अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

काठमाडौं- मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरे। 

नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले मंगलबार मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप (एयर ट्राफिक) व्यवस्थापन गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको बताए। 

उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापनमा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्काल असम्भव रहेको भन्दै अहिले २१ घण्टा चलाई आन्तरिक विमानस्थलमा थप गन्तव्यमा रात्रि उडानको व्यवस्था मिलाइने उल्लेख गरे। अहिले कैलालीको धनगढीमा शुरु गरिएको रात्रि उडान छिट्टै झापाको भद्रपुरमा पनि शुरु गरिने उनको भनाइ थियो। रासस

प्रकाशित: ४ वैशाख २०७५ १६:३९ मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने