अर्थ

आव ०७७-७८ को बजेट ४४ अर्ब पुग्ने

पोखरा - मध्यमकालीन खर्च संरचनाको आधारमा आर्थिक वर्ष ०७७-०७८ को बजेट ४३ अर्ब ७६ करोड ८५ लाखभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि २४ अर्ब २ करोड ३३ लाखको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको खर्च संरचनाअनुसार सरकारले आगामी आव ०७५-७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरिसकेको छ।

खर्च संरचनाअनुसार अर्को आव ०७६÷७७ मा ३४ अर्ब १९ करोड ३५ लाख करोड रुपैयाँको बजेट आउनेछ । तेस्रो वर्ष अर्थात् आव ०७७-७८ को बजेटको आकार ४३ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ हुने प्रक्षेण गरिएको छ ।
यो संरचनाअनुसार यी तीन आर्थिक वर्षमा संघीय सरकारले दिने वित्तीय समानीकरण, ससर्त, विशेष र समपूरक अनुदानबाट आगामी आवका लागि १४ अर्ब ३४ करोड आइसकेको छ भने त्यसपछिका आर्थिक वर्षका लागि क्रमशः २१ अर्ब १२ करोड र २६ अर्ब ४९ करोड आउनेछ।

यस्तै, राजस्व बाँडफाँटबाट ६ अर्ब ५७ करोड आगामी आर्थिक वर्षका लागि आइसकेको छ भने त्यसपछिका दुई आर्थिक वर्षका लागि क्रमशः ८ अर्ब १५ करोड र १० अर्ब ८५ करोड आउने प्रक्षेपण गरिएको छ ।मध्यमकालीन खर्च संरचनाको तेस्रो वर्ष ०७७÷०७८ मा सरकारले आन्तरिक राजस्वबाट ३ अर्ब ५१ करोड रुपैयाँ संकलन गर्नेछ । आगामी आवका लागि भने सरकारले १ अर्ब ६९ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

खर्च संरचनाअनुसार आर्थिक वर्ष ०७७÷७८ को चालू खर्च ९ अर्ब ५१ करोड २६ लाख (२१.७ प्रतिशत) र पुँजीगततर्फ ३४ अर्ब ४ करोड ५८ लाख (७७.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । साथै, वित्तीय व्यवस्थातर्फ २१ करोड हुने अनुमान गरिएको छ ।बजेटको स्रोत भने २६ अर्ब ४९ करोड संघीय अनुदान, राजस्व बाँडफाँट १० अर्ब ८६ करोड, आन्तरिक राजस्व ३ अर्ब ५१ करोड, वैदेशिक अनुदान १ अर्ब ६३ करोड र आन्तरिक ऋणबाट १ अर्ब २७ करोड रुपैयाँ व्यहोर्ने प्रक्षेपण गरिएको छ।

यस्तै, सरकारले त्रिवर्षीय खर्च पी–१, पी–२ र पी–३ प्राथमिकताका योजनाहरूको आधारमा बजेट विनियोजन गर्नेछ । पहिलो प्राथमिकतामा परेका योजनाहरूलाई पी–१ को रूपमा संकेत गरिएको छ । आर्थिक वर्ष ०७७÷७८ मा पी–१ का योजनाहरूको खर्च २९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ (८६.८ प्रतिशत) हुने प्रक्षेपण गरिएको छ । पी–२ का योजनाहरू खर्च भने ३ अर्ब २५ ७६ लाख रुपैयाँ (९.५ प्रतिशत) हुनेछ ।

प्रकाशित: ११ असार २०७५ ०१:२९ सोमबार

आव ०७७-७८ को बजेट ४४ अर्ब पुग्ने