अर्थ

'नगरकोट इज मोर देन सनराइज'

भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रको मुख्य पर्यटकीय आकर्षण केन्द्र हो नगरकोट। तर चाँगुनारायण नगरपालिका क्षेत्रभरिमा नगकोटमात्रै नभई यस्ता दर्जनौं सम्भावित पर्यटकीय गन्तव्य स्थलहरू रहेको जनाइएको छ। यही पर्यटकीय गन्तव्य स्थलहरूका बारेमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अवगत गराउन नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना गर्न लागिएको छ।

महोत्सवको आयोजना जिल्लाको चाँगुनारायण नगरपालिकाले गर्न लागेको हो। यसैको तयारी स्वरूप शुक्रबार नगरकोट भ्रमण वर्ष २०८२ को तयारी सम्बन्धी मुल समारोह समितिको पहिलो बैठक बस्यो। बैठकमा नगरपालिकाका मेयर, उपमेयर, चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ वडासम्मकै वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरू, बागमती प्रदेशका सांसद, जिल्लास्थित मुख्यमुख्य राजनीतिक दलका अध्यक्ष तथा सभापतिसहित व्यक्तित्वहरू गरी सयौंको उपस्थिति रहेको थियो।

बैठकको सभापतित्व गर्दै नगर प्रमुख जीवन खत्रीले भ्रमण वर्ष नगरपालिकाको मात्रै नभई सिंगो नगरवासीहरूको रहेको बताए। यस कारण भ्रमण वर्षलाई सफल बनाउन घरघरबाट परिवारका सदस्यहरू सबैजना अग्रसर हुन उनले आग्रह गरे। उनले नगरकोट इज नो मोर देन सनराइज (नगरकोट भनेको सूर्याेदयका लागि मात्रै होइन) अरू पनि धेरै पर्यटकीय गन्तव्य स्थलहरू छन् भन्ने सन्देश विश्वभरिमै दिन भ्रमण वर्ष मनाउन लागिएको जनाए।

उनका अनुसार भ्रमण वर्ष तयारी मूल समारोह समितिमा जिल्लाबाट प्रतिनिधित्व गर्ने दुवै जना संघीय सांसदहरू, जिल्लाबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सांसद्हरू, जिल्लास्थित मुख्यमुख्य राजनीतिक नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरूका अध्यक्ष तथा सभापतिहरू सल्लाहकार रहेका छन्।

बैठकमा आयोजक चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले ६ पृष्ठ लामो नगरकोट भ्रमण वर्ष २०८२ को कार्यक्रम कार्यान्वय कार्ययोजना २०८१ पढेर सुनाएका थिए। त्यस अवसरमा उनले नगरपालिका क्षेत्रभित्र नगरकोट मात्रै नभई नगरकोट जस्ता एक दर्जनभन्दा बढी सम्भावित पर्यटकीय गन्तव्य स्थलहरू नगरपालिका क्षेत्रभित्र रहेको जानकारी गराए। उनले नगरपालिका क्षेत्रभित्र त्रिसुलडाँडा, मुहानपोखरी, शान्तिडाँडा, ज्योतिलिंगेश्वर महादेव, वाल्मिकेश्वर, भीमेश्वर, कल्पेश्वर महादेव, मच्छेनारायण, सरस्वतीस्थान, ब्रम्हायणी, फैढोका गणेश, रानी झुलालगनयतका दर्जनौं सम्भावित पर्यटकीय गन्तव्य स्थलहरू नाम सुनाएका थिए।

बैठकमा जनाइएअनुसार पहिलो चरणमा माघ महिनाभरि योजनाहरू बनाउने नक्सांकन गर्ने (कुनकुन वडाहरूमा केके गर्ने?), फागुनमा प्रचारप्रसार तथा चैतमा छुटेका योजनाहरू राखेर वैशाख १ भ्रमण वर्ष औपचारिक रूपमा सुरु हुनेछ। भ्रमण वर्षको अवधिमा वर्षभरि विभिन्न ठाउँहरूमा विभिन्न गतिविधिहरू हुनेछन्। यसका लागि वडावडामा वडास्तरीय नगरकोट भ्रमण वर्ष तयारी समितिहरू गठन भइरहेका छन्।

बैठकमा भक्तपुर क्षेत्र नं २ का संघीय सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा संघीय सांसद सन्तोष परियार, भक्तपुरबाट बागमती प्रदेश सभामा सदस्य रहेकाहरू नेपाली कांग्रेसका सुरेश श्रेष्ठ, नेकपा (एकीकृत माओवादी) का देवेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की गीता काफ्ले केसीलगायत जिल्लाका मुख्य राजनीतिक पार्टीका पार्टी सभापतिहरू तथा चाँगुनारायण नगरपालिकाका पार्टीका नगरसभापतिहरू तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।  

चाँगुनारायण नगरपालिका क्षेत्रका मुख्य पर्यटकीय गन्तव्य स्थलहरू:

१ त्रिसुलडाँडा
२ मुहानपोखरी
३ शान्तिडाँडा
४ ज्योतिलिंगेश्वर महादेव
५ वाल्मिकेश्वर
६ भीमेश्वर
७ कल्पेश्वर महादेव
८ मच्छेनारायण
९ सरस्वतीस्थान
१० ब्रम्हायणी
११ फैढोका गणेश
१२ रानी झुला 

प्रकाशित: ११ माघ २०८१ १७:५६ शुक्रबार

#nagarkot #tourist