अर्थ

बजेटको प्रतीक्षामा लगानीकर्ता

काठमाडौं - सरकारले आगामी वर्षका लागि मंगलबार ल्याउने बजेट सेयरमैत्री नआउने पूर्वअनुमान लगानीकर्ताले गरेका कारण सेयर बजार बढ्नुको साटो उल्टै घटिरहेको छ।

यसअघि बजेट आउनु ८–१० दिनअघि नै बजेट कस्तो आउँदैछ भन्ने सूचना चुहावट हुने भएकाले सेयर बजार पनि त्यही अनुसार ओरालो वा उकालो लाग्ने गथ्र्यो । तर, यसपालि लगानीकर्ताले पूर्वअनुमान गर्न नसकेका कारण सेयर बजारमा खासै प्रभाव परेको छैन।

बजेटमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम नआउने संकेत पाइएकोले सेयर बजार तल ओर्लिएको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए।

‘यसअघिका बजेटमा पुँजी बजारलाई समेटने खालका कार्यक्रम आउँदैछन् भन्ने सूचना चुहिँदा सेयर बजारमा सकारात्मक असर पर्ने र सेयरको मूल्य बढ्ने गर्दथ्यो,’ उनले भने, ‘तर आगामी वर्षको बजेटमा भने सकारात्मक प्रभाव पार्ने खालका सूचना नआउने संकेत देखिएकाले बजार सुधार नदेखिएको हो।’

अहिलेका अर्थमन्त्री युवराज खतिवडाको पृष्ठभूमि पनि पुँजी बजारमैत्री नभएकाले सेयर बजार ओरालो लागेको अर्यालको भनाइ छ।

लगानीकर्ताहरु सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटको प्रतीक्षामा छन् । सरकारले आगामी वर्ष ०७५/७६ सालको बजेट जेठ १५ गते ल्याउँदैछ।

बजेट जति नजिकिँदै छ, त्यत्ति सेयर बजार ओरालो लाग्दै गएको छ। १८८१ बिन्दुमा पुगेको नेप्से सूचक १३१८.२२ बिन्दुमा आइपुगेको छ।

निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि ओरालै लाग्यो । पुँजी बजारलाई उत्थान गर्ने नयाँ कार्यक्रम नआए अझै बजार घट्ने निश्चित छ । लगानीकर्ताले बजटेबाट आस गर्न नसकेकाले पनि सेयर बजार ओर्लिएको विश्लेषकको भनाइ छ।

बजेटमा पुँजी बजारलाई प्रोत्साहन मिल्ने खालका कार्यक्रम आए सेयर बजार उकालो लाग्न सक्ने सम्भावना छ । त्यसो नभए अझै तल झर्ने अनुमान गरिएको छ।

५–६ वर्षयता  सेयर बजार मूल्य अभिवृद्धि कर (भ्याट) को हल्लाबाट भयभीत छ । महालेखाले हरेक वर्ष बेरुजु निकालेको छ । त्यसलाई बजेटले कसरी सम्बोधन गर्ला भन्ने जिज्ञासा आम लगानीकर्तामा छ।

अहिले लगानीकर्ता बजेटको पखाइमा भएको ब्रोकरको भनाइ छ । बजेटमा पुँजी बजारलाई सघाउने नयाँ कार्यक्रमको आस लगानीकर्ताले गरेका छन् । लगानीकर्ताको अपेक्षाअनुसार केही नआउने हो भने लगानीकर्तामा अझै निराशा छाउने र सेयर बजार अझै तल आउने आँकलन ब्रोकरले गरेका छन्।

आगामी बजेटले ल्याउने नीतिपछि सेयर बजार उकालो वा ओरालो लाग्ने भन्ने स्पष्ट बाटो निर्धारण हुने विश्लेषकको भनाइ छ।

नयाँ सरकार गठनपछि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । सरकारको स्पष्ट नीति नआएकाले पनि सेयर बजार उकालो लाग्न नसकेको विश्लेषकको भनाइ छ।

लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने अनुमान गरिएको थियो । तर, त्यसो हुने सम्भावना नदेखिएकाले पनि लगानीकर्ताको मनोबल सकारात्मक नभएको हो । ‘सेयर धितोमा दिइने कर्जाको ब्याजदर नघटेकाले सेयर मूल्य नबढेको हो,’ अर्यालले भने, ‘ब्याजदर नघट्दा सेयर बजारमा आकर्षण कम देखिएको हो ।’ बैंकको ब्याज र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ । ब्याज बढ्दा सेयरको मूल्य घट्छ भने ब्याज घट्दा मूल्य बढ्छ।

बैंकमा लगानीयोग्य पुँजीको अभाव समाधान हुने क्रममा रहे पनि तीन महिनाभित्र ब्याजदर परिवर्तन गर्न नपाइने राष्ट्र बैंकको नियमले पनि प्रभाव पारेको अर्यालको भनाइ छ ।

लगानीयोग्य पुँजी अभाव कायमै रहेको, बैंकको ब्याजदर घट्ने छाँट नभएको, सेयर बजार ओरालो लागेसँगै मार्जिन कल माग्ने क्रम बढेकाले पनि सेयर बजार अस्थिर बन्न पुगेको छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:२८ आइतबार

बजेटको प्रतीक्षामा लगानीकर्ता