अर्थ

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख विनियोजन

रसुवा – रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गरेका छन्। 

विगत लामो समयदेखि केबलकार निर्माण गर्ने भनिए तापनि प्रक्रिया अघि बढेको थिएन्। आर्थिक वर्ष २०७५–०७६ का लागि केबलकारको अध्ययन गर्न प्रदेश नम्बर ३, गोसाईकुण्ड र नौकुण्ड गाउँपालिकाले ५५ लाख बजेट विनियोजन गरेका हुन्।

प्रदेशले सार्वजनिक गरेको योजना अनुसार नौकुण्ड गोसाईकुण्ड केबलकार निर्माणका लागि डिपिआर तयार गर्ने र धुन्चे गोसाईकुण्ड केबलकारको अध्ययन गरिने छ। सम्भाव्यता अध्ययनका लागि प्रदेशले १५ लाख र नौकुण्ड गाउँपालिकाले १० लाख बजेट छुट्याएको छ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले गाउँपालिकाको गौरबको योजना अन्तर्गत धुन्चे–गोसाईकुण्ड केबलकार निर्माणको लागि डिपिआर तयारी गर्न ३० लाख बजेट विनियोजन गरेको अध्यक्ष कैसाङनुर्पु तामाङले बताए। 

‘नौकुण्ड गाउँपालिकाको राष्ट्रिय महत्वका स्थानहरु पर्यटनका प्रगाढ सम्भावना बोकेका सातधारे हिमाल, गोसाईकुण्ड केबलकार तथा पर्यटकीय पदमार्ग र बालुवा जस्ता प्राकृतिक स्रोतको व्यवस्थापनको सम्भाव्यता अध्ययनका लागि १० लाख विनियोजन गरिएको’ उल्लेख छ। 

हरेक वर्षको जनैपूर्णिमा र गंगादशहरामा मेला भर्न हजारौँ भक्तजन र पर्यटक सिन्धुपाल्चोक, रसुवा र नुवाकोटको बाटो भएर गोसाईकुण्ड पुग्छन्। कुण्डमा स्नान गरी गोसाईवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। 

प्रकाशित: १६ असार २०७५ ११:५२ शनिबार

गोसाइकुण्डमा केबलकार चलाउन ५५ विनियोजन