अर्थ

हल्लाले नेप्सेमा ३६ बिन्दुको सुधार

काठमाडौं- सरकारले आज (मंगलबार) ल्याउन लागेको आगामी वर्षको बजेटमा सेयर बजार सुधारका कार्यक्रम ल्याउने हल्ला चलेपछि सेयर बजार सोमबार एकाएक उकालो लागेको छ।

यसअघि आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटमार्फत सेयर किनबेचमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने, बजेटमा सुधारका कार्यक्रम नल्याउने हल्ला सेयर बजारमा फैलिएपछि लगानीकर्ताले धमाधम सेयर बेच्न थाल्दा बजार निरन्तर ओरालो लागेको थियो । तर, बजेट आउनुभन्दा एक दिनअघि सोमबार सरकारले ल्याउन लागेको आगामी वर्षको बजेटमा सेयर बजार सुधारका कार्यक्रम समावेश गरिएको र भ्याट नलगाउने हल्ला चलेपछि सेयर सूचक ३६ बिन्दुले बढ्न पुग्यो ।

सोमबार सेयर कारोबार भइरहेको बेला एकाएक बजेटमा सेयर बजार सुधारका कार्यक्रम आउने हल्ला चलेपछि नेप्से बढेको सेयर लगानीकर्ता संघका महासचिव जगन्नाथ पुडासैनीले बताए । ‘सरकारले सार्वजनिक गरिसकेको नीति तथा कार्यक्रम राम्रा भएको र बजेटमा पनि सेयर बजार सुधारका कार्यक्रम आउने अपेक्षा गरिएका कारण बजार बढ्न पुगेको हो,’ उनले भने, ‘बजेटमा नकारात्मक कुरा आउने सम्भावना नै छैन, त्यसैले सुधार देखिएको हो।’

ब्रोकरहरु पनि सेयर बजारलाई सकारात्मक हुने गरी अर्थमन्त्री युवराज खतिवडाले बजेट ल्याउँदैछन् भन्ने हल्ला चलेपछि सेयर बजारमा उछाल आएको बताउँछन् । ‘पुँजी बजारमैत्री बजेट आउने हल्ला चलेपछि बजार एकाएक उकालो लाग्न पुग्यो,’ एकजना ब्रोकरले भने, ‘लगानीकर्ताले बजेटमार्फत सुधारका कार्यक्रम आउने अपेक्षा गरेका कारण सेयर बजारमा सुधार आएको होे ।’

निरन्तर ओरालो लाग्दै आएको नेप्से सूचक सोमबार ३५.९८ अंकले बढेर १३३६.३९ मा पुगेको छ । सोमबार पनि कारोबार सुरु भएको एक घन्टासम्म नेप्से ओरालो लागिरहेको थियो । करिब १२ बजेबाट उकालो लागेको हो ।
आगामी आवका बजेटमा सेयर बजार विकासमा नयाँ कार्यक्रम आउने अनुमानका आधारमा लगानीकर्ता हौसिएको पुडासैनीको भनाइ छ । अर्थमन्त्री खतिवडाले आज दिउँसो ४ बजे आगामी आवको बजेट सार्वजनिक गर्दैछन् ।

पुँजी बजारलाई उत्थान गर्ने नयाँ कार्यक्रम नआए अझै बजार घट्ने र बजेट सकारात्मक आए सेयर बजार पनि बढ्ने विश्लेषकको भनाइ छ ।‘सरकारले आगामी आर्थिक वर्ष ०७५-७६ का लागि ल्याउन लागेको बजेटमा पुँजी बजारलाई प्रोत्साहन गर्ने खालका नयाँ कार्यक्रम आए सेयर बजारले उकालो लाग्न सक्ने सम्भावना छ,’ उनले भने, ‘तर, बजेटमा सेयर बजारलाई प्रोत्साहन हुने खालका कार्यक्रम नआए अझै तल झर्न सक्छ ।’

५–६ वर्षदेखि सेयर बजारमा नियमित रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) को विवाद छ । महालेखाले हरेकपटक बेरुजु निकालेको छ । त्यसलाई बजेटले कसरी सम्बोधन गर्ला ? अहिले लगानीकर्ता त्यसैको प्रतीक्षामा छन् ।
अहिले लगानीकर्ता बजेटको पखाईमा भएको ब्रोकरको भनाइ छ । बजेटमा पुँजी बजारलाई सघाउने नयाँ कार्यक्रमको आशा लगानीकर्ताले गरेका छन् । लगानीकर्ताको अपेक्षा अनुसार केही नआउने हो भने लगानीकर्तामा अझै निराशा छाउने र सेयर बजार अझै तल आउने आँकलन ब्रोकरले गरेका छन् ।

आगामी बजेटले लिने नीतिपछि सेयर बजार उकालो वा ओरालो लाग्ने भन्ने स्पष्ट बाटो निर्धारण हुने विश्लेषकको भनाइ छ । नयाँ सरकारको गठनपछि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । सरकारको स्पष्ट नीति नआएकाले पनि सेयर बजार उकालो लाग्न नसकेको विश्लेषकको भनाइ छ ।बजेटपछि लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने अनुमान गरिएको छ । त्यसैको आधारमा सोमबार सेयर बजारप्रति लगानीकर्ताको मनोबल सकारात्मक बनेको हो।

सोमबार एक सय ६८ कम्पनीको ४७ करोड ८९ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यस दिन नेप्सेमा कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक २७२.४४ बिन्दुले माथि लागेको छ । होटल समूह पनि १०१.११ बिन्दुले बढेको छ । वाणिज्य बैंक समूहको सूचक २५.४६ बिन्दुले माथि लागेको छ ।
कारोबार रकममा सिटिजन्स बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । यसको पाँच करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई संस्थापक र नेपाल बैंक परेका छन् ।

प्रकाशित: १५ जेष्ठ २०७५ ०२:४९ मंगलबार

हल्लाले नेप्सेमा ३६ बिन्दुको सुधार