अर्थ

प्रदेश ५ ले उत्तरगंगा माग्याे

काठमाडौं– ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा बिहीबार भएको भेटवार्तामा ५ नम्बर प्रदेशभित्रका सिँचाइ तथा ऊर्जा क्षेत्रका आयोजनाबारे छलफल भएको थियो।

ऊर्जामन्त्रीसँगको भेटमा मुख्यमन्त्री पोखरेलसहित प्रदेश सरकारका सबै मन्त्रीको सहभागी थिए । भेटमा ऊर्जामन्त्री पुनले ५ नम्बर प्रदेशलाई देशकै नमूना प्रदेश बनाउने गरी काम गर्न आग्रह गरेको उनका स्वकीय सचिव सुमन आचार्यले जानकारी दिए ।

‘केन्द्र सरकारको तर्फबाट र मैले सक्ने सहयोग व्यक्तिगत रुपमा पनि गर्छु, तर तपाईंहरु यो प्रदेशलाई नमुना बनाउने गरी काम गर्नुहोस्,’ मन्त्री पुनको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव आचार्यले भने।

भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सञ्चालन गर्न आवश्यक जनशक्ति नभएको भन्दै केन्द्र सरकारले आवश्यक कर्मचारी खटाइदिन आग्रह गरेका थिए । मन्त्री पुनले त्यसका लागि तत्काल आफूले पहल गर्ने बताएका थिए ।भेटमा मुख्यमन्त्री पोखरेलले बागलुङमा रहेको उत्तरगंगा परियोजना प्रदेश सरकारले बनाउन चाहेको भन्दै त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:४७ शुक्रबार

प्रदेश ले उत्तरगंगा माग्याे