अर्थ

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

काठमाडौं– कम्युनिष्ट सरकार पूँजी बजारप्रति नकारात्मक हुँदा सेयर बजारमा असर परेको नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले आरोप लगाएका छन्। बिहीबार रेडियो नागरिकसँगको संवादमा अध्यक्ष अर्यालले सरकार पूँजी बजारलाई उत्साहित बनाउन भन्दा पनि नयाँ नयाँ प्रोपोगाण्डा गरेर निरुत्साहित गराउन उद्यत रहेकाले सेयर बजार निरन्तर ओरालो लागिरहेको दाबी गरे।

‘अहिलेका अर्थमन्त्री पूँजी बजार बुझेको भएपनि उहाँले पूँजी बजारलाई सकारात्मक भएर हेर्नुभएन, लगानी गर्नेले लगानी डुबाउन खोज्दैन्’, अर्यालले भने– ‘कम्युनिष्ट सरकार सधैं पूँजीप्रति अनुदार रहने भएकाले यो सरकारले के गर्छ कसो गर्छ भनेर लगानीकर्ता अतालिएका छन्।’

कम्युनिष्ट सरकार बनेको साढे तीन महिनामा सेयर बजार निरन्तर घटिरहेको दृष्टान्त दिँदै अहिलेकैे रबैया जारी रहे सेयरमा लगानी गर्नेहरु ह्वात्तै घट्ने चेतावनी दिए।

अध्यक्ष अर्यालले कम्युनिष्ट सरकार बनेको साढे तीन महिनामा सेयर बजार निरन्तर घटिरहेको दृष्टान्त दिँदै अहिलेकैे रबैया जारी रहे सेयरमा लगानी गर्नेहरु ह्वात्तै घट्ने चेतावनी दिए।

केही दिनअघि सरकारले बजेटमार्फत पूँजीकर लाभकर लिने व्यवस्था गरेपछि त्यसको विरोधमा व्यवसायी आन्दोलित हुँदा मंगलबार नेप्सेको कारोबार ठप्प भएको थियो। जसकारण सरकार आफ्नो घोषित कार्यक्रमबाट लगानीकर्ता समक्ष घुँडा टेक्न बाध्य भएको थियो। तर, अर्याल भने सरकारको भूमिकाप्रति अझै ढुक्क हुने अवस्था नरहेको बताउँछन्। 

उनले सरकारले साउनदेखि सेयर बजारमा कर सम्बन्धि नयाँ व्यवस्था ल्याउन सक्ने भन्दै आशंका व्यक्त गरे। 

सरकारले पूँजी बजार सम्बन्धि नीति नियम बनाउन सक्छ। तर, लगानीकर्ता नै भाग्नेगरी ल्याइएको बजेटले निरुत्साहित बनाएको उनको भनाई छ। ‘हामीले सरकारले ल्याउने बजेटमा बजारलाई सम्बोधन गर्ने अपेक्षा गरेका थियौं। तर, बजेटले उल्टै क्यापिटल गेनट्याक्स (पूँजी बजार कर) ५ प्रतिशतबाट ५० प्रतिशतले बढाएपछि लगानीकर्ता लगानी गर्न डराएका हुन्’, उनले भने।

सरकारले पूँजी बजारमा गरिने लगानीलाई अनुत्पादक भनेकोमा आपत्ति जनाउँदै उनले भने– ‘अहिले सेयर बजारमा झण्डै १५ खर्बको लगानी भएको छ, यसबाट कति मानिसहरुले रोजगारी पाएका छन् हेर्दै नहेरी बजार विश्लेषण नगरी आरोपमात्रै लगाएका कारण थप समस्या देखिएको छ।’ 

आफूलाई कम्युनिष्ट मात्रै सोचर लगानीकर्तालाई नयाँ नयाँ सम्भावना नदेखाउने हो भने बजार धरासयी हुने उनले बताए। अध्यक्ष अर्यालले अर्थमन्त्री डा. युवराज खतिवडालाई विद्वान अर्थमन्त्री भन्दै व्यंग्य गरे।

प्रकाशित: २४ जेष्ठ २०७५ १४:१६ बिहीबार

कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्