अर्थ

जग्गाको वर्गीकरण अवैज्ञानिक

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको वर्गिकरण अवैज्ञानिक भएको बताएका छन् ।राजधानीमा बुधबार आयोजना गरेको नेपालमा अचल सम्पत्तिको मूल्यांकन विषयक कार्यशालामा मन्त्री खनालले यस्तो धारणा राखेका हुन् ।

‘जग्गाको वैज्ञानिक वर्गीकरण र मूल्यांकन पद्धतिको विकास गर्नुपर्छ,’ उनले भने, ‘जमिन पाएँ भन्दैमा जे पनि गर्ने छुट छैन ।’ अहिले सबै संरचना जोखिमपूर्ण, अव्यवस्थित र अमर्यादित रहेको मन्त्रीले बताए । ‘जमिनको वर्गीकरणलाई निश्चित मापदण्डमा ल्याउनुपर्ने छ,’ उनले भने, ‘विभिन्न आधार तयार गरेर मूल्यांकन गर्नुपर्छ ।’कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सम्पत्तिको मूल्यांकन वैज्ञानिक हुनुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय तहमा विभिन्न कानूनहरु भए पनि नेपालमा त्यसअनुसार काम हुन सकेको छैन,’ पौडेलले भने, ‘ मूल्यांकनकर्ता फरक हुँदा सम्पत्तिको मूल्यांकन समेत फरक हुने गरेको छ ।’

कार्यक्रममा प्रभु बैंका कार्यकारी अधिकृत अशोक शेरचनले जग्गाको मूल्यांकन जटिल भएको हुँदा बैंकहरुका लागि पनि समस्या भएको बताए । ‘जग्गाको मूल्यांकन वैज्ञानिक र सुरक्षित भए बैंकलाई पनि सजिलो हुन्थ्यो,’ उनले भने, ‘जग्गा मूल्यांकन गर्नका लागि जिम्मेवार कुनै काउन्सिल जस्तै निकाय हुनुपर्छ ।’नेपाल इन्स्टिच्युट अफ चार्टर्ड सर्भेयर्सका अध्यक्ष पुण्यप्रसाद ओलीले जग्गाको मूल्य अधिक भएका जस्ता समस्याहरु रहेको बताए । ‘घर जग्गाको मूल्यांकन तल माथि पर्दा विभिन्न समस्याहरु आउने गरेका छन्,’ उनले भने ।

कार्यक्रममा पूर्व नापी महानिर्देशक बुद्धिनारायण श्रेष्ठले नेपालमा अचल सम्पत्तिको मूल्यांकन विषयक कार्यपत्र प्रस्तुत गर्दै वर्तमान अवस्थाबारे जानकारी दिए ।कार्यक्रममा मूल्यांकन पद्धतिलाई वैज्ञानिक र एकरुपता ल्याउन मूल्यांकनकर्ताको शैक्षिक योग्यता, व्यवसायिक तालिम, अनुभव तोकिनुपर्ने, लाइसेन्स लिनुपर्ने लगायत मूल्यांकन मापदण्ड निर्धारण गर्नुपर्ने बताएका थिए ।

प्रकाशित: २१ असार २०७५ ०२:४७ बिहीबार

जग्गाको वर्गीकरण अवैज्ञानिक