अर्थ

माग ९२ हजार क्वीन्टल, आपूर्ति ४२ हजार

खाद्य संस्थानको सुर्खेतस्थित गोदाममा मौज्दात चामल। तस्बिरः डिबी बुुढा/नागरिक

सुर्खेत – चालू आर्थिक वर्षका लागि मुगुको पुलो डिपोमा पाँच हजार क्वीन्टल चामलको माग थियो। खाद्य संस्थान शाखा कार्यालय मुगुबाट १ हजार २ सय र सुर्खेत शाखाबाट ४ सय ७० क्वीन्टल मात्रै ढुवानी भयो। अहिले पुलो डिपोमा चामल छैन। गोदाम खाली छ। चामल किन्न आएका उपभोक्ता रित्तो हात फर्कन्छन्। र, महँगोमा चामल किन्न बाध्य छन्।

मुगुकै श्रीकोट डिपोको अवस्था पनि उस्तै छ। श्रीकोट डिपोका लागि पाँच हजार क्वीन्टल चामल आवश्यक थियो। तर त्यहाँ १ हजार २ सय क्वीन्टल चामल मात्रै पुग्यो। श्रीकोट डिपो पनि रित्तो भएको महिनौं भइसक्यो।

जिल्ला खाद्य संस्थान शाखा कार्यालय मुगुका प्रमुख भरत खनियाँका अनुसार यहाँका अधिकतर डिपो खाली छन्। जिल्लामा मागअनुसार खाद्य संस्थानले आपूर्ति नगर्दा उपभोक्ता बजारमा महँगोमा चामल किन्न बाध्य छन्। अघिल्लो वर्ष १४ हजार क्वीन्टल खाद्यान्न बिक्री भएको सोरुकोट डिपोमा सय क्वीन्टल मात्रै चामल छ। ‘स्थानीयको मागलाई थेग्न सकिने अवस्था छैन,’ खनियाँले भने, ‘मागअनुसार चामल नआउँदा समस्या भइरहेको छ।’ सोरुकोट डिपोका लागि चालू आर्थिक वर्षमा १५ हजार क्वीन्टल चामल माग गरिएको थियो।

नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयका प्रमुख भीमबहादुर थापाका अनुसार मागअनुसार चामल आपूर्ति नहुँदा कर्णालीका जिल्लाले बर्सेनि खाद्यान्न संकट व्यहोर्नु परिरहेको छ।

‘जिल्ला खाद्य व्यवस्था समितिको बैठकले जिल्लाको आवश्यकता हेरेर चामलको कोटा निर्धारण गर्ने गर्छ। खाद्य संस्थानको केन्द्रीय कार्यालयले घटाएर पठाउँछ,’ उनले भने, ‘यसले गर्दा खाद्यान्न वितरणमा समस्या भइरहेको छ।’

सडक सञ्जालले नछोएका डोल्पाका काइगाउँ, सर्मी, लिकु, चिङ्जे, सहरतारा लगायतका डिपोमा चामल अभाव छ। डिपोमा चामल नहुँदा स्थानीयहरू चामल किन्न जुम्ला सदरमुकाम खलंगा पुग्ने गरेका छन्। खाद्य संस्थान डोल्पाका प्रमुख हरिप्रसाद जोशी सहरतारामा एक हजार, चिङजे डिपोमा ४ हजार ५ सय क्वीन्टल र अन्य सबै डिपोमा १ हजार ८ सय क्वीन्टलका दरले चामलको कोटा निर्धारण गरिएको थियो। कोटा निर्धारण भए पनि चामल नपुग्दा उपभोक्ताले संस्थानको सस्तो चामल उपभोग गर्न पाएका छैनन् । प्रमुख शर्माका अनुसार जुफालमा मात्रै १४ हजार क्वीन्टल चामलको कोटा निर्धारण गरिएको थियो। ढुवानीका साधन र राम्रो सडक नहुँदा समयमै चामल डिपोमा पु¥याउन सकिएको छैन।

