अर्थ

२१ करोडको लागतमा गुम्बा निर्माण सुरु

खोटाङ – खोटाङको नुनथलामा बौद्ध धर्मावलम्बीको बिशाल गुम्बा निर्माण सुरु गरिएको छ। रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा नगरपालिकाको क्रमागत बजेट र विभिन्न दाताको चन्दा दानबाट ‘ला ज्यालो वाङ थोप’ नामक बिशाल गुम्बा निर्माण सुरु गरिएको हो।

२०७४ साल माघ १९ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको गुम्बा बुधबारदेखि निर्माण सुरु गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ। स्थानीय पर्यटन प्रवद्र्धनका लागि बौद्ध धर्मावलम्बीको बिशाल गुम्बा निर्माण गर्न जग खन्न सुरु गरिएको उपभोक्ता समितिका सचिव मणि लामाले बताए। २१ करोडको लागतमा पूरा हुने गुम्बा वडाध्यक्ष भीम राईको हातबाट निर्माण सुरु गरिएको हो। गुम्बा व्यवस्थापन समितिका अध्यक्ष रहेका मेनुका तामाङ राईले निशुल्क उपलव्ध गराएको १ रोपनी ७ आना जग्गामा निर्माण हुने गुम्बामा बौद्धधर्मसँग सम्बन्धित १०८ र सिठो लजोको एक सय मुर्ती राखिने निर्माण समितिले जनाएको छ।

नगरपालिकाबाट पहिलो किस्तावापत ६ लाख ६४ हजार रकम निकासा भएपछि गुम्बाको जग निर्माणको काम थालिएको गुम्बा निर्माण उपभोक्ता समितिका सचिव लामाले बताए। बौद्ध धर्ममा माटोको मुर्ती पबित्र हुने धार्मिक मान्यता अनुसार गुम्बामा माटोको सय वटा तथा पितल र ढलौटको मुर्ती राखिने जनाइएको छ। बौद्ध धर्म अनुसारका हरेक संस्कार गर्नका लागि नुनथला बाहेक आसपासका गाउँपालिकामा बसोबास गर्ने बौद्धमार्गीलाई लक्षीत गर्दै गुम्बा निर्माण सुरु गरिएको हो। नगरपालिकाको क्रमागत बजेटले मात्रै ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण सम्भव नभएकाले देश/विदेशमा रहेका दाताबाट प्राप्त हुने सहयोगमा गुम्बा निर्माणका कामलाई पूर्णता दिइने उपभोक्ता समितिले जनाएको छ।

हाल विभिन्न दाताबाट आर्थिक सहयोग जुटाउने काम पनि भइरहेको छ। पर्यटकीयस्थलका रुपमा रहेको संसारीडाँडामा निर्माण हुने गुम्बाबाट सगरमाथाको दृश्यावलोकन समेत गर्न सकिने भएकाले गुम्बाका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। पर्यटकीयस्थल नुनथलाडाँडामा निर्माण हुने गुम्बाबाट नाङ्गो आखाँले सोलुखुम्बु, ओखलढुंगाका अग्ला पर्वत तथा सगरमाथा हिमश्रृंखला समेत दृश्यावलोकन गर्न सकिन्छ। गुम्बा निर्माण समितिले गुम्बा निर्माणका लागि स्वदेश तथा विदेशबाट स्वेच्छिक सहयोगका लागि आग्रह गरेको छ। 

 

प्रकाशित: १७ जेष्ठ २०७५ ०५:५४ बिहीबार

२१ करोडको लागतमा गुम्बा निर्माण सुरु