अर्थ

सर्लाहीका स्थानीय तहलाई साँढे चार अर्ब

सर्लाही– संघीय सरकारले सर्लाहीका स्थानीय तहलाई चार अर्ब ६९ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थ मन्त्री युवराज ज्ञवालीले मंगलबार संघीय सदनमा प्रस्तुत गरेको बजेट घोषणाअनुसार सर्लाहीका २० स्थानीय तहलाई उक्त रकम विनियोजन गरिएको हो । जिल्लास्थित २० स्थानीयतहलाई वित्तीय समानीकरण र सशर्त अनुदान शीर्षकमा उक्त बजेट छुट्याइएको बजेटमा उल्लेख छ।

जिल्ला स्थित ११ वटा नगरपालिकाले वितिय समानिकरणतर्फ एक अर्ब ५१ करोड ६२ लाख तथा सशर्त अनुदानतर्फ एक अर्ब ६८ करोड ३७ लाख गरी तीन अर्ब १९ करोड ९९ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै ९ गाउँपालिकाका लागि वित्तीय समानीकरणतर्फ ८२ करोड ५७ लाख तथा सशर्त अनुदानतर्फ ६७ करोड चार लाख गरी एक अर्ब ४९ करोड ६१ लाख छुट्याइएको छ।

११ नगरपालिकामध्ये लालबन्दीले सबैभन्दा बढी ४० करोड ४१ लाख तथा सबैभन्दा कम हरिपूर्वा नगरपालिकाले १९ लाख ५० हजार रुपैयाँ पाउने भएको छ । त्यस्तै नौ गाउँपालिकामध्ये ब्रम्हपुरीले सबैभन्दा बढी २० करोड ६२ लाख तथा सबैभन्दा कम बसबरियाले १२ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

जिल्लामा यो बाहेक केन्द्रीय योजनाअन्तर्गतका सडक लगायत विभिन्न निर्माण कार्य, संसदीय विकास कोष, निर्वाचन क्षेत्र विकास कार्यक्रमसहित प्रदेश र संघीय सरकारले सञ्चालन गर्ने योजनाको छुट्टै बजेट आउने जानकारहरुले बताएका छन् ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०४:०३ बिहीबार

सर्लाहीका स्थानीय तहलाई साँढे अर्ब