अर्थ

अन्तराष्ट्रिय विमानस्थलको लागि १४ करोड भन्दा बढी मुअब्जा बितरण

 

बारा- जितपुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गाको १४ करोड ७१ लाख मुअब्जा बितरण गरिएको छ।

बिमानस्थलले ओग्टने नम्बरी जग्गा धनीहरुलाई मुअब्जा लिन आउनको लागि निकालिएको सार्वजनिक सूचना पछि १४० जना नम्बरी जग्गा धनीहरुले मुअब्जाको लागि शुरुमा निवेदन दिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले कार्यावन्यन एकाई कार्यालय सिमराले जनाएको छ।

विमानस्थल आयोजनाले कार्यावन्यन एकाई कार्यालय सिमराका वरिष्ठ अधिकृत बिजय प्रसाद यादवले शुरुमा मुअब्जा पाउँनको लागि निवेदन दिएको १४० जना जग्गा धनीहरु मध्ये ५२ जनालाई मुअब्जा बितरण गरीएको बताए।

विमानस्थलको लागि अधिग्रहण गरीएको २६ विघा २ कट्ठा १३ धुर जग्गाको ५२ जना जग्गा धनीहरुलाई लाई १४ करोड ७१ लाख मुअब्जा बितरण गरिएको यादवले बताए।

दोस्रो चरणमा निवेदन दिएका २१ जना जग्गा धनीहरुहरुलाई १२ बिघा ४ कठा १६ धुर जग्गाको आठ करोड मुअब्जा दिनको लागि मुअब्जा निर्धारण समितिबाट निर्णय गराएर बितरण प्रक्रिया अगाडि बढाइएको यादवले बताए ।

निवेदन दिएका मध्ये बाकी रहेको मध्ये थप ६० जना जग्गा धनीहरुलाई मुअब्जा दिनको लागि उनीहरुको जग्गाको मालपोत, नापी र भुमि सुधार कार्यालयमा चेकजाँच गराउन कार्य शुरु गरीएको बरिष्ठ अधिकृत यादवले जानकारी दिए।

चालु आर्थिक बर्षमै विमानस्थलको लागि अधिग्रहण गरीने एक सय १० बिघा नम्बरी जग्गाको मुअब्जा दिने गरी कार्यहरु तिब्रताका साथ अगाडि बढाइएको उनले जनाए।

निर्माण हुन लागेको दोस्रो विमानस्थलको लागि अधिग्रहण गरीने जग्गा मध्ये एक सय १० विघा मात्रै व्यक्तिहरुको नम्बरी पर्ने यकिन गरीए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना समेत रहेको आयोजनाका अधिकारीहरुले बताएका छन्।

‘अहिले बिमानस्थल निर्माण गर्नको लागि आवश्यक पर्ने ११ हजार  आठ सय ७५ बिघा जग्गाको चार किल्ला पहिचार गरी सिमाँकन गरिएको छ,’ यादवले भने, ‘सिमाँकन गरीएको ११ हजार सात  सय ६५ बिघा जग्गा मध्ये अधिकाँश  जंगलको केही ऐलानी जग्गा रहेका छन् ।’

विमानस्थल भित्र पर्ने नम्बरी जग्गाको मुअव्जा स्थानीयलाई बितरण गर्ने कार्य शुरु गरिएको , विमानस्थाल भित्र पर्ने वनको काठ व्यवस्थापन र ट्रयल खोल्ने जिम्मा नेपाली सेनालाई दिईएको र बातावरण प्रभाव मूल्याँकन रिपोर्ट समते वन तथा बातावरण मन्त्रालयबाट स्विकृत गरीएको यादवले जनाएका छन्।

प्रकाशित: १२ जेष्ठ २०७५ १३:१६ शनिबार

अन्तराष्ट्रिय विमानस्थलको लागि १४ करोड भन्दा बढी मुअब्जा बितरण