चितवन – चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङ गाउँमा जापनी संस्था हिकारी सोङले सोलार बत्ती वितरण गरेको छ। बिजुली नभएको उक्त गाउँपालिकाको वडा नं.६ मा हिकारीले उपहारको रुपमा ८० परिवारलाई सोलार बत्ती दिएको हो।
विकट ठाउँका आठ सय परिवारमध्ये दुई सयले मात्रै बिजुली बालेका छन्। हिकारी समूहले दुर्गम क्षेत्रका सीमान्तकृत समुदायलाई गीत–संगीतको माध्यमबाट संकलन भएको रकमले सोलार बत्ती वितरण गरेको जापानी नागरिक आओइ सानुले बताइन्।
राष्ट्रिय आधारभूत विद्यालय आधामारामा आयोजित कार्यक्रममा जापानी गायिका तथा समूह संयोजक सानुले गीत गाएर संकलन भएको रकमबाट चेपाङ समुदायलाई सोलार सहयोग गर्न पाउनुलाई शौभाग्य ठानेको बताइन्। ‘यस अभियानमा जापानी साथिभाइ र साइनो नेपाल संस्थाले सहयोग गरेको छ,’ उनले भनिन्।
कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भूपेन्द्र चेपाङले स्थानीयको आर्थिक सुधारका लागि सडक सञ्जाल विस्तारलाई पहिलो प्राथमिकता दिएको बताए। चितवन सौराहा, भरतपुर, टाँडी हेरेर धेरैले समृद्ध जिल्ला ठाने पनि कर्णालीकै जीवनशैली इच्छाकामना गाउँपालिकामा रहेको उनको भनाइ थियो।
‘मेरो वडा वास्तवमै दुर्गम छ। उब्जनी गर्न खेतीयोग्य जमिन छैन। धेरैजसोले खोरिया र भीरमा खेती गर्छन्। उब्जनीले पाँच महिना पनि पुग्दैन,’ वडाअध्यक्ष चेपाङले भने। हिकारीले आगामी दिनमा पनि सहयोग गर्ने अपेक्षा राखेको उनले सुनाए।
घरहरु टाढा–टाढा भएका कारण विद्युतीकरणमा समस्या भएको उनले सुनाए। ‘तैपनि केही वर्षभित्रै बत्ती बाल्ने योजना छ,’ चेपाङले भने।
भीरभीरमा घर छ। एकीकृत बस्तीका लागि प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक अनुरोध गरे पनि नीतिका कारण समस्या भएको चेपाङको भनाइ छ। ‘एकीकृत बस्तीका लागि जग्गा छैन। जग्गा नभएपछि चेपाङ बस्ती भीर र पहरामुनि बस्न बाध्य छ,’ उनले भने, ‘यस विषयमा गाउँपालिका हुँदै प्रदेशसभाले नयाँ योजना बनाउन जरुरी छ।’
वडाले अहिले व्यावसायिक खेती, सीप, सुन्तला खेती र बाख्रापालनलाई प्राथमिकतासाथ अघि बढाएको छ।
उक्त वडामा गुरुङ, चेपाङ र घर्ती समुदायको बसोबास छ। सबै समुदायको आर्थिक अवस्था दयनीय छ। मजदुरी नै पहिलो पेसा भएको चेपाङ जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले बताए। पानीको समस्या उस्तै भएको उनले कार्यक्रममा जानकारी दिए। सरकारले सञ्चालन गरेको जनता अवासले समेत चेपाङ समुदायमा आस जगाउन नसकेको उनले बताए।
आधारभूत विद्यालयका प्रधानअध्यापक सन्तोष घिमिरेले वडा नं. ६ मा भौगोलिक विकटता कारण पूर्वाधार विकास हुन नसक्दा दुर्गम गाउँ जस्तै लाग्ने बताए। ‘वडाका सबै पाखो र सुक्खा छ। आर्थिक स्रोत केही छैन। यसका लागि राज्यको दृष्टि पुग्नु पर्छ,’ घिमिरेले भने, ‘यहाँका विद्यार्थीलाई विद्यालय आउन करिब डेढ घन्टा लाग्छ। उनीहरुले बत्ती नभएकै कारण गृहकार्य समेत गर्न पाउँदैनन्। चितवनमै यस्तो बिडम्बना छ।’
वडा सदस्य पार्वती गुरुङले चेपाङ समुदायको आर्थिक सुधारका लागि घरायसी तथा घरेलु उद्योगमा जोड दिने बताइन्।
प्रकाशित: १० वैशाख २०७५ ०५:२० सोमबार