अर्थ

सिँचाइबाट सिँगो अर्थतन्त्र र विकासको आकार वृद्धि

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताएका छन्।

अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी)को आठौं एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै मन्त्री पुनले उक्त धारणा राखेका हुन् । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पुनले नेपालले सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको जानकारी दिँदै लक्ष्य पूरा गर्न पानी निकास तथा व्यवस्थापन जरुरी रहेको धारणा राखे।

‘सदा हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । आइसिआइडी सिँचाइ, नदी नियन्त्रण एवं कृषियोग्य जमीनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञान अन्तराष्ट्रिय रूपमा आदान–प्रदान गर्न गठित अन्तराष्ट्रिय गैर सरकारी संस्था हो।

सम्मेलनमा ३० देशका सयभन्दा बढी जलस्रोत तथा सिँचाइसँग सम्बन्धित विदेशी वैज्ञानिक र प्राविधिकको उपस्थिति छ । सम्मेलनमा नेपालबाट करिब पाँच सय प्राविधिक एवं वैज्ञानिक सहभागी छन्।
 

प्रकाशित: २० वैशाख २०७५ ०२:३१ बिहीबार

सिँचाइबाट सिँगो अर्थतन्त्र विकासको आकार वृद्धि