अर्थ

सडक विस्तार फेरि रोकियो

बुटवल – ठेक्का लागेको झन्डै १३ महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको विस्तार फेरि रोकिएको छ। बुटवल–बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधीन ६ लेन सडक विस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।

पटक–पटक अवरुद्ध हुँदै आएको उक्त खण्डको ६ लेन विस्तार अन्तर्गत आयोजनाले बुधबारदेखि सडक क्षेत्रका घर भत्काउन सुरु गरेको थियो। तर उच्च अदालत तुलसीपुर दाङको बुटवल इजलासले सडक ऐनअनुसार जग्गा प्राप्त गरेर मात्रै विस्तारको काम अगाडि बढाउन बिहीबार परमादेश जारी गरेपछि घर भत्काउने काम रोकिएको हो।

अदालतले पश्चिमाञ्चल डिभिजन सडक र बुटवल–बेलहिया व्यापारिक मार्गको नाममा  परमादेश जारी गरेको छ। पटक–पटक म्याद दिँदा पनि स्थानीयले सडक क्षेत्रभित्रका घर भत्काउन अटेरी गरेपछि बुधबार आयोजनाले डोजर लगायर ७० वटा घर भत्काएको थियो। बिहीबार अदालतको परमादेश आएपछि काम रोकिएको छ।

बुटवलकी नारायणीदेवी प्रधानसहितका ३८ जनाले सडकको चौडाइ ७५ फुट कायम गरेर नापी गरे अनुसार घर बनाएको भन्दै ८२ फुट कायम गर्दा अनुमति नलिइएकाले सो निर्णय खारेजीको माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरुले सरकारले व्यक्तिको जग्गा लिँदा जग्गा प्राप्ति ऐन अनुसार गर्नुपर्ने मागसहित अदालतमा मुद्दा हालेका हुन्।

सोही मुद्दामा बिहीबारको इजलासले संविधानको धारा २५ ले हरेक व्यक्तिलाई सम्पत्ति सम्बन्धी हक प्रत्याभूत गरेको र सार्वजनिक हितका लागि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्दा क्षतिपूर्ति दिनुपर्ने व्यवस्था भएको, पुनः सडक सीमा तोकेमा कानुन बमोजिम जग्गा प्राप्त नगरी सडक विस्तार गर्न नमिल्ने भएकाले सडक ऐन, २०३१ को दफा ४ को कार्यविधि अनुसार जग्गा प्राप्ति गरेर मात्रै सडक विस्तार कार्य गर्नू–गराउनू भन्ने परमादेश जारी गरेको छ।

अदालतले यस्तो परमादेश पश्चिमाञ्चल डिभिजन सडक कार्यालय बुटवल र बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका नाममा जारी गरेको हो। न्यायाधीशद्वय मुनिन्द्रप्रसाद अवस्थी र लोहितचन्द्र शाहको संयुक्त इजलासले सार्वजनिक सडक ऐन, २०३१ दफा ४ को कार्यविधि अपनाई सडक सीमा तोकिएको क्षेत्रको सडक र सडक सीमामा पर्ने घरटहरा जग्गा प्राप्त गर्ने कार्य सम्पन्न गरेर मात्रै विस्तार काम अघि बढाउन आदेश गरेको हो।

परमादेशमा सडक क्षेत्रको जग्गा प्रक्रिया पु-याई पहिले आफ्नो नाममा लिन र त्यसपछि बल्ल सडक विस्तार गर्न भनिएको छ। बुटवल–बेलहिया व्यापारिक मार्ग परियोजनाअन्तर्गत निर्माणाधीन ६ लेन सडक अन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर दूरीमा सडकको ८२ फुटभित्र पर्ने तीन सय ११ भत्काउनु पर्नेछ। सडक मिचेर बनाइएका घर भत्काउन आयोजनाले पटकपटक समय दिए पनि स्थानीयले अटेरी गरेपछि सडक किनारका घरमा डोजर लगाउन सुरु गरिएको हो।

