अर्थ

सिँचाईबाट अर्थतन्त्र र विकासको आकार बढाउछौं : उर्जामन्त्री पुन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताएका छन्।

अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी) को ८ औं एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै मन्त्री पुनले नेपालले सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्य राखेको जानकारी दिए। उनले उक्त लक्ष्य पूरा गर्न पानी निकास तथा व्यवस्थापन जरुरी रहेको धारणा समेत कार्यक्रममा व्यक्त गरे।

‘सदा हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन ३ दिनसम्म चल्नेछ। आइसिआइडी सिँचाइ, नदी नियन्त्रण एवं कृषियोग्य जमीनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसंधान र प्राविधिक ज्ञान अन्तर्राष्ट्रिय रूपमा आदान–प्रदान गर्न गठित अन्तराष्ट्रिय गैर सरकारी संस्था हो।

सम्मेलनमा ३० देशका सय भन्दा वढी जलस्रोत तथा सिँचाइसँग सम्बन्धित विदेशी वैज्ञानिक र प्राविधिकको उपस्थिति छ। सम्मेलनमा नेपालबाट करिब ५ सय प्राविधिक एवं वैज्ञानिक सहभागी रहेका छन्।

प्रकाशित: १९ वैशाख २०७५ ११:१७ बुधबार

सिँचाईबाट अर्थतन्त्र विकासको आकार बढाउछौं उर्जामन्त्री पुन