अर्थ

आत्महत्या पहिलो कारण

काठमाडौं –  विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ।

वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यस क्षेत्रमा थप चुनौती देखिएको छ । स्वदेशमा रोजगारीको अवसर नपाए पछि बिदेसिएका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन्।

वैदेशिक रोजगार प्रवर्धन बोर्डकाअनुसार गत साउनदेखि सोमबारसम्ममा विभिन्न मुलुकमा ६ सय ३३ नेपाली कामदारको निधन भएको छ । यसमध्ये सबैभन्दा बढी एक सय पाँचजनाले आत्महत्या गरेका छन् । विगतमा बढीजसो कामदारको मृत्यु सडक दुर्घटना र प्राकृतिक रुपमा हुँदै आएको थियो।

कामदारको ज्यान लिनेमा दोस्रो कारण प्राकृतिक मृत्यु रहेको छ । यस अवधिमा प्राकृतिक कारणले ज्यान गुमाउने कामदारको संख्या एक सय पुगेको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा जुनसुकै कारणले मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले सात लाख रुपैयाँ राहत र बिमा कम्पनीले १५ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउँछन्।

चालु आर्थिक वर्षको सुरुमै बोर्डले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दिने क्षतिपूर्ति र बिमाको रकम पहिलेको तुलनामा करिब दोब्बर पारेको थियो ।
वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्ने क्रम बढ्नुलाई क्षतिपूर्ति रकम वृद्धिले प्रोत्साहन गरेको त होइन भन्ने प्रश्न पनि गर्न थालिएको छ।

बोर्डकी आप्रवासन स्रोत केन्द्र संयोजक पुनम थपलिया वैदेशिक रोजगारीमा जाने बेला युवाले ठूलो रकम ऋण लिने तर त्यो तिर्ने पारिश्रमिक नपाउँदा आत्महत्याका घटना बढेको हुन सक्ने ठान्छिन् । ‘आत्महत्याको बढ्दो ग्राफले वैदेशिक रोजगारी तनावपूर्ण छ भन्ने पुष्टि हुन्छ,’ थपलियाले भनिन्, ‘विदेश जानेमध्ये अधिकांश अदक्ष हुनाले पनि आत्महत्याका घटना बढिरहेका हुन्।’काम गर्न विदेश जानुअघि अधिकांशको चाहना आर्थिक आर्जन नै हुन्छ । तर, विदेशमा यहाँ बसेर बुझेजस्तो नहुने र पछिल्ला दिनमा खाडी मुलुक र मलेसियाको संकटले समेत आत्महत्यालाई प्रोत्साहन गरेको हुन सक्ने बोर्डका कर्मचारी ठान्छन्।

विदेश गएर घरपरिवारलाई सुखी बनाउने लक्ष्य बोकेका व्यक्तिले किन विदेशमा आत्महत्या गर्छन् भन्नेबारे अहिलेसम्म गहन अध्ययन गरिएको छैन । गहन अध्ययन र अनुसन्धान नगरिएका कारण वैदेशिक रोजगारीमा रहेका युवायुवतीले गर्ने आत्महत्यामा घटनाप्रति अनेक आशंका छ । कतिपयले भने वैदेशिक रोजगारीमा जानुअघि हरेक कामदारलाई दिइने अभिमुखीकरण तालिम पर्याप्त नभएको बताउँछन्।

त्यस्तै, कतिपय व्यक्ति विदेश पठाउन गलत सूचना दिएर कामदारलाई उक्साउने मेनपावर र दलाल दोषी रहेको ठान्छन् । मेनपावर र दलालले विदेशको रोजगारीबारे बढाइचढाइ गर्ने तर विदेशमा पुगेपछि त्यस्तो नपाउँदा निराश हुने गरेको ठान्छन्।

‘कतिपयले विदेशमा पैसा फल्छ जस्तो प्रचार गरेका हुन्छन्,’ थपलियाले भनिन्, ‘तर, यथार्थमा त्यस्तो हुँदैन । अनि युवायुवती डिप्रेसनमा जान्छन् । र, आत्महत्या गर्छन् ।’ सोही अवधिमा सबभन्दा बढी मलेसियामा दुई सय १६ को निधन भएको छ। रोजगारीको क्रममा धेरै कामदारको निधन हुने दोस्रो गन्तव्यमा साउदी अरेबिया छ। साउदीमा ज्यान गुमाउनेको संख्या एक सय ६० छ।

 

 

प्रकाशित: १२ वैशाख २०७५ ०३:४५ बुधबार

आत्महत्या पहिलो कारण