अर्थ

सरकार र निजी क्षेत्र मिलेर आर्थिक सुधारमा लाग्नुपर्छः अर्थसचिव घिमिरे

अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले आर्थिक सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ७३ औं भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव घिमिरेले यस्तो धारणा राखेका हुन्।

सचिव घिमिरेले निजी क्षेत्रका मागहरूलाई सम्बोधन गर्न सरकारले नीतिगत समस्या सहज बनाउन कदम चालिरहेको जानकारी दिए।

उनका अनुसार आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्न विभिन्न अध्यादेश ल्याइएको छ। साथै, सुधार भएका ऐनहरूको कार्यविधि छिट्टै तयार पार्ने र ती ऐनलाई कार्यान्वयनमा लैजानेतर्फ सरकार केन्द्रित रहेको उल्लेख गरे।

भन्सार क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने दिशामा पनि सरकार काम गरिरहेको उनले बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन सुधार गर्नुपर्नेमा जोड दिए। उनले सीमामा हुने चोरी पैठारी नियन्त्रण गर्न आवश्यक रहेको बताउँदै भन्सार मूल्याङ्कन पद्धतिमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने धारणा राखे।

अध्यक्ष अग्रवालले हार्मोनिक कोडहरूको पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड लागू गर्नुपर्ने आवश्यकता औंल्याए।

७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चेम्बर अफ कमर्सले भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई सम्मान गरेको छ। भन्सार विभागमा उत्कृष्ट सेवा प्रदान गरेबापत भट्टराईलाई यो सम्मान प्रदान गरिएको चेम्बरले जनाएको छ।

प्रकाशित: ९ माघ २०८१ २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App