अर्थ

मासिक व्यापार घाटा एक खर्ब

काठमाडौं - चालु आर्थिक वर्षको १० महिनाको व्यापार घाटा पोहोर वर्षभरीको भन्दा धेरै भएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा नौ खर्ब १९ अर्ब रुपैया पुगेको छ, जुन गत वर्षभरको भन्दा झन्डै दुई अर्बले बढी हो।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरकेको चालु आव ०७४-७५ को १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार मुलुकको व्यापार घाटा गत वर्षको सोही अवधिको भन्दा २२.९ प्रतिशतले बढेर नौ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष ०७३-७४ को कुल व्यापार घाटा नौ खर्ब १७ अर्ब ६ करोड थियो।

तथ्यांक अनुसार एक महिनामा व्यापार घाटा एक खर्बभन्दा बढी छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो नौ महिनाको व्यापार घाटा आठ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ थियो । यस हिसाबले हेर्दा चालु आवभरीमा कुल व्यापार घाटा १२ खर्ब हाराहारी रहने देखिन्छ ।

मुलुकको व्यापार घाटा तीव्र रुपमा बढेको अवस्थामा निर्यातको अनुपात गत वर्षको भन्दा कम भएको छ । १० महिनामा कुल वस्तु निर्यात ९.२ प्रतिशतले बढेर ६६ अर्ब ६५ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निर्यात ९.८ प्रतिशतले बढेको थियो ।
त्यसैगरी, यस अवधिमा कुल वस्तु आयात २१.९ प्रतिशतले बढेर नौ खर्ब ८५ अर्ब ८३ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात ३४.९ प्रतिशतले बढेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशत थियो ।

निर्याततर्फ हेर्दा सबैभन्दा धेरै दुई छिमेकी देशमा भएको छ । भारततर्फको निर्यात ७.१ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ८७.४ प्रतिशतले बढेको छ । यस अवधिमा अलैँची, जुटको बोरा, पोलिस्टर यार्न, धागो, अदुवा, लगायत वस्तुको निर्यात बढेको छ । जिआई पाइप, जुस, जुटको रस्सी, उनी गलैँचा, पस्मिना लगायत वस्तुको निर्यात पनि घटेको छ ।आयाततर्फ पनि भारत र चीनबाटै धेरै वृद्धि भएको छ । तथ्यांक अनुसार १० महिनाको अवधिमा भारत र चीनबाट भएको आयात झन्डै समान रुपले बढेको छ । भारतबाट २३.४ प्रतिशतले वृद्धि हुँदा चीनबाट २२.३ प्रतिशतले भएको छ । त्यस्तै, अन्य मुलुकबाट भएको आयात १७.२ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, एमएस बिलेट, लगायत वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाइएजहाजका पार्टपूर्जा, सेनिटरीवेयर्स, सानो अलैंची, जिंक इनगोट लगायत वस्तुको आयात घटेको छ ।१० महिनाको अवधिमा मुलुकमा कुल ६ खर्ब ६ अर्ब ६८ करोड रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको सोही अवधिको भन्दा सात प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा यस्तो वृद्धि ५.२ प्रतिशत थियो ।

वैदेशिक रोजगारीमा विश्वका विभिन्न मुलुकमा जाने युवाको संख्या यस अवधिमा घटेको छ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) यस अवधिमा ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो।

चालु आवको १० महिनामा चालु खाताको घाटा पनि उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको १० महिनामा चालु खाता सात अर्ब ५७ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा उक्त घाटा उल्लेख्य विस्तार भई एक सय ९१ अर्ब २ करोड पुगेको छ । यस अवधिमा आयात उल्लेख रहेकाले चालु आतामा उच्च घाटा भएको राष्ट्र बैंकले जनाएको छ । फलस्वरुप, अघिल्लो वर्षको १० महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर यस अवधिमा १८ अर्ब ९३ करोडले घाटामा रहेको छ ।

चालु आवको १० महिनामा मुलुकमा वैदेशिक लगानीमा पनि वृद्धि भएको छ । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ६१ करोड थियो ।मुद्रास्फीतिमा चाप पर्ने संकेतका बाबजुद केही उपभोग्य वस्तु्को मूल्यमा भएको गिरावटका कारण वैशाखसम्म उपभोक्ता मुद्रास्फीति गत महिनाको ५.३ प्रशितबाट घटेर ४.१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष ०७४÷७५ मा औसत मुद्रास्फीति प्रक्षेपित सीमाभन्दा न्यून रहन सक्ने राष्ट्र बैंकको आँकलन छ ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०२:१५ सोमबार

मासिक व्यापार घाटा