गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ।
नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो। यही माघ ११ गते एक दिने सुन्तला महोत्सव गर्न थालिएको हो।
सडक स्तरोन्नतिमा रचनात्मक दबाब सिर्जना गर्नका लागि महोत्सवको आयोजना गरिएको जलजला–१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताए। उनका अनुसार महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि मन्त्री, सांसद तथा राजनीतिक दलका नेतालाई सहभागी गराएर सडकको दुरवस्था देखाउने मुख्य उद्देश्य छ।
वर्षेनी झण्डै १५ करोडसम्मका सुन्तला उत्पादन हुने भए पनि बजारमा ढुवानी गर्न समस्या भएपछि गाउँलेले यस्तो जुक्ति निकालेका हुन्।
बाँसखर्क जोड्ने बारीवेनी–बगरफाँट–बाँसखर्क सडक स्तरोन्नती हुन नसक्दा गाउँसम्म सवारी साधन पुग्न समस्या भएको छ। ठुला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानीमा समस्या भएको अगुवा कृषक जगतबहादुर खत्रीले जानकारी दिए।
सुन्तला बिक्रीबाट उनले यस वर्ष मात्रै ४० लाख आम्दानी हुने अपेक्षा गरेका छन्। सडक सास्तीका कारण ढुवानीमा समस्या रहेको उनको गुनासो छ।
उनले भने, “साना खालका बोलेरो जीपमा थोरै थोरै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठुलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ, यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ।” सडकका कारण गन्तव्यमा पुर्याउँदा सुन्तला थिचिने मिचिने र कुहिने समस्या हुन्छ।
ढिलोगरी तयार हुने यहाँका सुन्तला माघ दोस्रो सातापछि मात्र बजार पठाउने गरिएको छ। गत वर्ष ढुवानी गर्ने समयमा गाउँपालिकाले सामान्य सडक मर्मत गरेको भए पनि वर्षायामको बाढी पहिरोले सडकमा सवारी साधन चलाउनै नसक्ने अवस्था रहेको अर्का कृषक मेखबहादुर खत्रीले बताए। यहाँको सडक मर्मतमा कुनै निकायले चासो नदिँदा समस्या भएको छ।
प्रदेश सरकारदेखि यस क्षेत्रको राजनीतिक नेतृत्वलाई नै गाउँमा उतारेर सडकको दुरवस्थाका बारेमा जानकारी गराई सडक स्तरोन्नति र कालोपत्र गर्नका लागि बगानमै महोत्सव गरिने भएको छ। महोत्सवमा सुन्तलाखेती प्रदर्शन, सुन्तलाका विभिन्न परिकार तथा स्वाद आगन्तुकलाई पस्किने आयोजकको तयारी छ।
अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको खुलेको भएपनि घण्टौँ लगाएर साना सवारी साधनमा पुग्नुपर्ने बाध्यता छ। जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म जान सक्दैनन्। सानो बोलेरो जीप मात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएको कृषक खत्रीले गुनासो गरे।
ठूला ट्रक तथा कन्टेनरबाट एकै पटक ढुवानी गर्न पाएमा आफूलाई सहज हुने सुन्तला खरिदका लागि बगानमा आएका काठमाडौंको कालीमाटीका व्यवसायी रमेश ढुङ्गेलले बताए। “यति ठूलो सुन्तला बगानको सहजताका लागि राज्यले पूर्वाधार निर्माण गरिदिनुपर्दछ”, उनले भने। करिब १० किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको व्यवसायीको गुनासो छ।
गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डिङ गरेर बाहिर निर्यात गर्नुका साथै बगैँचासम्म जाने सडक सुधारका लागि महोत्सव आयोजना गरिएको बताए।
यहाँका कृषकले गत वर्ष ११ करोड भित्र्याएका थिए भने अहिले क्षेत्रफल र उत्पादन दुवै बढेकाले १५ करोडसम्म आम्दानी हुने आंकलन गरिएको उनले सुनाए।
बाँसखर्कको अधिकांश सुन्तला काठमाडौं पुग्ने गर्दछ भने केही मात्रामा पोखरा, नारायणगढ र बुटबलमा बिक्री हुने गरेको कृषकले बताएका छन्। व्यवसायीले यहाँका सुन्तला बुकिङ् गरिसकेका छन्। अन्यत्र याम सकिएपछि मात्र यहाँ सुन्तला टिप्न आउने कृषक सोमबहादुर तिलिजाले बताए।
यहाँका २५० घरधुरी अन्नबाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका छन्। हरेक परिवारले न्यूनतम पाँच लाखदेखि ४० लाखसम्म आम्दानी गर्दै आएका छन्।
लक्ष्मीप्रसाद सापकोटा/रासस
प्रकाशित: ९ माघ २०८१ १४:५९ बुधबार