अर्थ

पर्यटनमा फड्को मार्दै लाङटाङ

लाङटाङमा घुम्न आएका पर्यटक धुन्चेको प्रहरी चेक पोस्टमा आफ्नो सामग्री जाँच गराउँदै तस्बिर सौजन्य : आरबी राई डब्लुडब्लुएफ रसुवा

रसुवा – भूकम्पका कारण क्षतिग्रस्त भएका पदमार्ग र होटलको पुनर्निर्माणसँगै लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै जान थालेको छ।

निकुञ्जभित्र पर्यटक भित्र्याउनका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना र स्थानीय तहले ‘पर्यटन प्रवर्द्धन’का कार्यक्रम सञ्चालन गरेसँगै पर्यटकको आगमन बढेको हो।

पर्यटनको आगमन बढाउनका लागि पदमार्गमा विश्रामस्थल निर्माण, रेडपाण्डा पदमार्गको निर्माण, होमस्टे सञ्चालनमा सहयोग, होटल व्यवसायीलाई तालिम, साँस्कृतिक सम्पदाको मर्मतसम्भार, ओजोनेटेड सिस्टमको फिल्टर स्थापना गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए।

‘निकुञ्ज क्षेत्रमा बस्ने स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्‍याउनका लागि हामीले पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरेका छौं,’ प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, ‘स्थानीयको माग र आवश्यकता अनुसार कार्यक्रम सञ्चालन हुने गरिएको छ ।’लाङटाङ पदमार्ग र गोसाइकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलमा रुम हिटिङ सिस्टम जडान गरिएको डब्लुडब्लुएफका आयोजना इन्चार्ज आरबी राईले बताए।

‘पर्यटकीय क्षेत्रमा सञ्चालित होटलको गुणस्तरीयता कायम गर्नका लागि आयोजनाका तर्फबाट सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘यसका लागि उपभोक्ता र स्थानीय तहसँग समन्वय गरेका छौं ।’ स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि भेषभुषा खरिदमा सहयोग पुर्‍याएको उनले बताए।

भूकम्पपछि निकुञ्जमा २६ हजार पर्यटक भित्रिए
भूकम्पपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा २६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । करिब तीन वर्षमा सार्क राष्ट्र र अन्य देशका २६ हजार दुई सय १३ पर्यटक निकुञ्ज भित्रिएका हुन्।

आव २०७२-७३ मा चार हजार दुई सय ९२, आव २०७३-७४ मा ११ हजार दुई सय र आव २०७४- ७५ को साउनदेखि गत चैत मसान्तसम्म १० हजार सात सय २१ पर्यटक आएको निकुञ्जले जनाएको छ । आव २०५७-५८ देखि आव २०६३÷६४ निकुञ्ज आउने पर्यटक घटेका थिए।

त्यसपछिका दिनमा पर्यटकको आगमन बढ्दै गएको भएपनि २०७२ वैशाख १२ गतेको भूकम्पछि पर्यटकको आगमन घटेको थियो । पर्यटकीय क्षेत्रहरु सुरक्षित भएको सन्देश प्रवाह गरिएसँगै पछिल्लो समय पर्यटक आगमन बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए।

निकुञ्जको रसुवा क्षेत्रमा पर्यटकीय क्षेत्र लाङटाङ, तामाङ सम्पदा मार्ग, धार्मिकस्थल गोसाइँकुण्ड, ऐतिहासिक क्षेत्र रसुवागढी लगायत क्षेत्रमा पर्यटक आउने गरेका छन् ।  
साढे सात करोड राजस्व संकलन
निकुञ्जमा भित्रिएका पर्यटकबाट साढे सात करोड राजस्व संकलन भएको छ । निकुञ्जले दिएको जानकारी अनुसार २०७२ साउनदेखि २०७४ चैत मसान्तसम्म निकुञ्जमा आएका पर्यटकबाट सात करोड ५६ लाख ८२  हजार ६ सय आठ रुपैयाँ राजस्व संकलन गरिएको हो।

सार्क राष्ट्रका नागरिकलाई एक हजार ६ सय ९५ र अन्य देशका नागरिकलाई तीन हजार तीन सय ९० रुपैयाँ राजस्व उठाउने गरिएको छ । रसुवा, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा फैलिएको निकुञ्जमा प्रवेश गर्नका लागि पाँचवटा प्रवेशद्वार राखिएको छ।रसुवाको धुन्चे, घोडातबेला, सिन्धुपाल्चोकको शेर्माथाङ, तिम्बु र रसुवा र नुवाकोटको सिमाना कुटुमसाङमा राखिएको प्रवेशद्वारमा तोकिएको शुल्क बुझाएपछि पर्यटक निकुञ्जमा प्रवेश गर्न पाउँछन् ।
लाङटाङमा स्मारक निर्माण
भूकम्पमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा लाङटाङमा स्मारक निर्माण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना (डब्लुडब्लुएफ)को आर्थिक सहयोगमा लाङटाङ मध्यवर्ती उपभोक्ता समितिले पाँच लाख रुपैयाँ लागतमा स्मारक निर्माण गरेका हुन्।

निर्माण गरिएको स्मारक ओएम नेपालले करिब सात लाख रुपैयाँ लागतमा हालसालै सुधार गरेको छ । भूकम्पका कारण हिउँपहिरो जाँदा दुई सय ५० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । भूकम्पमा लाङटाङका दुई सय सात र ४० जनाभन्दा बढी विदेशीले ज्यान गुमाएको सरकारी तथ्यांक छ।त्यसक्षेत्रमा ६० भन्दा बढी पर्यटक हराएको अनुमान छ । स्थानीय, स्वदेशी तथा विदेशी पर्यटक, पोर्टर तथा गाइड, स्वास्थ्यकर्मी र नेपाली सेना हिमपहिरोमा परेका थिए ।
लाङटाङ सल्लाको नर्सरी निर्माण
हिउ पहिरोले उजाड बनेको लाङटाङ क्षेत्रमा हरियाली बनाउने उद्देश्यले एक हजार जातका बिरुवा रोपिएको छ । लाङटाङमा मात्र पाइने लाङटाङ सल्लाको संरक्षणका लागि निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना र ओएम नेपालले लाङटाङमा लाङटाङ सल्लाको नर्सरी समेत स्थापना गरेका छन्।

निकुञ्जभित्र पाइने एक हजार प्रकारका वनस्पतिमध्ये २१ प्रकारका वनस्पति अन्य क्षेत्रमा नपाइने निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार नर्सरीमा २० हजार बेर्ना राखिएको छ । अन्य क्षेत्रमा ‘लाङटाङ सल्ला’ नपाइने भएकाले यसको संरक्षण गर्न सकेमा पर्यटनलाई आकर्षित गर्न सकिने आयोजनाका इन्चार्ज राईले बताए।
 

प्रकाशित: १२ वैशाख २०७५ ०३:०७ बुधबार

पर्यटनमा फड्को मार्दै लाङटाङ