अर्थ

असिनापानीले २० करोडको केराखेती सखाप

रत्ननगर – हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा  २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ। 

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ। पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ। 

पन्तको १८ बिगाहामा लगाएको केराखेती पूरै नष्ट भएको छ। उनले क्षतिको विवरण संकलन भइरहेको बताए। कालिका– २ र ३ मा तथा भरतपुरको ठिमुरामा पनि केराखेती नष्ट भएको छ। 

“नयाँ लगाएको बिरुवाबाहेक अरु फलेका केरा सबै ढलेर नष्ट भएको छ,” उनले भने। यसअघि पनि पटक पटक केरा व्यवसायीले ठूलो क्षति व्यहोरेका थिए। अधिकांशले केराखेतीको बिमा नगर्दा ठूलो नोक्सानी भएको छ। 

चितवनमा केराखेतीमा ६०० भन्दा बढी किसान संलग्न छन्। उनीहरुमध्ये १६५ किसानले मात्रै बिमा गराएका छन्। 

प्रकाशित: २४ वैशाख २०७५ ०८:३९ सोमबार

असिनापानीले २० करोडको केराखेती सखाप