अर्थ

विश्वकपले सेटअप बक्सको माग बढायो

काठमाडौं - रसियामा सुरु भएको विश्वकप फुटबल प्रतियोगिताले स्थानीय बजारमा सेटअप बक्सको माग ह्वात्तै बढाएको छ । सरकारले झन्डै दुई महिनाअघि काठमाडौं उपत्यकाबाट सुरु गरेको डिजिटल केबल टेलिभिजन सञ्चालनको अभियानलाई विश्वकप फुटबलले सघाएको छ।

सरकारले पछिल्लोपटक गत वर्ष चैत १४ गते महानगरपालिका, उपनगरपालिका, नगरपालिकाका सबै एनालग प्रविधिका केबल बन्द गर्ने र डिजिटल केबल टेलिभिजनमात्र सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै सुरु भएको डिजिटल टेलिभिजन जडानलाई गत बिहीबार सुरु फिफा विश्वकपले सघाएको छ।

‘विश्वकपको सुरुवातसँगै सेटअप बक्सको माग तीव्र रुपमा बढेको छ,’ नेपाल केबल टेलिभिजन एसोसिएसन महासंघका अध्यक्ष सुधिर पराजुलीले भने, ‘अहिले पहिलेभन्दा तेब्बरसम्म माग बढेको छ ।’ सरकारले एनालग टेलिभिजन बन्द गारएपछि सेटअप बक्स जोड्नेको संख्या बढिरहे पनि विश्वकप सुरु भएसँग माग तीव्र भएको उनले बताए ।

सेटअप बक्सको माग तेब्बर बढेको छ भने कुनै ठाउँमा एक हप्तासम्म पर्खिनुपर्ने अवस्था छ ।

माग उच्च भए पनि पूरा गर्न सकिने अवस्थामा रहेको पराजुली बताउँछन् । पछिल्लो एक हप्तामा सेटअप वक्स जडानको माग तेब्बरसम्म बढेको मेरो टिभी केबल टेलिभिजनका बजार विभाग प्रमुख जीवन कोइरालाले बताए । ‘पछिल्लो ३–४ दिनमा सेटअप बक्सको माग धेरै ठाउँमा दोब्बर र केही ठाउँमा तेब्बरसम्म बढेको छ,’ कोइरालाले नागरिकसँग भने, ‘विश्वकपले गर्दा नै होला ।’

माग उच्च बढेछि सेटअप बक्स जडान गर्न दुईदेखि १० दिनसम्म कुर्नुपर्ने अवस्था आएको उनले बताए । ठाउँ अनुसार माग फरक छ । भ्याइनभ्याई भएकाले यसो गर्नुपरेको हो ।सेटअप बक्स जडानको माग उपत्यकाबाहिर तराई र प्रमुख सहरमा पनि बढेको छ । सरकारले अर्को चरणमा गाउँपालिकामा पनि डिजिटल केबल टेलिभिजन अनिवार्य गर्ने तयारी गरेको छ ।

सरकारले महानगर, उपमहानगर, नगरपालिकामा डजिटल केबल टेलिभिजन सञ्चालन गर्ने निर्णय र गाउँपालिकामा यो लागू गर्ने तयारी गरेसँगै फुटबल पनि सुरु भएकाले सरकारी अभियानलाई सहयोग पुगेको पराजुलीले बताए । ‘सरकारको सूचना र वल्र्डकप झन्डै एकपटक परेको छ,’ अधिकारीले भने, ‘यसले गर्दा डिजिटल केवल नेटवर्क जोड्नेको संख्या बढेको हो ।’

वल्र्डकपले गर्दा नयाँ लाइन लिनेको संख्या उत्साहजनक भएको भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक वियन बोहराले बताए । भायनेटले आइपी टिभी सेवा दिइरहेको छ । इन्टरनेट र टेलिभिजनसँगै लिनेको संख्या बढ्दै गएको उनले बताए । ‘आइपी टिभी जोड्नेको संख्या उत्साहजनक छ,’ बोहराले भने, वल्र्डकपले गर्दा यसको माग तीव्र भएको हो ।’ एउटै तारबाट इन्टरनेट र टेलिभिजनसँगै आउने भएकाले उपभोक्ताले यो सेवा मन पराएको उनको भनाइ छ ।

सेटअपको बक्स जडानसँगै नयाँ प्रविधिको टेलिभिजन सेटको माग समेत बढेको छ । एनालग टेलिभिजन चलिरहेको कुनै सेटमा डिजिटल प्रविधि नचल्ने हुँदा एलइडी टेलिभिजन सेटको माग बढिरहेको व्यवसायीको भनाइ छ ।पछिल्लो समय वल्र्डकपलाई लक्षित गरेर कम्पनीहरूले विभिन्न प्याकेजसमेत ल्याएका छन् । प्याकेज अन्र्तगत सेटअप बक्स जोड्ने ग्राहकलाई विशेष छुटको अवसर रहेको कोइरालाले बताए ।

आर्थिक वर्ष ०७३-७४ असारसम्मको तथ्यांक अनुसार डिजिटल केबल प्रसारणको इजाजत लिनेको संख्या १० छ । हाल काठमाडौं उपत्यकामा आठवटा कम्पनीले डिजिटल टेलिभिजनको सेवा दिइरहेको पराजुलीले बताए । उपत्यकाभित्र करिब २० लाख परिवारले टेलिभिजन हेर्ने अनुमान छ।

डिजिटल प्रविधिमा जाँदा गुणस्तरीय हुनुका साथै राज्यले पाउने राजस्व समेत बढ्ने विश्वास गरिएको छ । एनालग केबलमा कति ग्राहक छन् भन्ने स्पष्ट तथ्यांक नआउने तर डिजिटलमा आउने भएकाले राजस्व बढ्ने अनुमान गरिएको हो ।

अन्तर्राष्ट्रिय रुपमा विकास भइरहेको प्रविधि अनुसार मुलुकलाई लैजान पनि अहिले डिजिटल केबल प्रयोग आवश्यक छ । अन्तर्राष्ट्रिय प्रसारण मापदण्डअनुसार पनि २०१६ सम्म डिजिटल प्रविधिमै टेलिभिजन च्यानल प्रसारण भइसक्नुपर्ने थियो ।सरकारले डिजिटल प्रविधिमा जाने भनेर २०६९ साल मै नियमावली तयार गरेको थियो । २०७० साल मै डिजिटलमा जाने सूचना जारी गरे पनि दुई महिनाअघिमात्र अनिवार्य डिजिटल केबल टेलिभिजन सुरु भएको छ ।

 

प्रकाशित: ५ असार २०७५ ०१:१० मंगलबार

विश्वकपले सेटअप बक्सको माग बढायो