अर्थ

अवैध आयातले धागो उद्योग समस्यामा

नागरिक– नेपाल धागोे उत्पादक संघले अवैध धागो आयातले स्वदेशी उद्योग धराशयी भएको जनाएको छ । संघले चोरी पैठारीको धागोका कारण नेपाली उद्योग संकटमा परेको जनाउँदै अवैध आयात निरुत्साहित गर्न माग गरेको छ।

अवैध आयात रोक्न भन्सार बिन्दुमा कडाइ गरी न्यून बिजकीकरणलाई निरुत्साहित गर्नुपर्ने संघको सुझाव छ।संघले धागोको बढ्दो आयातलाई निरुत्साहित गर्न र नेपाली उद्योगलाई प्रोत्साहन गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

संघकै पहलमा वाणिज्य मन्त्रालयले धागो निकासीबारे टर्कीसँग छलफल गर्न वार्ता टोली गठन गरेको संघको विज्ञप्तिमा उल्लेख छ । टर्की सरकारले ‘सर्कम भेन्सन’ प्रक्रिया गर्नुपर्ने भनी नेपालबाट धागो निकासीमा रोक लगाएपछि वार्ता अघि बढाइएको हो।नेपाली धागो उद्योगमा १५ अर्ब रुपैयाँ लगानी भएको र स्वदेशी धागो उद्योगले करिब १० हजारलाई रोजगारी दिएको संघको भनाइ छ ।

 

प्रकाशित: ५ वैशाख २०७५ ००:५० बुधबार

अवैध आयातले धागो उद्योग समस्यामा