अर्थ

आइएमईको व्यावसायिक यात्रा किताब र भिडियोमा

काठमाडौं – आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसिडिएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायिक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, युएनसिडिएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रित सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले पुस्तक र भिडियो संयुक्त रुपमा अनावरण गरेका थिए।

आइएमईले सन् २००१ बाट औपचारिक रुपमा विप्रेषण भिœयाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको कम्पनीको भनाइ छ। ४८ पृष्ठको पुस्तक र ६ मिनेट लामो भिडियोमा आइएमईको १६ वर्षसम्मको व्यावसायिक यात्रा समावेश गरिएको छ।

अनावरण कार्यक्रममा गभर्नर नेपालले आइएमईले तय गरेको सफल व्यावसायिक यात्राको प्रशंसा गर्दै डिजिटल वित्तीय सेवामा पनि सफलताको कामना गरे।

बिमा समितिका अध्यक्ष चापागाईंले कृषि बिमाका लागि मौसमसँग सम्बन्धित रही कसरी बिमा सेवा प्रदान गर्न सकिन्छ भन्नेमा अध्ययन भइरहेको बताए।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको केन्द्रीय बैंकले करिब दुई दशकअघि नीजि क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने सहासिक निर्णय गरेकाले ८० प्रतिशत रकम औपचारिक सञ्जालबाट ल्याउन सम्भव भएको बताए।

युएनसिडिएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रित सिंहले युएनसिडिएफ तीन दशकदेखि नेपालमा वित्तीय सेवा उपलब्ध गराउन क्रियाशील रहेको जानकारी दिए।

प्रकाशित: २७ जेष्ठ २०७५ ०४:०९ आइतबार

आइएमईको व्यावसायिक यात्रा किताब भिडियोमा