हुम्लाका खाद्य संस्थान प्रमुख नारायण केसीका अनुसार सर्केघाट, श्रीनगर, ब्याउली र छर्पेला डिपो पनि रित्तै छन्। यहाँका सबै डिपो तथा बिक्री केन्द्रमा खच्चरबाटै चामल ढुवानी हुन्छ। सदरमुकाम सिमीकोटमा ८ सय ५० क्वीन्टल चामल स्टक छ। कोटा १६ हजार ५ सय थियो। हुम्लामा हवाइजहाज र खच्चरबाट ढुवानी गर्ने भएकाले समयमै चामल पुग्दैन। अहिले हुम्लामा चामलको चरम अभाव देखिएको हुम्लाबासी बताउँछन्।

नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयका प्रमुख भीमबहादुर थापाका अनुसार मागअनुसार चामल आपूर्ति नहुँदा कर्णालीका जिल्लाले बर्सेनि खाद्यान्न संकट व्यहोर्नु परिरहेको छ। ‘चालू आर्थिक वर्षमा कर्णालीका लागि ९२ हजार क्वीन्टल चामल माग गरेका थियौं,’ उनले भने, ‘४२ हजार क्वीन्टल चामल मात्रै जिल्लामा पुगेको छ।’

बजेट अभावका कारण संस्थानको केन्द्रीय कार्यालयले कोटा घटाउने गरेकाले दुर्गमका जिल्लामा चामल अभाव हुने गरेको उनले बताए। जुम्लाका लागि ८ हजार क्वीन्टल चामल कोटा तोकिएको छ। सुर्खेतबाट दुई हजार क्वीन्टल पठाउने भनिएकामा १ हजार ६ सय ८३ क्वीन्टल चामल मात्रै पुगेको छ। जुम्लाको खाद्य संस्थानमा ३८ क्वीन्टल चामल मौज्दात छ। जुम्लाकोट र धापा डिपोमा चामल छैन । यहाँका बासिन्दा महँगोमा चामल खरिद गरिरहेका छन्।

हुम्लामा तोकिएको १६ हजार ५ सय कोटामध्ये सुर्खेतले १२ हजार ५ सय क्वीन्टल पठाउने जिम्मेवारी पाएको थियो। हालसम्म ८ हजार २ सय ५० क्वीन्टल चामल मात्रै ढुवानी भएको छ। कालिकोटमा २ सय ५० क्वीन्टल चामलको कोटा निर्धारण भएको थियो। तर, १ हजार ९ सय १७ क्वीन्टल चामल पठाइएको छ।

मुगुमा १० हजार क्वीन्टलको कोटा रहेकामा सुर्खेतबाट २ हजार १ सय २२ क्वीन्टल चामल पठाइसकिएको प्रमुख थापाले जानकारी दिए। डोल्पामा १४ हजार क्वीन्टलमा पाँच हजार गइसकेको छ । दैलेखमा ४ सय ८० क्वीन्टल कोटा थियो। ६ सय ४१ क्वीन्टल चामल ढुवानी भइसकेको सुर्खेत शाखाले जनाएको छ।

हालसम्म सुर्खेत कार्यालयले ६५ हजार २ सय ९७ क्वीन्टल चामल पठाउने जिम्मा पाएकामा ४२ हजार क्वीन्टल सम्बन्धित डिपो तथा संस्थानमा पु-याइएको जनाएको छ। कर्णालीका दुर्गम जिल्लामा ढुवानी समस्या छ। मागअनुसार कोटा स्वीकृत गर्नुपर्नेमा केन्द्रले सीधै तोकेर पठाउने गरेकाले समस्या आएको संस्थानका कर्मचारी बताउँछन्।

प्रकाशित: १५ जेष्ठ २०७५ ०५:४७ मंगलबार

माग ९२ क्वीन्टल आपूर्ति ४२