अर्थ

एआईमा पाँच सय अर्ब डलर लगानीको घोषणा

अबको संसार आर्टिफिसियल इन्टेलिजेन्स हुँदै जेनरेटिभ एआईको हो। यसलाई अहिले नै काम अघि नबढाए, यसको फाइदा चीनले उठाउने सम्भावनालाई विचार गर्दै ओपन एआई, ओराकल र सफ्ट बैंक मिलेर एउटा नयाँ कम्पनी स्थापना गरेका छन्। स्टारगेटले आउँदा दिनमा ५०० अर्ब डलरसम्म खर्च गर्नेछन्। यस्तो बृहत् आयोजनाले अमेरिकाले कम्तीमा एक लाख रोजगार सिर्जना गर्ने बताइएको छ। सुरुमा टेक्सस राज्यमा एआईका लागि चाहिने संरचनाहरू निर्माण भइरहेको सिएनएनले जनाएको छ।

स्टारगेटमा जोडिएका नामले यो परियोजना कति ठूलो हुनेछ भन्ने आकलन गर्न अहिले नै नसकिने भएको छ। साम अल्टम्यान अहिलेको चर्चित एआई कम्पनी ओपन एआईका प्रमुख कार्यकारी हुन्। उता सफ्टबैंकका प्रमुख कार्यकारी मसायोसी सन जापानका लगानीकर्ता हुन्।

भनिन्छ, उनीसँग संसारभरका पैसा जम्मा गरिएको छ। सारा संसारका अर्बपतिहरू उनलाई लगानी गरिदेऊ भनेर पैसा जिम्मा लगाउने गर्छन्। त्यस्तै ओराकल कम्पनीका अध्यक्ष ल्यारी एलिसन लामो समयदेखि अमेरिकाका अर्बपतिको सूचीमा शीर्ष दशमा पर्दै आएका व्यक्तिहुन्। उनको सन माइक्रो सिस्टम डेटा प्रोटेक्सन तथा भण्डारणका लागि प्रख्यात कम्पनी हो।

यसरी यी तीन कम्पनी स्थापित हुनु र मंगलबार दिउँसो राष्ट्रपति डोनाल्ड ट्रम्पमार्फत कम्पनीको घोषणा गराउनुलाई प्रविधिजगत्ले चासोपूर्वक हेरेको छ। ट्रम्पले सो अवसरमा यो एआई पूर्वाधार योजनालाई इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार परियोजनाका रूपमा व्याख्या गरेका थिए।

स्टारगेटले एआईको अर्को पुस्तालाई शक्ति सञ्चय गर्न भौतिक र कृत्रिम दुबै प्रकारको पूर्वाधार निर्माण गर्ने घोषणा कार्यक्रममा ट्रम्पले बताएका छन्।

यस्ता व्यापक पूर्वाधारका बारेमा भने केही विज्ञले विरोध गरिरहेका छन्। यस्ता डेटा केन्द्र सञ्चालन गर्न कम्प्युटरका चिप्सहरू, बिजुलीको व्यापक आवश्यकता र तिनलाई चिस्याउन चाहिने पानीको स्रोत निकै ठूलो चाहिन्छ। तिनको आवश्यकताले अन्य सर्वसाधारणको लागि आवश्यक पर्ने बिजुली र पानीको भाग खोसिनेतर्फ विज्ञहरूले सचेत गराएका छन्।

जसरी पहिले इन्टरनेट सबै कुराको माध्यम थियो र त्यो दौडमा अमेरिकाले सबैलाई पछार्न सफल भयो, उसैगरी अबको संसारको माध्यम एआई हुनेछ। एआईलाई माध्यम बनाएर गरिने जुनसुकै कामले बजार निर्माण गर्ने देखिन्छ। त्यसैले एआई पूर्वाधारमा ध्यान दिन जरुरी रहेको एआई विज्ञहरूको धारणा छ।

अहिले चीनले सबैजसो विधामा अमेरिकालाई टक्कर दिइरहेको छ। एआई निर्माणमा पनि ऊ कसैगरी कम छैन तर जसरी कम्प्युटर अपरेटिङ सिस्टममा अमेरिकाको दबदबा थियो, उसैगरी एआईमाथिको दबदबा कायम राख्न यो कदम आवश्यक देखिने यसका जानकारहरू बताउँछन्।

एआईमार्फत नै अबको अर्थतन्त्रदेखि सैन्य क्षमतासम्म प्रभाव पार्ने अपेक्षा  गरिएको छ। यसअघि नै ओपन एआईका अल्टम्यानले अमेरिकी प्रशासनसँग एआई पूर्वाधारको लगानीमा ध्यान दिन सरकारलाई आग्रह गरिरहेका थिए। उनले फक्स टेलिभिजनसँग कुरा गर्दै गत महिना भनेका थिए, ‘अमेरिकाको उन्नतिका लागि एआई पूर्वाधार अत्यन्त महत्त्वपूर्ण छ। एआई अन्य सफ्टवेयरभन्दा फरक कुरा हो किनभने यसलाई विशाल पूर्वाधार, शक्ति, कम्प्युटर चिप्सहरू र डेटा केन्द्र चाहिन्छ। संसारकै राम्रो एआई पूर्वाधार बनाउन सक्षम हुन सके मात्र प्रविधि र सिपमा नेतृत्त्व गर्न सकिन्छ।’

