाउने तीन महŒवपूर्ण आधारमा पर्ने पर्यटन क्षेत्र लगानीको कम प्राथमिकतामा परेको उनले बताए । जलस्रोतको दाँजोमा पर्यटनमा कम लगानी भएको उनले बताए।

‘हामीसँग पर्याप्त स्रोत–साधन छन्, तर ती बेच्न जानेनौं,’ उनले भने, ‘पर्यटकीय गन्तव्यसम्म पहुँच पुर्याउन सक्नुपर्यो । पुगेका पर्यटकलाई सुविधा दिन सक्नुपर्छ र पर्यटकलाई भुलाउने गतिविधि गर्ने हो भने पाहुनाको खर्च बढ्छ ।’ उनका अनुुसार विदेशी पर्यटकको अलिहेको नेपाल बसाइ अवधि औसतमा १३ दिन रहेको छ ।

नेपालमा बन्दीपुरजस्ता स्मार्ट गाउँ रहेको भन्दै उनले ती स्मार्ट गन्तव्यलाई महँगोमा बेच्न नसकेको बताए । ‘अब पुराना गन्तव्यले मात्र पर्यटक आगमन बढाउन र उनीहरुलाई खर्च गराउन सकिन्न । पर्यटनमा सम्भावना भएका तर, कम प्राथमिकतामा परेका गन्तव्यलाई पनि बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘सम्भावना भएर पनि कतिपय जिल्लाका पर्यटकीय गाउँले पर्यटनबाट लाभ लिन सकेका छैनन्।’

थापाको अनुभवमा गण्डकी प्रदेशले पर्यटनमा पोखरा सहित मनाङ, मुस्ताङ र अन्नपूर्ण तथा मनास्लु क्षेत्र, तनहुँको बन्दीपुर, बागलुङको ढोरपाटन र गोरखाको माथिल्लो क्षेत्रलाई मात्र प्राथमिकतामा पारेको छ । तनहुँ, लम्जुङ, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ तुलनात्मक रुपमा कम प्राथमिकतामा परेको उनले बताए ।

‘प्रदेशभित्र धर्मिक तथा पर्य पर्यटनको पर्याप्त सम्भावना छ । त्यसबाहेक स्वास्थ्य तथा कृषि, शैक्षिक, ऐतिहासिक र पुरातात्विवक, महत्वका गन्तव्य छन्,’ थापाले भने, ‘पोखरामा मात्र रहेको हवाई खेल अब अन्यत्र विस्तार गर्नुपर्छ । अनि, र्याफ्टिङ र क्यानोनिङ जस्ता जलपर्यटनका गतिविधि बढाउनुपर्छ ।’ लम्जुङका छहरामा क्यानोनिङ गराउन सकिने पर्याप्त सम्भावना रहेको उनले बताए ।

पूर्वाधार पनि अपुग रहेको उनले बताए । ‘प्रदेशभित्र राम्रा होटल धेरै छन्् । तर, महँगो रकम खर्चन सक्ने अन्तर्राष्ट्रिय चेन होटल कम भए,’ उनले भने, ‘ठूला आकारका होटल पनि पैसा खर्च गराउने पूर्वाधार हुन् ।’ ऐतिहासिक महत्वका पूर्वाधारको उत्खनन्, ऐतिहासिक पूर्वाधारको संरक्षण र विकाससँगै पहुँचयुक्त पूर्वाधार बढाउन उनले सुझाए ।

पर्यटकलाई गरिने व्यवहार, अप्ठेरो परेको बेला गरिने उद्धारमा पनि पर्यटन निर्भर रहने उनले बताए । त्यसबाहेक पर्यटक आगमन बढाउन अन्तर्राष्ट्रिय स्तरका सम्मेलन केन्द्र बनाउनुपर्ने पनि थापाले बताए । ‘मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स र एक्जिविसन (माइस) टुरिजममा पनि नेपालमा सम्भावना छ । तर, त्यसका लागि ठूला र अन्तर्राष्ट्रियस्तरका सम्मेलन केन्द्र चाहिन्छ,’ उनले भने । थापाले ग्रामीण क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन होमस्टेमा गुणस्तर बढाउनुपर्ने सुझाए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सस्तो सेवाले पर्यटकको खर्च बचत भएको बताए । ‘विश्वको महँगो व्यवसायमा पर्यटन पर्छ । तर, हामीले सस्तोमा सेवा दिँदा पाहुनालाई खर्च गराउन सकेनौं,’ उनले भने, ‘नेपाल भन्दा पछि पर्यटनमा लम्किएका भियतनाम, कम्बोडिया जस्ता मुलुकले दैनिक पाँच सय डलरसम्म पर्यटकलाई खर्च गराउन सकेका छन्् । तर, हामी ५० डलरको सेरोफेरोमा रुमल्लिएका छौं ।’ पर्यटकको संख्या बढाउन मात्र आतुर भएको, खर्च गराउनेतर्फ ध्यान दिन नसकेको उनले बताए । ‘अहिले महँगो रकम लिनुपर्ने बेला सस्तोमा सेवा दिएका छौं,’ मुल्मीले भने ।

मुल्मीले पोखरामा अहिले दिनमा चार–पाँच घन्टा घुमेपछि सकिने भएकोले घुम्ने ठाउँ पहिचान गरेर पर्यटक लैजान सक्नुपर्ने बताए । ‘पर्यटकीय गतिविधि बढाउनुपर्यो, बसाइअवधि बढाउने हो भने उनीहरुको खर्च बढ्छ,’ मुल्मीले भने, ‘अहिले हामी पोखरा वरिपरि मात्र पर्यटक घुमाउँछौं । मट्टिखान, भुज्रुङखोला, पञ्चासेसम्म पनि लैजाने हो भने पर्यटकको खर्च बढ्छ ।’ अबको लक्ष्य पर्यटकसँग दैनिक ५–६ सय डलर लिन सक्नुपर्ने उनले बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले गुणस्तरीय पर्यटक भित्र्याउने लक्ष्य प्राप्तिमा राज्य पनि सक्रिय हुनुपर्ने बताए । पर्यटन व्यवसायी गणेश भट्टराईले पहुँचमा समस्या हुँदा नेपालमा गुणस्तरीय पाहुना आउन नसकेको बताए । पर्यटन बोर्ड गण्डकीका प्रमुख सुर्य थपलियाले पनि पोखरामा पर्यटकको बसाइ अवधि बढाउन र उनीहरुको खर्च गर्ने क्षमता विस्तारमा व्यवसायीको ध्यान पुग्नुपर्ने बताए ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले नेपालमा पर्यटकको बसाइ अवधि कम हुनुमा सडक र काठमाडौंको प्रदूषण रहेको बताए । ‘विमानस्थलमा ओर्लिएपछि पट्यारलाग्दो सडक यात्रा र प्रदूषणको मारमा पर्यटक पर्ने गरेका छन्,’ उनले भने, ‘सडक त सुधार गर्नैपर्छ ।’ सरकारले सन् २०२० मा राखेको २० लाख पर्यटकको लक्ष्य पूरा गर्न हालै भारतसँग भएको हवाई रुट खुलाको सम्झौता, नेपालमा बनिरहेका पूर्वाधार र भारत तथा चीनमा हुने प्रवद्र्धन सहयोगी रहेको उनले बताए ।
 

 

प्रकाशित: २७ असार २०७५ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App