अर्थ

औद्योगिक ब्यापार मेलाभित्रै सूचनाप्रविधि र मोवाइल एक्स्पो

<br>

राष्ट्रिय औद्योगिक ब्यापार मेलाभित्रै सूचना प्रविधिसम्बन्धि जानकारी दिनेगरि क्यान इन्फोटेक र मोवाइल एक्स्पो पनि संचालन हुने भएको छ। पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा माघ १० देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक ब्यापार मेला संचालन हुँदैछ।  

पोखरा उद्योग बाणिज्य संघको आयोजनामा हुन थालेको राष्ट्रिय औद्योगिक ब्यापार मेलाको यो ३३ औं संस्करण हो। यही मेलामा १२ औं क्यान इन्फोटेक र चौंथो मोवाइल एक्सपो पनि आयोजना गरिने आयोजकले बताएको छ। मेला आयोजक पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मेला र महोत्सवमार्फत आर्थिक गतिविधि चलायमान बनाउन खोजेको बताए।  

अर्थतन्त्रलाई गति दिनका लागि पनि यस्ता गतिविधि सहायक हुने उनले बताए। संघकै अगुवाईमा २०४२ सालमा पोखरामा पहिलो पटक यस्तै मेला आयोजना गरेर सुरुवात गरेको उनले बताए। ‘मेला र महोत्सव अर्थतन्त्र चलायनमान बनाउने औजार बन्ने गरेका छन,’ कार्कीले भने।  

मेला र महोत्सवसँगै औद्योगिक उत्पादन, सूचना प्रविधिको प्रदर्शन पनि हुने कार्कीको भनाई छ। ‘मेला र महोत्सव नयाँ उत्पादन, औद्योगिक बस्तुको प्रदर्शनी सहित उत्पादक र उपभोक्ताबीचको भेटघाट, महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने माध्यम पनि बनेका छन,’ उनले भने, ‘स्वरोजगार हुन चाहनेका लागि मेलास्थल शिक्षालय बन्नुपर्छ।’  

यो पटकको मेलामा गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासलाई पनि समावेश गर्ने प्रयास गरिएको उनले बताए। औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुग्नेगरि मेलाले सघाउने उनले बताए।

त्यसैगरि क्यान कास्कीसँगको सहकार्यमा यही मेलामा समाहित गरिएको १२ औं क्यान इन्फोटेक २०२५ अन्तर्गत मेलामा सूचना पं्रविधि क्षेत्रमा पछिल्लो पटकका आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावना सहित सफ्टवेयर निर्माण एवं यसको बजारलगायतका विषयको प्रदर्शनी रहने पनि उनले जानकारी दिए।  

त्यसैगरि मोवाइल बितरक संघ, गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोवाइल एक्सपो अन्तर्गत मोवाइल खरिदमा ५० प्रतिशतसम्म छुट दिएको, एक्सचेञ्ज अफर, किस्तामा मोवाइल फोन खरिदको सुविधा पनि रहेको उनले बताए। यसपटकको मेलामा अघिल्ला संस्करणजस्तै अटो, औद्योगिक, मेड इन नेपाल पनि समावेश गरिएको अध्यक्ष कार्कीले जानकारी दिए।  

प्रकाशित: ८ माघ २०८१ १७:२२ मंगलबार

औद्योगिक ब्यापार मेला पोखरा