पछिल्ला केही दशक यता चीनले हार्डवेयरमा ठूलो प्रगति गरिसकेको छ। स्वयं अमेरिकी कम्पनीले पनि हुवावे जस्ता चिनियाँ कम्पनीका हार्डवेयर उपयोग गर्छन्। तिनको प्रयोग रोक्न र नयाँउपकरणहरू बनाउन ठूलो लगानी आवश्यक पर्छ। त्यो लगानीले रोजगार र आर्थिक अवसरहरू सिर्जना गर्ने भएकाले सरकारले नै गम्भीर भएर काम गर्नुपर्ने अल्टम्यानले बताएका थिए। संसारभर एआई परियोजनाको आकर्षण यति धेरै छ कि त्यसमा लगानी गर्न संसारभरिका अर्बपतिहरू पैसा लिएर बसेका छन्। हाल यो कोषमा एक सय ७५ अर्ब डलर रहेको अनुमान छ।

अमेरिकाले ती कोषलाई आकर्षित गर्नुपर्ने अन्यथा चीनले सुरु गरेका परियोजनाहरूमा जाने र जतिजति लगानी चीन जान्छ, उतिउति संसारले चिनियाँ कम्युनिस्ट पार्टीलाई सशक्त र संसारभर प्रभावशाली बनाउँदै लैजाने अनुमान विश्लेषकहरूले गर्दै आइरहेका थिए।

स्टारगेट परियोजनाले अमेरिकालाई पुनः औद्योगिकीकरण गर्ने र यसले सहयोगी देशहरूको राष्ट्रिय सुरक्षालाई संरक्षण गर्ने मात्र नभएर रणनीतिक क्षमतासमेत वृद्धि गर्ने जानकारी लगानीको घोषणा भएपछि ओराकलले दिएको छ।

स्टारगेट सञ्चालनको प्राविधिक जिम्मा ओपन एआईले लिने छ। सफ्ट बैंकले आवश्यक पर्ने रकम उठाउने र खर्च गर्ने जिम्मेवारी लिनेछ। यसलाई आवश्यक पर्ने अन्य रणनीतिक आवश्यकताको साझेदारीका लागि एमजिएक्स पनि भित्रिएको छ। एमजिएक्स चाहिँ युनाइटेड अरब इमिरेट्सको लगानी गर्ने संस्था हो।

स्टारगेट कम्पनीको अध्यक्ष सफ्ट बैंकका अध्यक्ष सन रहने बताइएको छ। अमेरिकी राष्ट्रपतिको उपस्थितिमा जसै यो कम्पनीको घोषणा भयो, केहीले यसको सफलता माथि पनि प्रश्न उठाउन थालेका छन्। सनको सफलताको ट्रयाक रेकर्ड मिश्रित छ।

त्यति मात्र होइन, सन् २०१७मा फक्सकन कम्पनीसँग मिलेर ट्रम्पले विस्कन्सिनमा १० अर्ब डलरको विशाल इलेक्ट्रोनिक्स कारखाना बनाउने भनेर घोषणा गरेका थिए। यस कारखानाले कम्तीमा १३ हजार रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको थियो तर फक्सकनले आफूले उत्पादन गर्ने अधिकांश योजना छाड्यो। अन्ततः सन् २०२१ मा आएर सो कम्पनीले ६७ करोड २० लाख डलर मात्र लगानी गर्ने घोषणा गरेको थियो । यसले १५ सयभन्दा कम रोजगारी सिर्जना गर्ने बताइएको छ।

अघिल्ला राष्ट्रपति जो बाइडेनले एआईको विकासलाई नियमन गर्नुपर्ने भनी आफ्ना धारणा राखेका थिए। सोमबार ट्रम्पले एआईका जोखिम र अनुगमन तथा नियमन जस्ता प्रावधानलाई  हटाइदिएका छन्। यतिबेला संसारको आँखा यो परियोजना कत्तिको सफल हुन्छ र यसले चीनको बढ्दो कृत्रिम बौद्धिकताको शक्तिलाई नियन्त्रित गर्न कस्तो भूमिका खेल्छ भन्ने कुरा चासोपूर्वक हेरिएको छ।

संसारको भविष्य नै एआई हो भन्ने विश्वासका साथ हालै मात्र माइक्रोसफ्टले एआईकै लागि भनेर डेटा केन्द्रहरू निर्माण गर्न ८० अर्ब डलर लगानी गर्ने योजनामा छ। एमजी एक्स, ब्ल्याकरक जस्ता लगानी जुटाउने संस्थाहरूसँगको साझेदारीमा एआई डेटा केन्द्र बनाइरहेको छ। यी दुई कम्पनीले एक सय अर्ब डलर लिएर बसेका छन्। उता अमेजनले पनि आफ्ना दुई वटा परियोजनाको घोषणा गरेको छ र दुई महिनामै १० अर्ब खर्च गर्ने बताएको छ।

गत वर्ष म्याकिन्से नामक शोध कम्पनीले सन् २०३० सम्म विश्वव्यापी डेटा केन्द्र क्षमताको माग तीन गुणा बढ्ने र २०३० सम्म वार्षिक १९ देखि २७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । यस्ता डेटा केन्द्रको माग यति धेरै छ कि सन् २००० देखि हालसम्म जे जति डेटा केन्द्र निर्माण गरिएको छ, अब सन् २०३० सम्म यसको दोब्बर क्षमता बढाउनुपर्ने देखिएको छ। यसका लागि यति धेरै रकम चाहिन्छ कि त्यसका लागि जग्गाको अभाव, प्रक्रिया पूरा गर्न चाहिने तीव्रता र सरकारी अनुमति जस्ता समस्या झेल्नुपर्ने देखिन्छ।

यस्ता डेटा केन्द्रहरूको मागसँगै ऊर्जाको पनि उत्तिकै आवश्यकता पर्ने हुनाले यसले सर्वसाधारणको दैनिकीलाई समेत असर पार्न सक्नेतर्फ सचेत गराउन थालिएको छ।(एजेन्सीको सहयोगमा )

प्रकाशित: १० माघ २०८१ ०७:५० बिहीबार

# Open AI # Nagarik # CNN