अर्थ

शिवम् सिमेन्टलाई सेयर निष्काशन गर्न अनुमति

काठमाडौं-  नेपाल धितोपत्र बोर्डले शिवम् सिमेन्ट लिमिटेडलाई सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।

उक्त कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि दुई प्रतिशतले आठ लाख ८० हजार कित्ता तथा सर्वसाधारणका लागि १० प्रतिशतले ४४ हजार कित्ता गरी कुल ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमतिका लागि बोर्डमा निवेदन दिएको थियो।

कम्पनीलाई बोर्डले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि प्रिमियमसहित क्रमशः प्रतिसेयर तीन सय र चार सय रुपैयाँका दरले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरेको हो । उक्त कम्पनीलाई इक्रा नेपाल लिमिटेडले क्रेडिट रेटिङ ग्रेड तीन प्लस प्रदान गरेको छ ।

शिवम् सिमेन्ट प्रतिदिन तीन हजार टन उत्पादन क्षमता राख्ने पहिलो उत्पादनशील कम्पनी हो । उक्त कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशनबाट उत्पादनशील क्षेत्रका कम्पनीहरु समेत सार्वजनिक निष्काशनमार्फत पुँजी परिचालन गर्न उत्प्रेरित हुने र यसबाट बजारमा उत्पादनशील कम्पनीहरुको प्रभुत्व बढ्दै जाने बोर्डको विश्वास रहेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘पुँजी बजारमा मुख्यतः वास्तविक क्षेत्रका कम्पनीहरुको सहभागिता रहेमा मात्र पुँजी बजारले देशको आर्थिक स्थिति यथार्थ रुपमा प्रतिविम्वित गर्न सक्छ भन्ने मान्यता तथा लगानीकर्ताहरुलाई लगानीको विविधीकरण गर्न समेत अवसर प्राप्त हुने छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खासगरी वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमार्फत पुँजी परिचालन गर्न आकर्षित गर्न नेपाल सरकार तथा यस बोर्डबाट प्रोत्साहनमूलक नीति अपनाएको सन्दर्भमा नेपाल सरकारले बजेटमार्फत धितोपत्र बजारमा सूचिकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीलाई करमा विशेष छुट दिने व्यवस्था गरेको छ।’

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लागू गरी प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पुँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने लगायत सुधारका काम गरेको बोर्डको भनाइ छ।

प्रकाशित: ८ असार २०७५ ०१:४४ शुक्रबार

शिवम् सिमेन्टलाई सेयर निष्काशन गर्न अनुमति