अर्थ

‘माथिल्लो तामाकोसीको सेयर खुलाएको समय अनुपयुक्त’

दोलखा - सर्वसाधारण रोपाइँको चटारोमा रहेका बेला माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गरेको छ।

दोलखाको विगु गाउँपालिका–१, लामाबगरमा निर्माणको अन्तिम चरणमा पुगेको स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित जिल्लाबासीका लागि खुलाएको सेयर भर्ने समय अपायक भएको भन्दै जिल्लामा असन्तोष बढेको छ।

आयोजनाले दोलखाबासीका लागी छुट्ट्याएको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर असार २४ गतेदेखि साउन ९ गतेभित्र जिल्लामा रहेका १७ मध्ये १४ बैंक र जिल्लाका विभिन्न ग्रामीण बजार केन्द्रमा रहेका तीनका शाखामार्फत भर्नू भन्दै सोमबार आह्वान पत्र प्रकाशित गरेको थियो । आयोजनाले आह्वान पत्रमा जिल्लाबासीलाई ३० कित्तादेखि तीन सय कित्तासम्म सेयरका लागि आवेदन दिन भनेको छ।

आयोजनाले मध्य बर्खामा सेयर जारी गरेको भन्दै जिल्लामा विरोध सुरु भएको छ । गाउँका सर्वसाधारण रोपाइँमा व्यस्त रहने र बर्खा, बाढी पहिरोका कारण जिल्लाबाहिर र गाउँमा रहेकाहरु सेयर भर्न बैंकसम्म पुग्न कठिन हुनुका साथै बैंक तथा वित्तीय संस्थाहरु समेत आर्थिक वर्षको अन्तिममा आफ्नै कामको चपेटामा हुने भन्दै राजनीतिक दल र सर्वसाधारणले अनुपयुक्त समयमा सेयर खुलाएको आरोप लगाएका छन् ।

तत्कालीन एमाले जिल्ला उपाध्यक्ष एवं नेकपाका जिल्ला नेता नरबहादुर श्रेष्ठले तामाकोसीको सेयर खुल्नु सकारात्मक भए पनि खुलाउने समय ठिक नभएको टिप्पणी गरे । ‘जिल्लाका ९० प्रतिशत मानिस कृषि पेसामा संलग्न छन, उत्तिकै ठूलो संख्यामा जिल्लाबासी बाहिर बस्छन,’ मेलुङ गाउँपालिकाका प्रमुख समेत रहेका श्रेष्ठले भने, ‘मध्य बर्खाका कारण सबै नागरिक सेयर भर्न आउनै सक्दैनन्।’

उनले प्रायः बैंकहरु सदरमुकाममा रहेको र दुई गाउँपालिकामा बैंक नै नभएकाले बर्खाले सर्वसाधारण मारमा परेको सुनाए । जिल्ला प्रवेश गर्ने मुख्य सडक सहित गाउँबाट सदरमुकाम आउने अधिकांश सडक ग्रामीण रहेकाले आउजाउ गर्नै अप्ठेरो हुने समयमा बैंक पुगेर सेयर भर्न सर्वसाधारणलाई कठिन हुने तर्क श्रेष्ठको छ । उनले यसलाई दसैअघि वा पछि पुर्याउन पनि आग्रह गरे ।

कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्काले पनि अनुपयुक्त समयमा सेयर जारी भएको प्रतिक्रिया दिए । ‘यो सेयर वैशाखअघि नै जारी गर्नुस् भनेर पटकपटक आग्रह ग¥यौं,ं’ खड्काले भने, ‘तर मध्य बर्खामा जारी गरिएका कारण सर्वसाधारणलाई कठिनाइ थोपर्ने काम भयो ।’ उनले सहज समयमा सार्न आयोजनासँग छलफल गरिरहेको सुनाए।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर संरचनामा विभेद भएको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएको तामाकोसी सेयर सरोकार संघर्ष समितिले पनि सेयर आह्वान प्रक्रिया तत्काल रोक्न माग गरेको छ।बिहीबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी समिति संयोजक बर्मा लामाले दोलखालीका लागि जारी गर्न लागेको सेयर वितरण प्रक्रिया तत्काल नरोके आन्दोलन गर्ने चेतावनी दिए ।

जिल्लाका संघ–संस्थाले बुधबार जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाउँदै अहिले स्थगित गरी उपयुक्त समयमा जारी गर्न आग्रह गरे ।‘यो समयमा बाटो र सडकको समस्या साथै बाढी पहिरोका कारण सर्वसाधारणको बैंक र सहर बजारसम्म पहुँच गाह्रो छ,’ ज्ञापनपत्र बुझाउन गएका सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्काले भने, ‘त्यसैले यसलाई पछि सार्नुपर्छ ।’

जिल्लाको घ्याङसुकाठोकरस्थित गाईखुरा युवा क्लबका अध्यक्ष टंक भण्डारीले बर्खाका कारण सेयर भर्न जान नसकिने हो कि भन्ने चिन्ता ग्रामीण भेगमा परेको सुनाए ।उता, आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जिल्लाबासीका लागि खुलाइएको सेयरको समय बर्खाले गर्दा अनुपयुक्त जस्तो देखिए पनि नियमावलीमा समयसीमाको बाध्यात्मक व्यवस्था रहेकाले यो समयमा खुलाइएको जानकारी दिए ।

‘बर्खाको विषयमा सचेत रहँदारहँदै पनि नियमावलीका कारण बाध्यात्मक अवस्था आइपर्यो,’ उनले भने, ‘त्यसका बाबजुद जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुले सेयर भराउन सबै नागरिकलाई सेवा दिन सक्ने प्रतिबद्धता जनाएपछि खुलाएका हौं।’

उनले पोहोर कात्तिकमै धितोपत्र बोर्डमा काम अगाडि बढाए पनि विभिन्न प्रक्रियाले ढिलाइ भएका कारण जेठ अन्तिम साता मात्र जिल्लाबासीको सेयर खुलाउन बोर्डबाट स्वीकृत पाएको र कम्पनी रजिस्ट्रारको कार्यालयको नियमावली अनुसार समय सीमाभित्रै खुलाउनु पर्ने कारण यसो भएको जानकारी दिए ।

उनले सुरुमा १५ दिन मात्र समय रहे पनि म्याद थप हुन सक्ने बताए । ‘अन्यत्र सेयर वितरण प्रक्रिया छोटो समय हुन्छ,’ न्यौपानेले भने, ‘तर यहाँ जिल्लाबासी नछुटून् भनेर १५ दिनको समय सीमा राखेका छौं, यो समय धितोपत्र बोर्ड र जारी गर्ने प्रबन्धक कम्पनीसँग समन्वय गरेर थप्न आग्रह गर्न सक्छौं’।
 

प्रकाशित: १५ असार २०७५ ०१:२२ शुक्रबार

माथिल्लो तामाकोसीको सेयर खुलाएको समय अनुपयुक्त