अर्थ

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिँदै

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा चीनबाट आएका पर्यटकलाई जाँच गर्दै प्रहरी। तस्बिरः हिमनाथ/नागरिक

रसुवा – अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ।

सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्न प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राख्न लागिएको हो । रसुवागढी नाकानजिकै निर्माण गरिएको प्रिफेब्रिकेटेड भवनबाट एक हप्ताभित्र सेवा सुरु गरिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए।

‘अन्तर्राष्ट्रिय नाकामा प्रविधिको अभावमा धेरै समस्या झेल्नुपरेको थियो,’ प्रमुख भन्सार अधिकृत कोइरालाले भने, ‘हामीले नाकामा एक हप्ताभित्र प्रविधि जडान गरिसक्ने छौं ।’ प्रविधि सञ्चालनका लागि प्रहरी र कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिने उनको भनाइ छ।

प्रविधि जडान भएपछि सीमामा अवैध गतिविधि रोक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । जिल्ला प्रशासन कार्यालय रसुवाको पहल र भन्सार कार्यालयको समन्वयमा नाकामा प्रविधि जडान गर्न लागिएको हो।

यसअघि पटकपटक योजना बनेको भए पनि कागजमै सीमित बन्न पुगेको थियो । जिल्लामा भर्खरै आएका प्रजिअ पौडेलले स्थलगत निरीक्षण गरेर आवश्यक सामग्रीको लागि भन्सार कार्यालय र विभागसँग निरन्तर पहल गरेपछि यो कार्य अघि बढेको हो।

‘सीमामा देखिएका हरेक समस्याको समाधानको लागि हामीले योजना निर्माण गरेका छौं,’ प्रजिअ पौडेलले भने, यात्रुको जाँच गर्ने स्थान (रसुवागढी­) मा यात्रु प्रतीक्षालय निर्माण गर्न प्रक्रिया अघि बढाएका छौं ।’ नाकामा प्रहरीको उपस्थिति दिउँसो तीन बजेसम्म रहँदै आएकोमा सामग्री आएपछि २४ सै घन्टा प्रहरीको उपस्थिति रहने उनको भनाइ छ । नाकामा यात्रुका लागि शौचालय निर्माण गरिने र सडक बत्ती राख्न काम अघि बढाइएको छ।

नाकामा चिनियाँ तथा विदेशी पर्यटकको चाप बढ्दै गएको र प्रविधि अभावमा झोला खोतल्ने र शरीर जाँच गर्दा समस्या आएपछि नाकालाई प्रविधिमैत्री बनाउन लागिएको हो । केही समयअघि नाकामा सिसिटिभी क्यामेरा राखिएको थियो ।
चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्री चीन निर्यात हुने गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि वैशाख ३० गतेसम्ममा तीन अर्ब तीन करोड ९९ लाख राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताए।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दुरी पार गर्नुपर्छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०५:०१ आइतबार

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट लगेज एक्सरे मेसिन राखिँदै