अर्थ

म्याद गुज्रियो, विमानस्थल कालोपत्रे भएन

खोटाङ – सम्झौताको म्याद गुज्रिँदा पनि खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रेको काम करिब ६० प्रतिशत मात्र सकिएको छ । २०७४ माघसम्ममा पूरा गर्नेगरी २०७३ मंसिर १७ गते सम्झौता गरिएको लामीडाँडा गाउँपालिका–३ लामीडाँडास्थित विमानस्थल कालोपत्रेको काममा निर्माण कम्पनीको ढिलासुस्ती देखिएको स्थानीयको भनाइ छ।

म्याद गुज्रेको तीन महिना बित्दा ठेकेदार कम्पनी वाइएएन–एसएपी–सूर्य कन्स्ट्रक्सन जेभीले विमानस्थलको सब–बेस राख्ने, कटिङ र फिलिङ गर्ने, ग्याभिङ वाल हाल्ने, ड्रेन बनाउने लगायत काम मात्र पूरा गरेको जनाएको छ । पहिलो म्याद २०७४ माघ १६ गते गुज्रेपछि सात महिना म्याद थप गरेको निर्माण कम्पनीले आगामी तीन महिनाभित्र कालोपत्रेको काम पूरा गर्ने दाबी गरेको छ । कालोपत्रे भइसक्नुपर्ने धावनमार्गमा सब–बेस मात्र राखिएको छ । कुनै बाधा अवरोध नआए आगामी तीन महिनाभित्र विमानस्थल कालोपत्रेको काम पूरा हुने निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सनका इन्जिनियर शम्भु चौधरीले बताए।

२०७३ मंसिरमा सम्झौता गरे पनि ठेकेदार कम्पनीले ढिलागरी २०७४ वैसाखबाट मात्र कालोपत्रेको विभिन्न चरणका काम थालेको थियो । सञ्चालनमा आएको ४६ वर्षपछि कालोपत्रे गर्न थालिएको लामीडाँडा विमानस्थलमा कालोपत्रेकै लागि वर्ष दिनदेखि उडान बन्द गरिएको छ । २०२८ देखि सञ्चालनमा आएको विमानस्थल खोटाङका तीनवटा विमानस्थलमध्ये सबैभन्दा पुरानो विमानस्थल हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार लगानीमा विमानस्थल कालोपत्रेका लागि अपग्रेडको काम थालिएको थियो । कुल पाँच सय ८० मिटर लम्बाइको विमानस्थलको धावनमार्गमा पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्रे गर्ने सम्झौतामा उल्लेख छ।

इन्जिनियर चौधरीका अनुसार विमानस्थलको धावनमार्गमा केही समयपछि बेस ओछ्याउने र कालोपत्रे गर्ने तयारी गरिएको छ । गाउँपालिकाले दूधकोसीको गिटी–ढुंगा निकाल्न रोक लगाएको र प्रकृया पूरा गरेर निकाल्दा विमानस्थलको काममा ढिलाइ भएको चौधरीले बताए।

लामीडाँडा विमानस्थल खोटाङबाहेक त्रि–धार्मिकस्थल हलेसी आउने–जाने दर्शनार्थी तथा पर्यटकले उपयोग गर्ने गरेका छन्। रुपाकोट मझुवागढी नगरपालिकामा निर्माण गरिएको खानीडाँडा विमानस्थल सञ्चालनमा आउनुअघि व्यस्त रहने लामीडाँडामा हाल यात्रुको चाप घटेको छ।

लामीडाँडा विमानस्थल कालोपत्रे भएपछि लामीडाँडा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकाका तथा छिमेकी जिल्ला ओखलढुंगाका स्थानीय समेत लाभान्वित हुने छन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ०४:३७ आइतबार

म्याद गुज्रियो विमानस्थल कालोपत्रे भएन