अर्थ

धितोपत्र बजार: एक अर्बको कारोबार

काठमाडौं – धितोपत्र बजारमा यस साता १ अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार ५०० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताकोभन्दा ६६ दशमलव ६३ प्रतिशत कम हो। 

गत साता १८२ कम्पनीको ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरका १ करोड १ लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १४ अंकले बढेर अन्तिम दिन १३६६ दशमलव १५ अंकमा पुगेको छ। 

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ३३ अंकले बढेर २८८ दशमलव २९ अंकमा आइपुगेको छ। यस साता कुनै पनि ऋणपत्रको कारोबार भएन। 

यस साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। सो बैंकको ८ करोड ५९ लाख २० हजार बराबरको शेयर कारोबार भएको छ। यस्तै शेयर संख्याको आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। सो बैंकको २ लाख ४२ हजार कित्ता शेयर खरिद बिक्री भएका थिए।   (रासस)

प्रकाशित: २२ वैशाख २०७५ १०:४१ शनिबार

धितोपत्र बजार अर्बको कारोबार