अर्थ

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

रक्सोलस्थित भारतीय आइसिपीमा पस्न लाम बसेका नेपाल आउने मालवाहक सवारी ।तस्बिर : रितेश/नागरिक

वीरगन्ज - गत चैतको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले अनलाइन उद्घाटन गरेको वीरगन्जस्थित ‘इन्टरग्रेटेड चेक पोस्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात व्यापार फापेन।

नेपालको भारतसँगको व्यापार र भारत भएर हुने तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र सहज हुने भन्दै महत्वपूर्ण मानिएको ‘आइसिपी’बाट व्यापार सुस्त र महँगो हुन गएको आयातकर्ताले बताएका छन्।‘आइसिपी’का रुपमा भन्सार र व्यापारमा सहजीकरण गर्ने निकाय नेपाल र भारत सीमामा दुवैतर्फ एकसाथ स्थापना भएको हो । व्यापार आधुनिकीकरणको आपेक्षा गरिए पनि आइसिपी सञ्चालनमा आएपछि आयातकर्ताको अनुभव भने फरक भएको छ ।

भारतीय शसस्त्र सुरक्षा बल र बिहार पुलिसको प्रस्तुति ‘आइसिपी’मा अनपेक्षित किसिमको छ । उनीहरुले त्यहाँ भएर हुने नेपालको व्यापारमाथि अघोषित नियन्त्रण जमाएका छन् । यसमा भारतीय कस्टम (भन्सार)ले सुरक्षाकर्मीलाई सघाएपछि नेपाली आयातकर्ताको मनमा चिसो पसेको छ । नेपाली व्यापार नाकामा हस्तक्षेपलाई भारतीय पक्षले फरक शैलीमा निरन्तरता दिएको स्थानीयको बुझाइ छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले ‘आइसिपी’ सञ्चालनपछि समस्या बढेको बताए । त्यहाँ भारततिरबाट ‘आइसिपी’मा पस्ने बेला प्रवेश गराउने काम सुस्त भएकाले २५ किलोमिटरसम्म मालवाहक सवारीसाधनको जाम लाग्ने गरेको शर्माले बताए ।

अध्यक्ष शर्माले आइसिपी सुरक्षाका नाममा तैनाथ भारतीय सुरक्षाकर्मीको व्यवहार मैत्रीपूर्ण नभएको गुनासो गरे । दुई देशबीच आवागमन सहज हुने आपेक्षा गरी बनाइएको आइसिपीमा प्रवेश गर्नु सैनिक छाउनीमा प्रवेश गर्नुसरह भएको छ । त्यहाँबाट यात्रुवाहक सवारीसाधन आवागमनका रुपमा एउटा साइकल वा एकजना पैदलयात्रु पनि पस्न पाएको रेकर्ड छैन।

भन्सार क्लियरिङ एजेन्ट र भारतबाट मालवाहक सवारी लिएर आउने चालकहरू भित्र पस्न डराउने गरेका छन् । ‘सुरक्षाकर्मीको व्यवहार र त्यहाँको व्यवस्थापनको तरिकाले कुनैपनि चालक त्यहाँबाट जान मानेका छैनन्,’ ढुवानी व्यवसायी राजेन्द्र गुप्ताले भने, ‘आइसिपी खुल्दा दुःखका दिन गए, हामीले खुसियाली मनाएका थियौं, पछि त व्यापारका लागि अभिसाप जस्तै भएको छ, आइसिपी ।’

कुटपिट र असुली
भारतीय सुरक्षाकर्मीद्वारा नेपाल आउने मालवाहक सवारीबाट अवैध असुलीको घटना बढ्दो छ । पैसा नदिनेले हप्ताभन्दा बढी लाइनमा बसेर आइसिपी प्रवेश पाउने र कुटिनु पर्ने, भारतीय रुपैयाँ पाँच सयदेखि हजार रुपैयाँसम्म बुझाएपछि लाइन मिचेर सुरक्षाकर्मीले आइसिपी प्रवेश गराइदिने चलन भएको छ । ‘जानीजानी जाम बनाइएको छ असुलीका लागि ।

बरु पहिले पुरानो नाका ठीक थिले बिजोग छ,’ भागलपुरबाट सामान लिएर आएका भारतीय ट्रक चालकले भने, ‘अब म यहाँ आउँदैन ।’ यसअघि जेठ १९ मा पेट्रोलियम इन्धन बोकेका ट्यांकरका चालकउपर भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले दुव्र्यवहार र कुटपिट गरेपछि उत्पन्न तनाव जेठ २१ मा सर्वपक्षीय बैठक राखेर मिलाइएको थियो ।

