अर्थ

‘जाउँ है पोखरा’, जसले पोखरालाई आन्तरिक पाहुना चिनायो

<br>

सोमबार जनकपुरमा आयोजित जाउँ है पोखरा अभियान। तस्बिरः नागरिक

दशक लामो द्वन्द्वका बेला विदेशी पाहुना अभाव खड्केपछि पोखराको पर्यटन क्षेत्रले बल्ल आन्तरिक पाहुनाको महत्व बुझ्‌न थालेको थियो। आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्र चलायमान हुन सक्ने सम्भावना देखेपछि पोखराले आन्तरिक पाहुनालाई पोखरा घुम्नेगरि बोलाउन पनि थालेको थियो।  

त्यसैको निरन्तरता स्वरुप योपटक पनि पोखराले आन्तरिक पाहुनालाई पोखरा घुम्न निम्तो दिँदै विभिन्न सहरमा प्रर्वद्धनात्मक अभियान थालेको छ। होटल संघ पोखराले झन्डै अढाइदशक अघि थालेको ‘जाउँ है पोखरा’ अभियान अहिले नेपालको पूर्वी क्षेत्रमा चलाइएको छ। पूर्वी नेपालका आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउने मुख्य उद्देश्य यो अभियानको रहेको संघको भनाई छ। वर्षेनीजसो भईरहेको यो अभियानले पोखरामा आन्तरिक पाहुनाको आगमन बढाउन सघाएको होटल संघको ठहर पनि छ।  

पूर्वी नेपालमा विभिन्न सहरमा पाँचदिनसम्म (फागुन १८–२२) यो अभियान संचालन गरिने व्यावसायीले बताएका छन्। पूर्वी नेपालका जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडामा अभियान संचालन गरिने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। उनका अनुसार देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपनि निरन्तरता दिइएको हो।

‘आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिएका हौं,’ अध्यक्ष सुवेदीले भने, ‘द्वन्द्वकालमा सुरु भएको अभियानले आन्तरिक पाहुनाको महत्वबारे पर्यटन क्षेत्रलाई ब्यूतायो, पोखरामा आन्तरिक पाहुनाको आगमन पनि बढायो।’

व्यावसायीको अनुमानमा पोखराको पर्यटनको करिब ४० प्रतिशत हिस्सा आन्तरिकले ओगटेको छ आन्तरिक पाहुनाको त्यो हिस्सा कुनै बेला त ८० प्रतिशत हाराहारी पनि पुग्छ। दसै–तिहार र अंग्रेजी नयाँवर्ष जस्ता गतिविधिमा यहाँ आन्तरिक पाहुनाको हिस्सा निकै नै माथि उक्लिने व्यावसायीले बताए।  

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रेका अनुसार सन् २००१ सम्म पोखरा क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा बढीमा पाँचप्रतिशत मात्र थियो। ‘मुलुक द्वन्द्वमा थियो, त्यो बेला विदेशी पाहुना निकै कम थिए, आन्तरिक भन्ने नै थिएनन्। पोखरा आएका स्वदेशी पनि लेकसाइडका होटलमा बस्दैनथे,’ उनले भने, ‘आफन्तकहाँ र पृथ्वीचोकका होटलमा पाहुनाको बास हुन्थ्यो। अहिलेजस्तो घुम्ने संस्कार पनि थिएन। व्यवसायी पनि लेकसाइड झरेका स्वदेशीलाई पाहुना मान्दैनथे। तर, जब द्वन्द्वका कारण विदेशी अभाव भयो, त्यसपछि बल्ल आन्तरिकले महत्व पाउन थालेका हुन।’  

उनका अनुसार द्वन्द्वले निम्त्याएको विदेशीको अभाव स्वदेशीको भरमा मात्र पुरा हुने भएपछि व्यवसायीले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न सन् २००१ देखि ‘जाउँ है पोखरा’ अभियान थालेका थिए। होटल संघको अगुवाइमा मुलुकका विभिन्न भागमा पुगेर आन्तरिक पाहुनालाई पोखरा घुम्न आउ भनेर अभियान मार्फत बोलाउन थालिएको थियो। त्यही गतिविधिपछि आन्तरिक पाहुनाको आगमन बढ्न थालेको उनले बताए।  

