अर्थ

धानको बीउमा किसानलाई अलमल

वीरगन्जको घण्टाघरस्थित पसलमा धानको बीउ छान्दै किसान। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – गहुँ र ‘रबिहन’ (दाल र तेल हुने बाली)को कटाई सकेर खेत खाली भइसकेका छन् । वैशाख र जेठको घामले सुकेर साह्रो भएको जोतेको माटो यही साता परेको पानीले नरम भएको छ। उही बेला अब धानको बीउ कुन हाल्ने होला भनेर किसान अलमलमा परेका छन्। किसानले अहिले खेतमा लगाउन रोजिरहेका धानको बीउमध्ये ७५ प्रतिशत जति नेपाल सरकारको कृषि मन्त्रालयले सिफारिस नगरेका जातको बीउ हुने गरेको देखिन्छ।

‘कुन धानको बीउ किनौं, खोजबिन गर्दैछुँ, धान छान्न समस्या भएकाले साथीलाई बोलाएको छुँ,’ वीरगन्ज घण्टाघर चोकमा रहेका बीउबिजनका पसल चहार्दै भेंटिएका वीरगन्ज–२२, जगरनाथपुर, पर्साका किसान रामबालक मण्डलले भने, ‘कबिरी गँगा वा सोनामन्सुलीमध्ये छान्न मन छ, अर्को धान रोपेको छैन, सोना मन्सुलीमा भने सितप्लाइट रोगले समस्या पार्छ, खै के गरौं।’ बीउबिजनका पसलमा किसानको ताँती छ । कुन जातको धानको बीउ किन्ने भन्ने निधो गरेर आएका एक जना पनि भेंटिएनन्।

काविधिकको अभावमा प्याकेट र पोस्टर हेरेर धानको बीउ छान्न बाध्य पूर्वी तराईका किसान

बजारमा बिना सिफारिसका धानका बीउको बिगबिगी छ । विभिन्न नाम र ब्रान्डमा आकर्षक प्याकिङमा धानका बीउ एक किलोदेखि २५ किलोसम्मको प्याकेटमा सजाइएका छन्। ‘पसलका साहुसँग नै सोध्छौं, पसलेको सल्लाहअनुसार धेरैले बीउ किन्ने गरेका छन्,’ जगरनाथपुरकै किसान मदन ठाकुरले भने, ‘नभए हामीलाई के थाहा? कृषि कार्यालयका कर्मचारीको नाकमुख देखेका छैनौं, कुन बीउ सिफारिस गरिएको छ वा छैन् खोज्ने चलन छैन।’ प्याकेट र पोस्टर हेरेर आफूहरुले धानको बीउ छान्ने गरेको ती किसानले बताए।

बीउ बेंच्ने पसल अगाडि थरीथरीका बीउको बखान गर्दै पोस्टर लगाइएका छन्। रंगीबिरंगी प्याकेटमा थरीथरीका बीउ सजाइएका छन्। सिफारिस नगरिएका जातको बीउ बिक्री वितरण, प्रचार–प्रसार र आयातमा कुनै अनुगमन, नियन्त्रण वा नियमन देखिँदैन । अझ सीमापारी भारतीय बजारमा बीउ सस्तो पाइन्छ भन्दै धेरैजसो किसानले उतैबाट बीउ ल्याउने गरेको ठाकुरले बताए। वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवका अनुसार धानको बीउ नगण्य मात्रामा आयात छ। ‘बीउको धान आयात भएको त्यति देखिँदैन,’ यादवले भने, ‘सामान्य धान र बीउको धानको ‘एचएस’ (भन्सार संकेत) कोड एउटै छ, थाहै हुन्न कति बीउ भित्रियो।’

कृषिप्रधान देश भनिएको नेपालको मुख्य बाली धानको बीउ आयात, वितरण र नियमन सम्बन्धी संयन्त्र र नीति कार्यन्यवनमा नरहेकाले यस्ता समस्या देखिन्छन्। धानको बीउको भन्सार संकेत पनि कायम हुन सकेको छैन । वीरगन्ज बीउ लिन आइपुगेका बारा परसौनी–६ का बद्री नारायण साहले नयाँ संविधानमा कृषि सम्बन्धी जानकारी र सेवा दिनका लागि गाउँपालिकामा कार्यालय र वडामैं कर्मचारी हुन्छन् भन्ने सुनेको तर त्यस्तो व्यवस्था नभएको बताए । ‘पहिले पनि किसानका समस्या सुन्ने कोही थिएन, अहिले पनि छैनन्,’ ६६ वर्षीय साहले भने, ‘किसानले नै बीउ जोहो गरेर राख्ने चलन उहिले नै बन्द भइसकेको छ, धानको बीउ खोज्दै घुम्दैछौं, कुन जातको हाल्ने बताइदिने कोही भेंटिदैन।’

हरेक वर्ष हाइब्रिड धान खोज्ने किसानलाई पनि बानी परेको उनले बताए। ‘सिफारिस भएका जातका धानको बीउ प्रतिकिलो तीन सय ५० देखि चार सय ७० रुपैयाँसम्म पाइन्छ, किसानले यसलाई महंगो ठान्छन्, उपज बढी दिन्छ भन्ने विचार गर्दैनन्,’ कृषक बिजभण्डारका सञ्चालक बिनय कुरमाले भने, ‘करिब ७५ प्रतिशत बिना सिफारिसका धानका बीउ किसानले लैजान्छन्, माग अनुसार हामीले पनि ल्याएर बेंच्नु पर्ने हुन्छ ।’ नेपालमा पाइने ५० भन्दा बढी पुराना जातका धानमध्ये झन्डै ४५ जात लोप भएको बताइन्छ । कस्तुरी, कनकजिरा, दूधराज, पोखराज, बहादुर, अनन्दी, मन्सुली लगायत धान पुरना किसानको सम्झनामा मात्रै छन् । नयाँ जातका धान नेपाल सरकारको कृषि मन्त्रालयमार्फत सिफारिस भए अनुसार किसानले बीउ रोज्दा बालीको जोखिम, रोग संक्रमणको खतरा लगायतबाट छुटकारा हुने कृषि विज्ञहरु बताउँछन्।

नेपालको धान हुने क्षत्रेको माटो र हावा पानी सुहाउदो हिसाबले जिल्ला कृषि कार्यालयले धानको जात सिफारिस गर्ने गरेको छ। जिल्ला कृषि कार्यालय, पर्साका प्राविधिक श्यामकिशोर पटेलका अनुसार रामधान, सावा मन्सुली, स्वर्ण–सब १, हर्दिनाथ, सावित्री, मकवानपुर, रातो बासमती, सुक्खा १, २, ३, ४, ५ र सुक्खा ६ जातका धानको बीउ सिफारिस छ। उनका अनुसार पर्सामा करिब ४६ हजार हेक्टरमा धान खेती हुने गरेको छ। यसमध्ये आधाभन्दा बढी क्षेत्रमा किसानले सिफारिस नभएका जातका सोना मन्सुली लगाउने गरेका छन् । उक्त धानको बीउमा सुसुप्त अवस्थामा रहने ढुसीले रोपेपछि सक्रिय भई पछि झारमा फैलिने गरेको र तितप्लाइट रोगको संक्रमण देखिने गरेको छ । यसले माटो पनि संक्रमित गर्छ। त्यस्तै नेपालमा परीक्षण नगरिएका जातका धान पनि खेतमा रोपिन आइपुग्छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०५:२२ आइतबार

धानको बीउमा किसानलाई अलमल