चितवन - चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक लाख ४५ हजार सात सय सात पर्यटक आएका छन् ।
जसमा ९४ हजार तीन सय ७५ विदेशी, १८ हजार एक सय ८५ सार्क देशका र ३३ हजार एक सय ४७ नेपाली पर्यटक रहेका छन् । निकुञ्ज घुम्ने पर्यटकका लागि सौराहा, घटगाई, कसरा पुल गेट, देवनगर, भिम्ले मेघौली, लौखानी, अमलटारी र कुजौली प्रवेशद्वारबाट निकुञ्ज प्रवेश गर्ने सुविधा रहेको ।
प्रशस्त रहेको प्रवेशद्वार छनौट गर्ने सुविधा भएपनि अधिकांश पर्यटकले सौराहाको प्रवेशद्वार रोज्ने गरेका छन् । जेठसम्म आएका पर्यटकमध्ये ७८ हजार ६ सय ६३ विदेशी, १५ हजार नौ सय ४१ सार्क र २६ हजार तीन सय ३७ नेपाली गरी एक लाख २० हजार नौ सय ४१ पर्यटक सौराहा प्रवेशद्वारबाट निकुञ्ज घुमेका थिए । निकुञ्ज प्रवेश गरेर घुम्नका लागि मात्र नभई बस्न र रमाइलो गर्न पनि पर्यटकले सौराहा रोज्छन् ।
चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहालाई नेपालको तेस्रो प्रमुख पर्यटकीय स्थल मानिन्छ । देवघाट, सिराइचुली, माडी, मेघौली लगायत पर्यटकिय स्थल चितवनमा छन् । चितवन आउने करिब ९० प्रतिशत पर्यटक सौराहा आउँछन् । २०३० पछि सौराहामा पर्यटनको सुरुवात भएको थियो । सौराहालाई सुन्दर पर्यटकीय गन्तव्य बनाउनका लागि गुरु योजना बनाइँदैछ।
क्षेत्रीय होटेल संघ नेपाल चितवनले माउन्टेन हेरिटेज प्रालिसँग समन्वय गरेर गुरुयोजना तयार गर्न लागेको हो । सुन्दर सौराहाको परिकल्पना गरेर दुई वर्ष अघिदेखि गुरुयोजना बनाउने तयारी थालेको क्षेत्रीय होटेल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । सौराहा आउने पर्यटकलाई सौराहा मात्र केन्द्रित नगरी चितवनका अन्य पर्यटकीय स्थलसम्म पु¥याउने कामका लागि गुरुयोजना बनाउन लागिएको उनी बताउँछन् ।
‘सौराहा चितवनकै प्रमुख पर्यटकीय हब हो,’ उनले भने, ‘मास्टर प्लानले यहाँ धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सहयोग हुन्छ ।’ सौराहाको पर्यटन सफारी पर्यटनमा आधारित छ । धेरैजसो पर्यटक बाघ, गैंडा लगायत वन्यजन्तु, चरा हेर्न र निकुञ्ज घुम्नका लागि चितवन आउँछन् । सफारी पर्यटन बाहेकका विकल्पहरु सौराहामा विकास गर्न गुरुयोजनामा प्राथमिकता दिइने उनी बताउँछन्।
सौराहामा उच्चस्तरीय बसपार्क, सभाहल लगायत आवश्यक पूर्वाधार विकास गरेर माइस टुरिजमलाई प्राथमिकता दिनुपर्ने उनले बताए । गुरुयोजना निर्माणको ६० प्रतिशत काम सकिएको गुरुयोजना निर्माणमा सहभागी पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिए । वृहत्तर चितवन क्षेत्रको पर्यटकीय केन्द्रविन्दु र प्रमुख प्रवेशद्वार बनाउन गुरुयोजना बनाउन लागिएको उनले बताए ।
पर्यटन उत्पादनको विविधीकरण, वातावरण तथा संस्कृतिमैत्री पर्यटन पूर्वाधार तथा सेवा सुविधाको विकास, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, बजारीकरण र प्रवद्र्धन, समन्वय र सहकार्यको काम गुरुयोजनामार्फत गरिने सुवेदी बताउँछन् ।
चितवनमा अहिले दुई सय १० होटेल तथा रिसोर्ट, ५४ होमस्टे छन् । दुई हजार चार सय ७२ रुम र पाँच हजार एक सय ८४ बेड सुविधा पर्यटकका लागि उपलब्ध छन् । जसमध्ये सौराहामा मात्र एक सय तीन होटेल, एक हजार आठ सय ४५ रुम र तीन हजार सात सय ३७ बेड सुविधा रहेको छ ।गुरुयोजना बनाउन गरिएको अध्ययनमा सौराहामा १४ अर्ब ५२ करोड रुपैयाँ लगानी गरिएको पाइएको सुवेदीले बताए । होटल, रेस्टुरेन्ट, पब, हात्ती सफारी, जिप सफारी, बोटिङ, जंगल वाक, वर्ड वाचिङ, म्युजियम, हस्तकला लगायत क्षेत्रमा उक्त रकम लगानी भएको उनी बताउँछन् । हरियाली सौराहा बनाएर पर्यटक सौराहामा भिœयाउन केन्द्रीय, प्रदेश र स्थानीय तीनवटै तहसँग सहकार्य गरिनुपर्ने उनले बताए ।
धेरै पर्यटक ल्याउन देशका अन्य ठाउँका विमानस्थलसँग पनि भरतपुर विमानस्थलको क्षेत्रीय उडान सञ्चालन गरिनुपर्ने उनी बताउँछन् । विश्व सम्पदा सूचीमा रहेको चितवन निकुञ्जसँग जोडिएको सौराहाको गुरुयोजनाले क्षेत्र यसको संवेदनशीलतालाई समेत ध्यान दिनुपर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । निकुञ्जमा बासस्थान सुधार र संरक्षण गरेर वन्यजन्तुको संरक्षणमा सहभागी भएको बताउँदै उनले भने, ‘पर्यटन नै निकुञ्जको आम्दानीको प्रमुख स्रोत हो ।’ यस आर्थिक वर्षको ११ महिनामा निकुञ्जले २३ करोड ७३ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ।
सौराहाको गुरुयोजनाबारे प्रदेश ३ का सचिवहरुलाई जानकारी गराइएको छ । प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बसन्त अधिकारीले स्पष्ट खाकासहितको गुरुयोजना बनाउनुपर्ने बताए । गुरुयोजनामा नै तीन तहको सरकारमध्ये कुन सरकारको भूमिका के कस्तो हुने भनेर समेट्नुपर्ने उनको सुझाव छ । पर्यटकको संख्या बढाउन पूर्वाधार र आकर्षण थप्नुका साथै प्रचारप्रसार तथा व्यवसायिकतामा प्राथमिकता दिनुपर्ने उनी बताउँछन् ।
प्रकाशित: २० असार २०७५ ०१:११ बुधबार