‘आन्तरिक पाहुना चिनाउनमा द्वन्द्वको भूमिका छ। द्वन्द्व नहूँदो हो त आन्तरिक पाहुनाले महत्व पाउन अझै ढिला भइसक्थ्यो,’ गैह्रेले भने, ‘अभियान थाल्दा पोखरामा आन्तरिक पाहुनाको अकुपेन्सी बढीमा ५ प्रतिशत थियो, कोरोना संक्रमण अघिसम्म त्यो हिस्सा ४० प्रतिशत हाराहारीमा उक्लेको थियो।’ 

विदेशीलाइ मात्र पाहुना देख्ने पोखराले द्वन्द्वको त्यो समयमा होटल खालि भएपछि बल्ल स्वदेशी पाहुनाको महत्व बुझेको थियो। त्यसपछि आन्तरिक पाहुना भित्र्याउने गरि अभियान थालेको उनले बताए।  

उनका अनुसार कोरोना भाइरस संक्रमण अघि आन्तरिकको हिस्सा ४० प्रतिशत पुगेको भएपनि कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएपछि पाहुना आगमनमा केही प्रभाव पार्न थालेको थियो। ‘कोभिड अघि ४० प्रतिशतको हिस्सा कोभिडपछि बढ्न सकेको छैन। बरु ३५ प्रतिशतमा खस्केका होला,’ ‘पोखरा भिलेज रिसोर्टका संचालक समेत रहेका गैह्रेले भने, ‘अब भने पुरानै आकारमा आन्तरिक पाहुनाको आगमन हिस्सा उकास्ने प्रयास भईरहेको छ, बरु ४० प्रतिशतको हिस्सा बढाउनेतर्फ ध्यान दिनुपर्नेछ।’ अभियानका क्रममा व्यावसायीले स्थानीय व्यावसायीसँग भेटघाट गर्ने र त्यस क्षेत्रका आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउने उनले बताए।  

२०८० चैत ४ गते पोखरा औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा भएको र पोखरा महानगरपालिकाले समेत फागुन ३ गते पोखरा भ्रमण बर्ष २०२५ घोषणा गरेको थियो। उक्त कार्यक्रमले लिएको सन् २०२५ मा आन्तरिक र विदेशीगरि २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य पूरा गर्न जाउँ है पोखरा अभियान सहयोगी बन्ने पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताए।

योपटकको अभियानको थालनी जनकपुरबाट सुरु भएको छ। सोमबार जनकपुरमा  स्थानीय व्यावसायीसँग पोखरेली व्यवावसायीले भेटघाट गरेका छन। भेटघाटका क्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य एबं पर्यटन मन्त्री सकिल अलि मियाँले पोखरा–जनकपुरबीच नियमित हवाई सेवा संचालनमा जोड दिए। मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको पनि उनले गराए। व्यवसायीहरु एकाअपसमा मिलेर पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने उनले सुझाव राखे।  

होटल संघका केन्द्रिय सदस्य विजयकुमार झुनझुनवालाले प्रचारप्रसारमा ध्यान नदिँदा धार्मिक पर्यटनका गतिविधि ओझेलमा परेको बताए। कार्यक्रममा संघले ‘जाउँ है पोखरा’ का विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको छ। घुमघाम, बसाई र खानपान सम्बन्धि यी प्याकेज पाँचहजार रुपयाँदेखि २६ हजार रुपैयाँसम्मका रहेको संघले बताएको छ। पोखराको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँ हाराहारीको लगानी रहेको व्यावसायीको भनाई छ। यस क्षेत्रका एकहजार दुई सय होटलमा ४० हजार बेड रहेको र १५ हजार जनाले रोजगारी पाएको संघको आँकलन छ।

प्रकाशित: १९ फाल्गुन २०८१ १७:४४ सोमबार

‘जाउँ है पोखरा अभियान’ आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान