अर्थ

समृद्ध प्रदेशका लागि करको दायरा बढाएर व्यवस्थापन गरिने

चितवन - प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशमा करको दायरा बढाएर करलाई व्यवस्थित गर्ने बताएका छन् । करको दायराभन्दा बाहिर रहेका व्यवसायीलाई करमा सहभागी गराएर समृद्धिमा लैजाने उनले बताए।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ३ नं. प्रदेश समितिले गरेको कर, राजस्व तथा भन्सार नीति सम्बन्धी अन्तरक्रियामा मन्त्री ढुंगेलले भने, ‘कर नबढाई करको दायरलाई व्यवस्थित गरिन्छ ।’ नेपालमा दूध उत्पादनमा १५ प्रतिशतले मात्र कर तिरिरहेको बताए । त्यतिले कर तिर्दा जिडिपीमा ११ प्रतिशत योगदान पुगेकाले सबै क्षेत्रलाई करमा सहभागी गराउन सके समृद्धि सहज रुपमा ल्याउन सकिने उनको भनाइ छ ।

कार्यक्रममा उनले ५०–५०, ४०–६० र ३५–६५ प्रतिशतको दरमा हिस्सा बाँडेर निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए । सीप विकासका लागि पनि सहकार्य गरिने उनले बताए । प्रदेश ३ बाट मात्र कपाल काट्दा चार करोड रुपैयाँ मासिक विदेश जाने गरेको बताउँदै उनले भने, ‘नेपालीले नै सीप सिकेर विदेशिने पैसा रोक्नुपर्छ ।’
प्रदेश ३ का सांसद शान्तिप्रसाद पौडेलले राज्यको तीन खम्बामध्ये निजी लगानी एउटा प्रमुख खम्बा भएको बताउँछन् । सामग्री निकासी, पैठारी तथा कर लगायत समस्या समाधान गर्नुका साथै बैंकले ऋण दिएपछि ब्याजदरमा वृद्धि गर्ने कार्यलाई नियन्त्रण गर्न प्रदेश सरकार तत्पर रहेको उनले बताए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधान व्यवसायको अनुगमन गर्दा व्यवसायीलाई अपराधीका रुपमा नहेरी मर्यादित प्रक्रियाबाट गरिनुपर्ने बताउँछन् । घरभाडाका कारण व्यवसायी मर्कामा परेपछि नारायणगढ बजारलाई केन्द्रित गरेर घरभाडा सम्बन्धी आचारसंहिता बनाएको उनले बताए । व्यवसायीले पनि घरधनीसँग लिखित सम्झौता गरेर मात्र भाडा लिनपुर्ने उनको भनाइ छ।

अन्तरक्रियामा कपडा व्यवसायी संघका प्रदेश संयोजक गणेशप्रसाद बरालले जिएसटी बिल अनुसारको भन्सार लगाइनुपर्ने, सिलाई ज्यालामा छुट दिनुपर्ने, घरभाडा व्यवस्थित गर्न नीति ल्याउनुपर्ने, विद्यालय तथा क्याम्पसका विद्यार्थी तथा निजामति कर्मचारीको पोषाकमा एकरूपमा ल्याउनुपर्ने लगायत माग संघका तर्फबाट राखेका छन् ।

प्रकाशित: ७ जेष्ठ २०७५ ०१:३४ सोमबार

समृद्ध प्रदेशका लागि करको दायरा बढाएर व्यवस्थापन गरिने