अर्थ

व्यवसायीसँग बयान लिँदै प्रशासन

खोटाङ – व्यावसायिक शर्त तथा कानुन पालना नगरेको भन्दै खोटाङका ३५ व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले बयान लिइरहेको छ । विभिन्न व्यवसाय सञ्चालनका लागि राज्यबाट तोकिएका शर्त तथा नियम पालना नभएको पाइएपछि प्रशासनले दिक्तेल बजारका व्यवसायीलाई बयान लिन थालेको हो।

गत फागुन २४, २५ र २७ गते गरिएको बजार अनुगमनका क्रममा मूल्यसूची नराखेको, नविकरण नगरेको, व्यवसाय दर्ता नगरेको, बिनाअनुमती व्यवसाय सञ्चालन गरेको लगायतका त्रुटी भेटिएपछि व्यवसायीलाई सोधपुछ थालिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए।

होटल तथा पसलको अनुगमनका क्रममा खरिद बिल र बिक्री बिल अपडेट नराखिएको, म्याद गुज्रेका सामान बिक्री गरेको लगायतका समस्या देखिएका छन् । खरिद गरेको बिल र बिक्री गरेको बील लगायतका कागजात उपलब्ध गराउन भने व्यवसायीलाई सकस परेको देखिएको प्रशासनले जनाएको छ । अनुगमनयता अधिकांश व्यवसायीलाई बयान लिएर कमजोरी सच्याउन भनिएको छ।

‘व्यवसायलाई दर्ता गर्नुप¥यो, नविकरण गर्नुप¥यो, कर तिरेको छ भने कागजात राख्नुप¥यो,’ प्रजिअ अधिकारीले भने, ‘खरिद बिल र बिक्री बिल नहुँदा थोकवस्तुको मूल्यमा धेरै अन्तर देखिएको छ । गैरव्यावसयिक काम किन भइरहेको छ भनेर व्यवसायीलाई सोधिएको हो ।’
 

प्रकाशित: १२ वैशाख २०७५ ०३:२६ बुधबार

व्यवसायीसँग बयान लिँदै प्रशासन