अर्थ

गोकर्णेश्वरका स्थानीयलाई प्याकेजमा उद्यमशीलता

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे थांका प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै ।तस्बिर : अर्जुन तामाङ

काठमाडौं– गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतासाथ अघि सारेको बताएका छन् । गोकर्णेश्वर क्षेत्रका स्थानीय तथा सो क्षेत्रमा बसोबास गर्ने युवा र महिलाका लागि विशेष प्याकेजकै रुपमा ‘उद्यमशीलता कार्यक्रम’ ल्याएको उनको भनाइ छ।

सामाजिक उत्थान अभियान नेपालले आयोजना गरेको थांका प्रशिक्षण समापनमा मेयर चालिसेले यस्तो धारणा राखेका हुन् । नगरपालिकाको आर्थिक सहयोगमा ११ दिने प्रशिक्षण भएको थियो । उनले युवालाई उद्यमशीलता र महिलालाई स्वरोजगारबाट आत्मानिर्भर बनाउने कार्यक्रम ल्याएको बताए ।  ‘चालु आर्थिक वर्षदेखि नै युवा तथा महिला उद्यमशीलता र आत्मनिर्भताको लागि कार्ययोजना अघि बढाएका छौं ।

नगरपालिकाको सबै वडाका महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याएका छौं,’ मेयर चालिसेले भने, ‘केही महिनाअघि मात्रै दुई लाख बजेटमा महिलाका लागि ड्राइभिङ तालिम दिइएको थियो । अहिले थांका प्रशिक्षण गरेका छौं।’थांका कला बौद्ध धर्मसँग मात्रै नजोडिएर नेपालको अर्थतन्त्रसँग जोडिएको उनको भनाइ छ। नेपालबाट वार्षिक करोडौंको थांका विदेश निर्यात हुन्छ । यो सामान्य महिला र मजदुरको कलाबाट निर्माण भएको हुन्छ । थांका कलाकारले उचित पारिश्रमिक पाउनुपर्नेमा मेयर चालिसले जोड दिए।

सामाजिक उत्थान अभियानका अध्यक्ष जमुना मोक्तानले सीप विकास तथा आत्मनिर्भताको लागि थांका प्रशिक्षण कार्यक्रम गरिएको बताइन्।प्रशिक्षण कार्यक्रम संयोजक समेत रहेकी मोक्तानले महिलालाई आत्मनिर्भर बनाए मात्रै घर बलियो हुने बताइन् । घर बलियो भएमात्रै देशको अर्थतन्त्र मजबुत हुने उनको भनाइ थियो । आर्थिक अभावका कारण सिर्जित विकृति, विसंगति रोक्न स्वरोजगार र महिला उद्यमशीलता अभियान थालेको उनको भनाइ थियो।

‘गरिबी निवारणमा थांका कलाले महत्वपूर्ण भूमिका खेलेको छ । थांका कला र रोजगारीका लागि कोटा हुँदैन । हजारौंले लेख्न सक्छन् । तर, व्यावसायिक थांका लेखन आजको आवश्यकता हो,’ अभियानकी अध्यक्ष मोक्तानले भनिन्, ‘थांका कलाकारले मासिक पाँच लाखभन्दा माथि आम्दानी गर्ने गरेका छन्।

यसकारण नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन व्यावसायिक थांका कलालाई राज्यले प्रवद्र्धन गुर्नपर्छ।’प्रशिक्षणमा २१ ज्ना सहभागी थिए । उनीहरुलाई मंगलबार मेयर चालिसेले प्रमाणपत्र प्रदान गरे । आयोजका अनुसार कार्साङ लामा र दावा तामाङले प्रशिक्षण दिएका थिए।

 

प्रकाशित: १९ वैशाख २०७५ ०१:०६ बुधबार

गोकर्णेश्वरका स्थानीयलाई प्याकेजमा उद्यमशीलता