अर्थ

बर्डफ्लू क्षेत्रमा पक्षी नष्ट गर्दा अवरोध

बर्ड फ्लू १ः पुर्वी चितवनको खैरहनीको जोखिमयुक्त क्षेत्रमा घरमा पालिएका कुखुरा र हाँस नष्ट गर्दै टोली। तस्बिरःसविता/नागरिक

चितवन – पुर्वी चितवनको खैरहनी नगरपालिकामा बर्ड फ्लू भेटिएपछि वरिपरिको ठाउँलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ सुर्तनीमा रहेको कुखुरा फार्ममा बर्ड फ्लू भेटिएको हो । राजन चौधरीले पालेको लेयर्स कुखुरामा बर्ड फ्लूको भाइरस भेटिएको प्रमाणित भएपछि वरिपरिको क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरेर कुखुरा तथा पक्षी ओसारपसार गर्न रोक लगाइएको छ।

जोखिमयुक्त क्षेत्रमा पालिएका पक्षी र पक्षीजन्य उत्पादन नष्ट गर्ने अभियान चलाइएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलले बताए । संक्रमित क्षेत्रमा शुक्रबार र शनिबार गरी करिब पाँच हजारको संख्यामा पक्षी नष्ट गरेर व्यवस्थित खाल्डोमा पुरिएको उनी बताउँछन् । शनिबार कुखुरा नष्ट गर्दै गर्दा किसानले अवरोध गरेपछि पक्षी नष्ट गर्न खटिएको टोली जाखिमयुक्त ठाउँबाट फर्किएको छ।

जोखिमयुक्त ठाउँको सिमांकन गरेर पक्षी नष्ट गर्दा विभेद भएको भन्दै किसानले अवरोध गरेका थिए । खैरहनी नगरपालिका–६ पर्साको सुशिल रिजाल र हिरा श्रेष्ठको पोल्ट्री फार्ममा कुखुरा नष्ट गर्दै गर्दा किसानको अवरोध भएको हो । सम्पदा पोल्ट्री फार्म सञ्चालन गरेका किसान सुशिलले पाँच हजार कुखुरा पालेका छन्।

बर्ड फ्लू भेटिएको फार्मबाट दुई सय मिटरभित्र रहेको ह्याचरीलाई छाडेर डेढ किलोमिटर टाढाको फार्ममा कुखुरा मार्न थालिएको भन्दै किसानले अवरोध गरे । हावा पूर्वबाट पश्चिमतिर बहने भएकाले रोग पनि पश्चिम फैलिन्छ भनेर पश्चिमतर्फका फार्ममा मात्र कुखुरा नष्ट गर्न लागेपछि रोक्न लगाइएको कृषक सुशिल बताउँछन्।

‘कुखुरा नष्ट गर्ने सिमाना नै थाहा छैन,’ उनी भन्छन्, ‘आडैको फार्म छाडेर टाढा आएर नष्ट गर्नु नै शंकास्पद छ ।’ बर्ड फ्लू भएको फार्मको कुखुरा मरेको १५ दिनपछि कुखुरा मार्न थाल्नुसमेत अव्यवहारिक भएको उनको भनाइ छ । करिब ५० लाख लगानी गरेर गरिएको कुखुरापालनमा स्वस्थ कुखुरा मारिएको उनले दाबी गरे । उनको खोरमा शनिबार करिब एक हजार पाँच सय कुखुरा नष्ट गरिएका छन्।

त्यस्तै कृषक हिराको फार्मबाट पनि करिब उत्तिकै संख्यामा कुखुरा नष्ट गरिएको छ । सरकारले किसानको लागत र मेहतनलाई उचित मूल्यांकन गरेर क्षतिपूर्ति दिएर स्वरोजगार बन्ने अवसर दिनुपर्ने कृषक सुशिलले बताए । सुर्तनीका राजन चौधरीले पालेको एक हजार पाँच सय कुखुरा अचानक मर्न थालेपछि राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा नमुना परीक्षण गरिएको थियो । वैशाख १४ गते गरिएको परीक्षणमा एआइभी पोजेटिभ पाइएको थियो।

एभियन इन्फ्लुएन्जा भएको पाइएपछि थप परीक्षणका लागि नमुना काठमाडौं पठाइएको थियो । काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा एभियन इन्फ्लुुएन्जा (एचफाइभएनवान) भएको प्रमाणित भएको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले बताए।

राजनको फार्ममा रहेका कुखुरा बर्ड फ्लूका कारण मरेको पुष्टी भएको रिपोर्ट वैशाख ३१ गते आएको थियो । सोही रिपोर्टअनुसार जेठ ३ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णयबाट खैरहनीमा जोखिमयुक्त क्षेत्र सीमांकन गरेर कुखुरा नष्ट गर्ने आदेश दिइएको हो।

राजनले पालेका सबै कुुखुरा यसअघि नै मरिसकेको छ । उनको फार्म नजिकै कुखुरा पालेका अर्का किसान लक्ष्मण चौधरीको फार्ममा पनि एक हजार कुखुरा मरिसकेका छन् । फार्मको कुखुरा परीक्षणका लागि काठमाडाैं पठाइएको भएपनि रिर्पोट आइसकेको छैन । चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरेर जोखिमयुक्त क्षेत्र घर तथा फार्ममा पालेका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गर्ने अभियान सुरु गरिएको छ।

राजनको फार्म नजिकै पूर्वतर्फ रहेको परशुराम अधिकारीको एमएम ह्याचरीलाई छाडेर टाढाको फार्ममा नष्ट गर्ने अभियान चलाइएको भन्दै किसानले अवरोध गरेका हुन् । बर्ड फ्लू मानव स्वास्थका लागि हानिकारक हुने भएकाले उक्त क्षेत्रमा संक्रमण फैलन सक्ने खतरा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।

रोग फैलन नदिन जैविक सुरक्षा विधि अपनाउनु पर्ने डा. खरेल बताउँछन् । पक्षी नष्ट गर्ने कार्यमा सहयोग गर्न उनले किसानलाई आग्रह गरे । उक्त क्षेत्रमा सुरक्षाका लागि औषधि र चुनासमेत छरिएको छ । जिल्लाको अन्य भागमा समेत संक्रमण फैलन सक्ने भन्दै किसानलाई सचेत गराइएको छ । यसअघि एचनाइन हुँदा पनि पूर्वी चितवनका एक कृषकको पाँच हजार एक सय कुखुरा मरेर खोर खाली भएको थियो।

प्रकाशित: ६ जेष्ठ २०७५ ०५:०५ आइतबार

बर्डफ्लू क्षेत्रमा पक्षी नष्ट गर्दा अवरोध