अर्थ

सिरहाबाट चिनियाँ स्याउ तस्करी बढ्यो

लहानको स्टोरबाट चिनियाँ स्याउ लोड गरिएको पिकअप सीमानाका तर्फ जाँदै। तस्बिर : मिथिलेश/नागरिक

सिरहा – सिरहाबाट चिनियाँ स्याउको तस्करी बढेको छ। सुरक्षाकर्मी भन्सार कर्मचारी लगायतकै मिलेमतोमा यहाँबाट स्याउ तस्करी हुने गरेको पाइएको छ।

लहानबाट म्याजिक भ्यान, ट्याक्टर, पिकअपमा लोड गरी यहाँका विभिन्न नाकामार्फत भारततर्फ स्याउ तस्करी भइरहेको छ। चाइजिन स्याउ नेपालको बाटोबाट भारत निकासी गर्न प्रतिबन्ध लगाइएको छ। लहानबाट दैनिक जाने स्याउ सीमावर्ती बजारमा भण्डारण गरेर भारततर्फ तस्करी हुने गरेको स्थानीय बताउँछन्।

सिरहाको सीमावर्ती सहर झाझपट्टी, नरगी, कजरा, कुसण्डी बरियारपट्टी र ठाढीमा दैनिक १० किलो स्याउ पनि बिक्री खपत छैन। तर, दैनिक त्यहाँ एक सयदेखि एक हजार कार्टुनसम्म स्याउ भण्डारण हुने गरेको छ।

सिरहाको झाझपट्टी, बरियारपट्टी, कुसन्डी, नरगी, कजरा जिझौल नाकाबाट पछिल्लो केही महिनादेखि स्याउ भारत तस्करी हुँदै आएको स्थानीयको भनाइ छ। विभिन्न स्थानबाट चिनियाँ स्याउ लहानमा स्टोर गरी सीमावर्ती भूभागसम्म पु-याउने र त्यसपछि सुरक्षाकर्मीबाट सुरक्षित संकेत पाएको समयमा उक्त स्याउ भारततर्फ तस्करी गर्ने गरिएको छ। लहानमा भण्डारण गरिने चिनियाँ स्याउ पिकअप, ट्याक्टर र मिनीट्रकमा दिउँसै पटक–पटक गरी सीमा क्षेत्रको नेपाली बजारमा पु-याउने गरिएको स्थानीयको भनाइ छ।

स्याउ तस्करी गर्दा सीमामा रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीले नदेखेको जस्तो गर्ने गरेको स्थानीयको दाबी छ। लहान–बथनाहा करमनीया–नवराजपुर हुँदै दिउसै सीमाक्षेत्र झाझपट्टी पु-याइने गरिएको स्याउ सीमा पार गरी भारतीय सहर ललमनिया पु¥याइने गरेको स्थानीयले बताए। सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मी र भन्सारका कर्मचारी समेतले मिलेमतो गरेकाले चिनियाँ स्याउ तस्करीका लागि सीमानाका  खुलेको सीमावर्ती नवराजपुरका एक जेष्ठ नागरिकले बताए।

चिनियाँ स्याउ, मदिरा र पेट्रोलियम पदार्थ स्थानीयस्तरमा सुरक्षाकर्मीसित लाइन मिलाएर भारततर्फ तस्करी हुँदै आएको स्थानीयको कथन छ। बिहारमा मदिरा प्रतिबन्ध लगाइएपछि नेपालबाट मदिरा तस्करी बढेको हो।

सिरहामा सबैभन्दा बढी कजरा जिझौल, बरियारपट्टी र नरगी नाकाबाट मदिरा वारपार हुने गरेको छ। विभिन्न वस्तुको गैरकानुनी निकासी गर्नेहरुले स्थानीय सुरक्षा प्रमुख वा सीमा क्षेत्रका सुरक्षा कमान्डरसित लाइन मिलाएरै गर्ने गरेकाले सुरक्षाकर्मीको ध्यान तस्करभन्दा दैनिक उपभोग्य सामग्री ल्याउनेमाथि मात्र पर्ने गरेको छ। ‘हामी त आदेशपालक हौं,’ सीमा क्षेत्रमा कार्यरत एक प्रहरी जवानले भने, ‘माथिकै आदेशमा लाइन मिलाएर मालसामान वारपार हुँदा हामीले रोक्ने अवस्था हुँदैन।