भारत बिहारको बरौनीस्थित ‘इन्डियन आयल कर्पोरेसन’ (आइओसी)को डिपोबाट डिजेल बोकी बाराको अमलेखगन्जका लागि हिँडेका ट्यांकरका चालकसँग भारतीय आइसिपी भन्सार नजिक भएको कुटपिट घटनापछि चालक तथा ढुवानी व्यवसायीले हड्ताल घोषणा गरेका थिए।

नेपालतिरबाट भन्सार, आयल निगम, इन्टरमोडेल यातायात विकास समिति, ढुवानी व्यवसायीका प्रतिनिधिले र भारततिरबाट त्यहाँको भन्सार, आइसिपी सञ्चालक, एसएसबी लगायतसँगको बैठकपछि समस्या साम्य हुने आशा गरिएको थियो । यातायात व्यवसायी तथा चालकहरुका अनुसार न दुव्र्यवहार रोकिएको छ न त अवैध असुली।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले नेपाली व्यवसायीले आइसिपी सञ्चालनपछि राहत पाउनुको साटो उल्टो समस्यामा पर्न थालेको बताए । ‘आइसिपी सञ्चालनताका व्यवसायीहरू जति उत्साही भएका थिए, त्यत्तिकै अहिले निराश भएका छन्,’ शर्माले भने, ‘व्यापार सहजीकरण गर्ने ठाउँमा त्यहाँ जटिल बनाइएको छ, अनावश्यक पैसा असुली गरिएको छ ।’

भन्सारको भूमिका
भारतीय कस्टम (भन्सार) भने आइसिपी सञ्चालनले नरुचाएको मुख्य पक्ष देखिएको छ । मुख्य नाकाबाट कारोबार हुँदा भने भारतीय कस्टमकै मिलेमतोमा तस्करी हुने गरेको पुष्टि यसअघि भइसकेको छ ।

वीरगन्ज भन्सारबाट छाला भनेर ट्रकमै मरिच निकासीको घटना गत साता प्रकाशमा आयो । उक्त गाडी भारतीय भन्सार भएर मात्र जान सक्ने भएकाले मरिच तस्करीको सञ्जालमा भारतीय भन्सारको संलग्ता खुलेको थियो ।

यसमा नेपाली भन्सार पनि शंकाको घेरामा छ । भारतीय बजारमा विदिशबाट मरिच आयात प्रतिबन्धित छ । पछिल्लो समय विदेशबाट नेपालमा मरिच आयात गरी भारत निकासी गर्ने धन्दा नाकामा फस्टाउँदै गएको छ ।यस्ता कारोबारमा आइसिपी भएर असहज हुने भएपछि विभिन्नखाले वस्तुका तस्करलाई फाइदा पुग्नेगरी भारतीय भन्सारले आइसिपीतिर कारोबार लैजान आलटाल गर्दै आएको थियो ।

नेपाली भन्सारले पनि तत्परता देखाएको थिएन । दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको डेढ महिनासम्म ‘आइसिपी’ भएर बरौनीबाट आउने इन्धनमात्र र फाटफुट अरु सामान भित्रिन पाउँदा १० प्रतिशत कारोबार मात्र त्यहाबाट हुन पाएको थियो । रक्सोलका स्थानीयको १० दिने आन्दोलनपछि आइसिपीतिर कारोबार सारियो । त्यसपछि त्यहाँ असहज वातावरण सिर्जना गर्ने प्रयास भइरहेको रक्सोलका नागरिक अगुवा महेशकुमार अग्रवालले बताए । उनले आइसिपी सार्ने आन्दोलनको नेतृत्वसमेत गरेका थिए।

‘आइसिपी’मा दूरवस्था सिर्जना गर्न भारतीय भन्सार जिम्मेवार देखिएको आयातकर्ता बताउँछन् । त्यहाँ पस्ने मुहानमै कामलाई सुस्त पारिएको छ । थोरै कर्मचारीले एउटा कम्प्युटर राखेर सम्पूर्ण काम गर्दा निकै समय लाग्ने भएपछि त्यहाँ जाम लाग्ने अवस्था बनेको हो ।

उद्योगी अशोक कुमार वैधले ‘आइसिपी’को व्यवस्थापकीय कमजोरीका कारण व्यवसायीले अनावश्यक विलम्ब शुल्क तिर्नु परिरहेको बताए । ‘यो खोजीको विषय हो, यस्तो अवस्था किन आयो,’ बैधले भने, ‘नेपाल सरकारले यसमा चाँसो लिनुप¥यो र भारतीय पक्षसँग यसबारे कुरा गर्नुपर्यो ।’ भारतको छवि बिगार्ने किसिमको काम नाकामा भारतीय पक्षबाट भइरहेको उनको भनाइ छ ।

 

प्रकाशित: ५ असार २०७५ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App