अर्थ

उदयपुरको अर्धवार्षिक राजश्व झण्डै साढे २३ करोड

करदाता सेवा कार्यालय गाईघाट।

सदरमुकामस्थित करदाता सेवा कार्यालय गाईघाटले चालु आर्थिक वर्षको अर्धवार्षिक राजश्व झण्डै साढे २३ करोड उठाएको छ। गत साउनदेखि पुस मसान्तसम्ममा कार्यालयले २३ करोड ३२ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ।

कार्यालयले अर्धवार्षिक लक्ष्यमा भने उत्साहजनक सफलता हासिल गर्न सकेको छैन। यो ६ महिने अवधिमा ३५ करोड ९८ लाख ३३ हजार उठाउने लक्ष्य लिएको कार्यालयले लक्ष्यको ६४.८१ प्रतिशत मात्र सफलता पाएको सूचना अधिकारी रेक मगरले बताए। उनका अनुसार आर्थिक मन्दी तथा व्यापार व्यवसायले गति लिन नसकेका कारण राजश्व सङ्कलन पनि उत्साहजनक हुन सकेको छैन।

सूचना अधिकारी मगरका अनुसार कार्यालयले विभिन्न ५ वटा शीर्षकमा राजश्व सङ्कलन गर्ने गरेको छ। जस अनुसार अङ्कका हिसावले सबभन्दा ठूलो रकम आयकरवापत उठेको छ। यो ६ महिने अवधिमा कार्यालयले आयकरवापत १२ करोड ५० लाख २ हजार उठाउन सफल भएको छ। ६५.१५ प्रतिशत प्रगति गरेको कार्यालयले यो अवधिमा १९ करोड २९ लाख ४३ हजार उठाउने लक्ष्य लिएको थियो।

मूल्य अभिवृद्धि कर (भ्याट)वापत उठेको रकमको हिस्साले दोस्रो स्थान ओगटेको छ। सो शीर्षकमा ९ करोड १० लाख १४ हजार रुपैयाँ उठेको मगरले बताए। ६ महिनाभित्र १४ करोड ९३ लाख ६५ हजार उठाउने लक्ष्य लिएको कार्यालयले यो प्रगति ६०.९३ प्रतिशत मात्र हासिल भएको जनाएको छ।

तेस्रो ठूलो राजश्व उठ्तीको स्थान अन्तः शुल्कले लिएको छ। अन्तः शुल्कवापत कार्यालयले १ करोड १६ लाख ५९ हजार रुपैयाँ उठाएको छ। प्रतिशतका हिसाबले भने यो उत्साहजनक प्रगति हो। जो १३२.६४ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ। जब कि कार्यालयले यो अवधिमा कार्यालयले अन्तः शुल्कवापत ८७ लाख ८८ हजार उठाउने लक्ष्य लिएको थियो।

तेस्रो ठूलो राजश्व अङ्क कार्यालयलाई ब्याज करवापत हात परेको छ। सो शीर्षकमा ३३ लाख ५८ हजार रुपैयाँ उठेको छ। १०४.८४ प्रतिशत प्रगति भएको जनाउने कार्यालयले यो शीर्षकमा ३२ करोड ३ हजार उठाउने लक्ष्य लिएको थियो। घर बहाल करवापत ५५ लाख ३४ हजार उठाउने लक्ष्य लिएको कार्यालयले यो अवधिमा सबैभन्दा कम प्रगति गर्दै १४ करोड ९२ लाख मात्र उठाउन सफल भएको छ। यो हिस्सा लक्ष्यको २६.९६ प्रतिशत मात्र हो।

कार्यालय प्रमुख अशोक कुशवाहाका अनुसार राजश्व सङ्कलनको अवस्था प्रतिशतका हिसाबले सबैभन्दा धेरै १३२.६७ र सबैभन्दा कम बहाल कर २६.९६ प्रतिशत उठेको छ। यो प्रगति उत्साहजनक नभए पनि निराश मान्नुपर्ने खालको भने नभएको हाकिम कुशवाहाले बताए।

‘अर्धवार्षिक प्रगति उत्ति उत्साहजनक त छैन, तर निराश भईहाल्नुपर्ने अवस्था पनि छैन’ हाकिम कुशवाहाले भने, ‘सबभन्दा धेरै राजश्व अर्धवार्षिक अवधिमा पुस महिना र वर्षको अन्त्यतिर वैशाखदेखि असारसम्म हो।’ असारसम्ममा लक्ष्य चुम्न सकिने अपेक्षा नटरेको हुनाले निराश भईहाल्नुपर्ने स्थिति नदेखिएको उनले बताए।

प्रकाशित: ११ माघ २०८१ १८:१५ शुक्रबार

#Udayapur #Rajaswo #Nagariknewws