अर्थ

पानी अभावमा किसान चिन्तित

पर्साको बिन्धवासिनीमा धान रोप्नका लागि खेत खन्दै किसान । तस्बिर : रितेश/नागरिक

वीरगन्ज - मौसमले साथ नदिँदा यो वर्ष धान खेती पछाडि पर्ने चिन्तामा पर्साका किसान डुबेका छन्। ‘रोहिणी’ नक्षत्रमा परेको पानीले खनजोत गरिएको खेतको माटो धानको बीउ हाल्न तयार हुन्छ । ‘रोहिणी’ आयो र सात दिनअघि सकियो पनि, पहाडतिर पानी परेको खबर आयो, यता भने चाहिने जति परेन । यसरी बीउ हाल्ने बेला नै मौसमले यो वर्ष अलिक फरक व्यवहार देखाएपछि झस्किएका किसान ‘मृगसिरा’ नक्षत्रले पनि साथ नदिँदा चिन्तित भएका हुन्।

‘आदरा आउँदैछ असार ८ देखि त्यतिबेला पानी पर्नुपर्ने हो,’ पर्साको पर्सौनी सिराका किसान दामोदर तिवारीले भने, ‘आदराले पनि साथ दिएन भने धानको खेतमा नजाँदा हुन्छ ।’ आदराले धोका नदिनेमा धेरैजसो किसान विश्वस्त छन् । तराई मधेसको रैथाने लोकमान्यता अनुसार नक्षत्रको गणना बुझेर किसानले बीउ हाल्नेदेखि रोपाईसम्मको योजना बनाउँछन्। यो वर्ष किसानको धानखेतीको योजनामा सुरुमा मौसमले पनि आश चाही मारिसकेका छैनन्।

यहाँ खेतीका लागि आकाश देउता कै भर हुन्छ। पर्सा जिल्लाको मुख्य कृषिबाली धान नै रहेको कृषि विकास कार्यालय पर्साका प्रमुख बिरेन्द्रप्रसाद सिन्हा बताउँछन् । कार्यालयको रेकर्ड अनुसार पर्सामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ । यसमध्ये एक तिहाई भू–भाग मात्र गण्डक पूर्वी नहरसँग जोडिएका छन् । नहरका अधिकांश रतसरी (कुलो) कि त व्यक्तिहरुले मिचेर संरचना नै मेटाइदिएका छन् कि सार्वजनिक रुपमै नहर भरेर सडकका रुपमा प्रयोगमा ल्याइसकिएको छ । यसले गर्दा नहर सञ्जालबाट जोडिएका खेतहरुमध्ये ठूलो हिस्सा त्यसको सिँचाइ प्रणालीबाट अलग्गिएका छन्।

‘उसो त उक्त नहरमा किसानको खेतका लागि समयमा पानी भने आइहाल्ने होइन्,’ सिबर्वाका किसान बुनिनारायण कुर्मीले भने, ‘ढिलो भए पनि सिजनमा एकपटक पनि खेतमा हाल्न पाउँदा राहत हुन्छ । दमकलको खर्च जोगिन्छ, त्यति हो।’ असार १५ भित्र पानी नेपालतिरको नहरमा पठाइदिन आफूहरुले भारतीय पक्षलाई पत्राचार गरेको नारायणी सिँचाइका इन्जिनियर सुबोध श्रीवास्तवले बताए । हरेक वर्ष भारतीय पक्षले एकदेखि डेढ महिनासम्म ढिलोगरी मात्र नेपालतिरको नहरमा पानी छोडेको रेकर्ड छ।

यतिखेर धेरैजसो किसानले बीउ हाल्ने काम गरिसकेको छिटफुट मात्र बीउ हाल्न बाँकी रहेको बिन्धवासिनी गाउँपालिका गर्दौलका किसान मनोज पटेलले बताए।

माटो र हावापानी सुहाउँदो हिसाबले कृषि विकास कार्यालयले धानको जात सिफारिस गर्ने गरेको छ । जिल्ला कृषि कार्यालय, पर्साका प्राविधिक श्यामकिशोर पटेलका अनुसार रामधान, सावा मन्सुली, स्वर्ण–सब १, हर्दिनाथ, सावित्री, मकवानपुर, रातो बासमती, सुक्खा १, २, ३, ४, ५ र सुक्खा ६ जातका धानको बीउ सिफारिस भएको छ । धेरैजसो किसान भने बीउबिजन बेच्ने पसलेको रायमा र पैकेट रंगीचंगी पोस्टर हेरेर धानको बीउ छानेका छन्। जुनसुकै बीउ हाल्ने किसानको एउटै चाँसो छ, आकाशले साथ देओस्।

प्रकाशित: ३ असार २०७५ ०५:१६ आइतबार

पानी अभावमा किसान चिन्तित