अदालतको परमादेशपछि काम रोकिएको बुटवल–बेलहिया व्यापारिक मार्ग परियोजनाका सूचना अधिकृत इन्जिनियर गोविन्द श्रेष्ठले बताए। सुरुदेखि नै बाटो विस्तारको विरोधमा उत्रिएका स्थानीयलाई तीन ठूला राजनीतिक दल एमाले, काँग्रेस र माओवादीले साथ दिँदै आएका छन्। राजनीतिक दल र व्यावसायिक संघ–संगठनको आडमा स्थानीयले विगत एक वर्षदेखि बाटो विस्तारमा अवरोध गरिरहेका छन्।

यो सडक निर्माणको ठेक्का एक वर्षअघि नै कञ्चनजंघा–बिरुवा जेभीले पाएको हो। उसले ३० महिनामा सक्ने भनिएको सडक विस्तार कार्य एक वर्ष ढिलो भइसकेको छ। गत वर्ष पनि सडक किनारका स्थानीयले घर भत्काउन अटेरी गर्दै अदालत गुहारेपछि निमार्ण रोकिएको थियो।

उच्च अदालत दाङको बुटवल इजलासले यसअघि परमादेश जारी गर्नु नपर्ने बताएपछि आयोजनाले काम सुरु गरेको थियो । आयोजनाका प्रवक्ता श्रेष्ठले सडक विभाग र सरकारी वकिल कार्यालयसँग छलफल र सल्लाह गरेर अगाडि बढ्ने तयारी भइरहेको बताए। अदालतले प्रक्रिया पु-याएर काम अगाडि बढाउनू भनेकाले बाटो विस्तारका अन्य काम नरोक्ने उनले बताए। ‘तत्कालका लागि घर भत्काउने काम मात्र रोकिएको हो त्यो पनि छिट्टै सुचारु हुनेछ,’ श्रेष्ठले भने।

अहिले बुटवल राजमार्गदेखि गोलपार्क चिढिया खोलासम्म चार लेनको सडक छ। यसमा दुई लेयरको पिच थपिने छ । दायाँबायाँ सर्भिस लेन र फुटपाथ बनाइने छ। बुटवल–बेलहिया व्यापारिक मार्ग नामकरण गरिएको बुटवल–भैरहवा–बेलहिया सडकको गुणस्तर एकै किसिमको बनाउन हालको चार लेन सडकको मुख्य लेनमा पिच थपिने र दायाँबायाँ सर्भिस लेन र फुटपाथ निर्माण गरी व्यापारिक मार्गको रुपमा स्तरोन्नति गरिने आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले जानकारी दिए। नेपाल–भारतबीचको आयात–निर्यात सहज बनाउन व्यापारिक नाका र सहरलाई ६ लेन सडकले जोड्ने सरकारी योजना अनुरुप सात वर्षअघि बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना सुरु भएको हो।

आयोजना अनुरुप पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवल र देशकै दोस्रो ठूलो नाका भैरहवा, बेलहियासम्म ६ लेन सडकले जोडिने छ। बुटवलदेखि बेलहियासम्मको २७ किलोमिटर सडकमध्ये हालसम्म ११ किलोमिटर सडक निर्माण सकिएको छ। आयोजाका प्रमुख मिश्रले स्थानीयको विरोध र अदालती प्रक्रियाका कारण बुटवल गोलपार्क खण्डको निर्माणमा ढिलाइ भएपनि बुटवल राजमार्ग चौराहादेखि बेलहियासम्मको सडक विस्तार कार्यलाई तीव्रता दिइएकाले एक वर्षभित्रै सम्पन्न हुने बताए।

आर्थिक वर्ष ०७३/७४ मा सक्ने गरी सुरु भएको ६ लेन सडकको म्याद यसअघि नै एक वर्ष थपिएको छ। थप समयमा पनि पूरा नहुने भएपछि फेरि म्याद थपको तयारी भइरहेको छ। सुरुमा तीन अर्ब ५० करोड लागत इस्टिमेट गरिएको आयोजनाको समय लम्बिँदा लागत बढेर पाँच अर्ब ८६ करोड पुगेको छ। तीन अर्ब ५० करोडमा सक्ने भनिएको सडकमा तीन अर्ब ७५ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०४:१७ आइतबार

सडक विस्तार फेरि रोकियो