स्थानीय प्रहरीसँग सेटिङ मिलाएर थोरै सामान वारपार गर्नेहरु अहिले ठूलै परिमाणमा स्याउ, पेट्रोलियम पदार्थलगायत सामान भिœयाउन थालेका छन्। पछिल्लो समय सिरहा नाकामा तस्करको रजाइँ छ। जिल्ला, इलाका र सीमाका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुरु भएको तस्करी अहिले फस्टाउँदो छ। ‘सेटिङ मिलेपछि तस्करका सामान स्थानीय सुरक्षाकर्मीबाट पक्राउ पर्ने डर हुँदैन,’ सीमावर्ती झाझपट्टीका एक पेट्रोल व्यवसायीले भने, ‘हामीलाई पक्राउ पर्ने डर प्रहरीसँगै हुन्छ। प्रहरीलाई मिलाएपछि टन्ठै साफ।’

पछिल्लो समय तेस्रो मुलुकको स्याउ तस्करीको प्रमुख नाका सिरहाका सीमावर्ती बजार बन्नुमा सहज सुरक्षा सेटिङलाई प्रमुख ठान्छन् यहाँका व्यापारी। नेपाली सीमाक्षेत्रबाट स्याउ भारततर्फ र भारतीय सीमाबाट प्रतिबन्धित कुखुरा, साना साइजका ग्यास सिलिन्डर, भारतीय कम्पनीका डिटिएच नेपाल भित्रिने गरेको छ। ती सबै नाकामा सुरक्षाकर्मी तैनाथ छन्।

झाझपट्टीका जेष्ठ नागरिक देवनारायणले भने, ‘नजारा (दृश्य) देख्दा लाग्छ यहाँ तस्करकै राज चलेको छ।’ साँझबाट बिहानसम्म नेपालका सामान भारततिर र भारततिरका नेपाल पु¥याउनेको भीड हुन्छ। प्लेटमा नम्बर नलेखिएको ट्याक्टरको ट्रलीमा लोड भएको स्याउ, गिट्टी, बालुवा, पेट्रोलले भरिएको ड्रम दशगजामा राखिन्छ। ‘दशगजामा भारतीय क्षेत्रबाट इन्जन मात्र भएको ट्याक्टर आएर सामानले भरिएको ट्रलीमा जोडिन्छ र उतैतिर हुँइकिन्छ,’ उनले भने, ‘दृश्य देख्दा लाग्छ पैसाको बलमा जे पनि सम्भव छ।’ उनका अनुसार यस सीमा नाकाबाट हरेक सामान (प्रतिबन्धित÷गैरप्रतिबन्धित) वारपार हुन्छ। लहानबाट चिनियाँ स्याउ, गिट्टी, बालुवा भोटियाटोल–सितापुर–नरगी हुँदै कुसन्डी र कजारा जिझौल नाका पुग्छ । यहाँबाट भारतीय सहर तोरियाही र ललमनिया पुग्छ।

सिरहाको ठाढी नाकामा भन्सार कर्मचारी, सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट र प्रहरी चौकी छ । झाझपट्टी नाकामा भन्सार कर्मचारी छैनन्। यहाँ सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट र प्रहरी चौकी छ। कजारा जिझौल नाकामा प्रहरी चौकी छ। कुसन्डी नाकामा पनि प्रहरी चौकी छ। सन् १९५० को नेपाल–भारत वाणिज्य सन्धिमा तेस्रो देशबाट आयातित कुनै पनि वस्तु तथा सामान आफ्नै मुलुकमा खपत गर्नुपर्ने उल्लेख छ। नेपालका लागि भित्रिने तेस्रो मुलुकको चिनियाँ स्याउ भारत लजानु अवैध ठहरिन्छ।

प्रकाशित: १० वैशाख २०७५ ०६:०४ सोमबार

सिरहाबाट चिनियाँ स्याउ तस्करी बढ्यो