अर्थ

सहज पहुँच र नयाँ नाकामा जोड

काठमाडौं - सबैभन्दा पुरानो व्यापारिक सम्बन्ध भएको तिब्बतसँग नेपालले सहज पहुँच र अवैध व्यापार रोक्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने आठौं नेपाल–तिब्बत व्यापार सहजीकरण समिति बैठकमा दुईपक्षीय व्यापार प्रवर्द्धनका विषयमा छलफल भएको छ।

उच्च तहले सम्बोधन गर्नेदेखि स–साना विषयमा छलफल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले बताए । ‘तिब्बत सहज व्यापारदेखि सीमा नाकाको प्रवर्द्धनसम्मको विषय बैठकमा छलफल भएका छन्,’ सैंजुले भने, ‘उच्चस्तरबाट सम्बोधन हुनेदेखि स–साना विषय बैठकको मुख्य एजेन्डा बनेका छन् ।’

उनका अनुसार नेपाल र तीब्बचबीचको व्यापारलाई सहज बनाउन सीमा नाकालाई स्तरोन्नति गर्न गर्ने विषय र नयाँ नाका खोल्ने विषय बैठकमा प्रवेश गरेको छ । तातोपानी नाकालाई खुलाउन आवश्यक पूर्वाधार छिटो सक्ने विषयमा बैठकमा छलफल भएको छ।

त्यसैगरी, रसुवागढी नाकाबाट हुने व्यापारलाई सहजीकरण गर्ने विषय पनि उठेको छ । त्यहाँबाट सामान निर्यात गर्दा सर्टिफिकेसन दिने विषयलाई सरल र सहज गर्ने विषय उठाएको सैंजुले बताए । अघि सहमति भएको सुक्खा बन्दरगाहको भौतिक पूर्वाधारलाई तीव्रता दिन पनि नेपालले विषय उठाएको छ ।

त्यसैगरी, नेपाली व्यवसायीलाई केरुङसम्म सहज पहुँच दिन पनि नेपालले आग्रह गरेको छ । हाल, रसुवा जिल्लाका व्यवसायी र ड्राइभरलाई मात्र केरुङसम्म जान सहज छ । अरु व्यवसायीलाई झन्झटिलो भएको नेपाल पक्षले बताएको छ ।नेपालले तिब्बतमा हरेक वर्ष विभिन्न किसिमका व्यापारिक मेला गर्दै आएको छ । ती मेलालाई अझ विस्तार गर्ने विषय पनि छलफलमा उठाइएको सैंजुले बताए ।

नेपालमा अवैध रुपमा सुन भित्रिरहेको चर्चा चलिरहँदा त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयलाई पनि बैठकमा उठाइएको छ । ‘यस्तो अवैध व्यापार रोक्न संयुक्त रुपमा के प्रयास गर्ने भन्ने विषय पनि बैठकमा परेको छ,’ सैंजुले भने, ‘दुई पक्षबीचको संयुक्त प्रयासमा यसलाई रोक्न सकिन्छ ।’ तातोपानी नाका बन्द भएपछि अरु ठाउँबाट कालो सुन भित्रिरहेको आशंकामा यो प्रयास थालिएको हो।

नेपालका नयाँ एजेन्डाहरू

–व्यापारमा सहज पहुँच
–नयाँ नाका र सीमा नाकाको स्तरोन्नति

–सुख्खा बन्दरगाहको निर्माण
–व्यापार मेलाको व्यापकता वृद्धि

–व्यावसायीलाई केरुङसम्म पहुँच
–अवैध सुन व्यापार रोक्न दुवै पक्षको पहल

चीनको आर्थिक सहयोगमा केरुङ र तातोपानीमा निर्माण हुन लागेको पुल, सुक्खा बन्दरगाह छिटो सक्न योजना तह गर्ने विषयलाई पनि बैठकमा उठाइएको छ । नेपाल र चीनबीच वैशाख महिनामा एक वर्षभित्र तातोपानी सुक्खा बन्दरगाह सञ्चालन गर्ने गरी दोस्रो चरणको निर्माण कार्य अघि बढाउने सहमति भइसकेको छ । सहमति अनुसार उक्त आयोजना आगामी २०१९ अप्रिल ३० अघि नै सम्पन्न गर्ने र मे २० सम्म नेपाली पक्षलाई हस्तान्तरण गरिने छ ।

दुईपक्षीय बैठकमा चीनको तिब्बतका डेपुटी सेक्रेटरी जेनेरलको नेतृत्वमा ११ सदस्य टोली सहभागी भएको छ । नेपालको तर्फबाट वाणिज्य मन्त्रालयको नेतृत्वमा १६ जना सहभागी भएको सैजुले बताए । चीनबाट नेपालमा लगानी भिœयाउन कसरी सहज वातावरण बनाउन सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ । शुक्रबार सम्पन्न हुने उक्त बैठकबाट केही सहमति निस्कने छ ।नेपाल–तिब्बतबीच व्यापारको धेरै पुरानो सम्बन्ध भए पनि नेपाल र चीनबीचको दुईपक्षीय व्यापार सहजीकरण गर्ने भन्दै सन् २००९ मा यो समिति गठन गरिएको थियो ।

प्रकाशित: २२ असार २०७५ ०२:०९ शुक्रबार

सहज पहुँच नाकामा जोड