अर्थ

फेरिँदैछ कोलकता बन्दरगाह

कोलकाता बन्दरगाह स्तरोन्नति गरिँदै ।तस्बिर : रितेश/नागरिक

वीरगन्ज- विभिन्न देशबाट आएका ७२ हजार नेपाली कन्टेनर गत आर्थिक वर्षमा ‘ह्यान्डलिङ’ (ओसारपसार) गरेको र यो वर्ष ८० हजार कन्टेनर ‘ह्यान्डलिङ’को अनुमान गरिएको भारतको पश्चिम बंगालस्थित कोलकाता बन्दरगाह क्रमशः फेरिँदै गएको छ ।बन्दरगाहले सेवाको गुणस्तरसँगै पूर्वाधार बढाउन लागेपछि यसबाट नेपाललाई फाइदा हुने सरोकारवालाको भनाइ छ।

नेपालको व्यापार हुने पहिलो र सबभन्दा बढी (करिब ९४ प्रतिशत) कन्टेनर कार्गो आवागमन हुने यो भारतीय बन्दरगाह हो । नेपालसँगै भुटान र पूर्वोत्तर भारतका प्रान्तले कोलकता बन्दरगाहमार्फत तेस्रो मुलुकसँगको व्यापार गर्ने गरेका छन् । पछिल्लो समयमा उक्त बन्दरगाहको क्षमता अधिकतम उपयोग हुने गरी कार्गो आवागमन बढेपछि कोलकाता पोर्ट ट्रस्टले स्तरोन्नति थालेको हो।

बन्दरगाहमा आइपुगेका कन्टेनरलाई रेल्वेमा लोड गर्न चाहिने पूर्वाधार, सडक मार्गबाट ढुवानी हुने कन्टेनर लोडिङ हुने ठाउँ, यार्डको क्षेत्रफल लगायत स्तरोन्नति र विस्तार हुन लागेको बन्दरगाहका टर्मिनल व्यवस्थापक हिमांशु शेखरले बताए । उनका अनुसार एक लाख वर्गमिटरमा रहेको बन्दरगाह यार्डको क्षेत्रफल पूर्वाधार सुधारपछि एक लाख ३५ हजार वर्गमिटर हुनेछ ।

बन्दरगाहले आठ हजार वर्गमिटरको कन्टेनर सञ्चालन यार्ड फागुनमा ढलान गरेको छ । अर्को आठ हजार पाँच सय वर्गमिटरको त्यस्तै यार्डमा ढलान थालिएपछि एक महिनाभित्र त्यो तयार हुने शेखरले बताए । त्यस्तै बसरम क्षेत्रमा १४ हजार वर्गमिटरको यार्ड बनाउन थालेकामा वैशाख पहिलो साता यसमध्ये आठ हजार वर्गमिटर तयार भइसकेको छ । निमकमहल रोडमा पनि चार हजार वर्गमिटरको एउटा यार्ड बन्दरगाहले तयार गरेको छ । असारसम्म एउटा साढे सात हजार वर्गमिटरको र अर्को २० हजार वर्गमिटरको थप यार्ड बन्दरगाहले निर्माण गर्नेछ।

यार्डमा ठाउँ नपुग्दा कन्टेनर आउने र त्यहाँबाट नेपालको लागि चलान हुन ढिलो हुने नेपाली आयातकर्ताले मोग्ने मुख्य समस्या हो । अब त्यो समस्या नहुने बन्दरगाह सञ्चालक कोलकाता पोर्ट ट्रस्टले जनाएको छ । त्यस्तै कन्टेनर रेलमा हाल्न पहिले रहेको आधा रेल्वेलाइन अब पूरा दुई लाइन बनेर लगभग तयार भएको शेखरले बताए । अहिले प्रतिदिन एक सय ३५ वटा कन्टेनर रेलमा हाल्ने संरचना रहेकोमा यो रेल लाइन बढाइएपछि प्रतिदिन तीन सय ६० कन्टेनर लोड गर्न सकिने उनले जनाए ।

चाप बढेका कारण पूर्वाधार अभावमा कोलकाता आउने कन्टेनर धान्न समस्या भएपछि आन्ध्र प्रदेशको विशाखापट्नम र पश्चिम बंगालकै हल्दिया बन्दरगाहतिर आयातकर्ता मोडिएका छन् । नजिकैको उडिसा प्रान्तमा रहेको धमरा बन्दरगाह पनि सेवा दिन तयार छ । यस्तोमा प्रतिस्पर्धामा टिकिराख्न कोलकाता बन्दरगाहले पूर्वाधार सुधारका महŒवपूर्ण योजना घोषणा गरेको हो ।

कोलकता बन्दरगाहमा पूर्वाधार बढाउने अभियानको अगुवाइ कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष बिनित कुमार आफैंले गरेका छन् । ‘नदीको जलाधारमा बनेको यो बन्दरगाहका आफ्नै सीमितता छन्, र यसका केही विशेषता पनि छन् । विशेषता हो– यसको अवस्थिति । व्यापारको दृष्टिकोणले यो निकै महत्वपूर्ण ठाउँमा छ,’ पोर्ट ट्रस्टका अध्यक्ष कुमारले भने, ‘यो नेपालसँग सबभन्दा नजिकको बन्दरगाह भएकाले यसको तुलना अरुसँग हुँदैन । हामीले नेपाली आयातकर्ताको सुबिधालाई अहिले गम्भीरतापूर्वक ध्यान पनि दिएका छौं । नेपालको लागि बेग्लै डेस्क र फोकल पर्सन पनि राखेका छौं।’

वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका आयातकर्ता प्रदीप केडियाले कोलकाता बन्दरगाहले पछिल्लो समय गरेका सुधार नेपालको लागि राम्रो भएको र आयातकर्ताले सचेत भएर यसको फाइदा लिन सक्नुपर्ने बताए । कोलकाता बन्दरगाहमा सुधारसँगै विभिन्न सिपिङ कम्पनीले पनि नेपाली आयातकर्ताको लागि सुविधा घोषणा गरेका छन् ।

‘यी सुधारहरु नेपालको वाणिज्य कूटनीतिका सफलता हुन्,’ वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले भने, ‘नेपाली व्यापारका लागि विशाखापट्नम बन्दरगाह प्रयोगमा आएयता सेवा प्रदान गर्ने बन्दरगाह र सिपिङ कम्पनी प्रतिस्पर्धात्मक रुपमा अघि बढ्दा समग्रमा नेपाललाई फाइदा हुन्छ ।’ उनले तेस्रो मुलुकसँगको नेपालको व्यापार पछिल्लो समय नयाँ चरणमा प्रवेश गरेको बताए ।

 

प्रकाशित: १ जेष्ठ २०७५ ०१:१२ मंगलबार

फेरिँदैछ कोलकता बन्दरगाह