अर्थ

इराक घटनामा मारिएका परिवारको पीडा पुस्तकमा

‘अ गर्ल फर्म काठमाडौं’ पुस्तककी मुख्य पात्र कमला थापामगर । तस्बिर : नागरिक

काठमाडौं - वैदेशिक रोजगारी र त्यससँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहँदै पुस्तक प्रकाशन गर्ने क्रम बढ्दो छ ।यसैक्रममा विदेशी लेखकलाई समेत नेपालीले रोजगारीको क्रममा विदेशमा भोगेका घटना रुचि लाग्न थालेका छन् । यस्तै उदाहरण हो– अ गर्ल फ्रम काठमाडौंं ।

अमेरिकन पत्रकार क्याम सिम्पसनले रोजगारीको क्रममा इराक पुगेका १२ युवाको हत्या र उनीहरूको परिवारले भोगेको पीडा समेटेर पुस्तक तयार पारेका हुन् । अघिल्लो साता अमरिकामा सार्वजनिक उक्त पुस्तकको सोमबार काठमाडौंमा चर्चा गरियो । नेपालको पुस्तकको सार्वजनिकीकरण भने केही सातापछि हुने बताइएको छ ।काठमाडौंमा जारी अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको क्रममा अ गर्ल फ्रम काठमाडौंका लेखक उपस्थित हुन नसके पनि पुस्तक लेखनमा सघाउने डा. गणेश गुरुङ र इराकमा मारिएका युवाका परिवारलाई क्षतिपूर्ति प्राप्तीका लागि सघाउने अधिवक्ता म्याथ्यौ हेन्डलिङ सहभागी भए ।

पुस्तकमा रोजगारीको क्रममा इराक पुगेका १२ नेपाली र उनीहरूको परिवारको पीडा मूल विषयवस्तु बनाइएको छ । रोजगारीको क्रममा इराक पुगेको बेला २०६१ भदौ ११ गते आतंककारी समूहले १२ नेपालीको हत्या गरेको थियो । अमेरिकन सुरक्षा सम्बन्धी काम गर्ने कम्पनीका लागि अनुबन्धित ती युवा मारिएपछि त्यो कम्पनी क्षतिपूर्ति नदिएर पन्छिन खोजेको थियो । पछि अधिवक्ता म्याथ्यौ हेन्डलिङले मृतकका परिवारको तर्फबाट मुद्दा लडेका थिए । र, अमेरिकी अदालतले १० मृतकका परिवारलाई क्षतिपूर्ति दिने फैसला गरेको थियो । दुई मृतकका नजिकका आफन्त (पत्नी, छोरा, छोरी तथा बुवा र आमा) नहुँदा क्षतिपूर्ति पाउन वञ्चित भएका थिए।

इराकमा मारिएका गोरखा सहिद लखन नगरपालिकाका जीतबहादुर थापामगरकी पत्नी कमलाले अमेरिकी कम्पनीबाट प्राप्त गरेको क्षतिपूर्तिका कारण अहिलेसम्म आफूलाई गुजारा चलाउन सहज भएको बताइन् । ‘क्षतिपूर्ति पाएकै कारण म र मेरी छोरी बाँच्न सकेका छौं,’ उनले भनिन् ।

विभिन्न स्रोतले इराक घटनामा मारिएका मृतकका आफन्तले एकदेखि पाँच करोड रुपैयाँसम्म क्षतिपूर्ति पाएको बताए पनि उनीहरूले औपचारिक रूपमा भने अमेरिकन कम्पनीबाट प्राप्त भएको रकम खुलाएका छैनन् । पुस्तक लेखनमा सघाएका डा. गणेश गुरुङले उक्त पुस्तकमा पीडा मात्र नभई न्यायप्राप्तीका लागि साहसिक संघर्षका कथासमेत रहेको सुनाए।

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:०९ मंगलबार

इराक घटनामा मारिएका परिवारको पीडा पुस्तकमा