अर्थ

व्यावसायी भन्छन्ः चिनियाँ पर्यटक भित्र्याउने ढोका खुल्यो

चीनमा ‘नेपाल भ्रमण वर्ष २०२५’

नेपालमा सन् २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ जना विदेशी पर्यटक भित्रिँदा चिनियाँको संख्या १ लाख १ हजार ८ सय ७९ (करिब नौ प्रतिशत) थियो। यसअघि सन् २०१९ मा नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिँदा त्योवर्ष नेपाल भित्रिने चिनियाँको संख्या १४ प्रतिशत (१ लाख ६९ हजार ५ सय ४३) थियो।  

नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटनबाट धेरै नै अपेक्षा गरेको छ। तर, कोरोना भाइरस संक्रमण सुरु भएपछि चिनियाँ पाहुनाको आगमन बढी नै प्रभावित भएको थियो। कोरोना त्रासले ओरालो लागेको चिनियाँको आगमन उकासिने क्रममा सन् २०२४ मा बल्ल नौ प्रतिशतमा उक्लेको छ। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने चिनियाँको आगमन अझै प्रभावकारी हुन नसकेको अवस्थामा पछिल्लो समय चीनले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेसँगै चिनियाँ पर्यटक भित्रिने संकेत देखिएको बताउँछन्।  

‘भर्खरै मात्र चीन सरकारले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको छ। अब भने यो वर्ष चिनियाँ पाहुना आउनेमा आशावादी हुन सकिन्छ। अहिलेको आगमनमा धेरै नै सुधार हुने अपेक्षा छ। चिनियाँ पाहुना भित्र्याउनका लागि ढोका खुलेको छ,’ उनले भने, ‘चिनियाँ पाहुना भित्र्याउन सक्ने हो भने नेपालको पर्यटन क्षेत्र निकै नै उकासिनेछ।’  

उनका अनुसार अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा पर्यटन प्रर्वद्धन कार्यक्रमका लागि सम्झौता भएको थियो। नेपालको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने गरी दुई देशबीच भाषा, संस्कृतिको आदानप्रदान गर्नुका साथै नेपालमा चिनियाँ पर्यटक भित्र्याउने सहकार्य गर्ने समेतको सहमति त्यो बेला भएको थियो। त्यसका लागि चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमति समेत दुई देशबीच भएको थियो।  

‘नेपालमा बढी भन्दा बढी चिनियाँ पाहुना भित्र्याउने गतिलो अवसर अहिले बनेको छ,’ उनले भने, ‘सन् २०२५ मा नेपालले चिनियाँ पाहुनाको ठूलो संख्या भित्र्याउन सक्ने हो भने त्यसले पर्यटन क्षेत्रका आगामि दिन अझै सुखद् हुनेछन।’  

पछिल्लो समय पोखरामा पर्यटन सम्बद्ध गतिविधि गरिरहेको चीनले आगामि दिनमा नेपालमा थप चिनियाँ पठाउने गरि नेपाल भ्रमण वर्ष घोषणा गर्दा नेपालमा चिनियाँ पाहुना आउन उत्साहित हुने उनले बताए।  

‘२०२५ भरि नेपालमा चिनियाँ पर्यटक ल्याउनका लागि पहल गर्नुपर्छ। त्यसका लागि नेपालले चीनमा बढी भन्दा बढी प्रचारप्रसार गर्नुपर्छ,’ लामिछानेले भने। लामिछानेका अनुसार अहिले पनि चिनियाँ पाहुना भित्र्याउनका लागि चीनका विभिन्न सहरमा ट्राभल फेयरमा सहभागिता जनाउने गरिएको छ। वर्षभरिमा १०–१२ वटा फेयरमा नेपालको तर्फबाट सहभागिता रहेकोमा आगामि दिनमा त्यो सहभागिताको आकार बढाएर कम्तिमा दोब्बर पुर्याउनुपर्ने उनले बताए।  

‘अहिले पनि पर्यटन बोर्डले चिनियाँ सहरमा हुने ट्राभल फेयरमा सहभागिता जनाईरहेको छ। यो आकार आगामि दिनमा अझै बढाउनुपर्छ,’ उलने भने, ‘ट्राभल फेयर, सेल्स मिसनमा सहभागिता जनाउन पाउने हो भने बजारीकरण बलियो हुन्छ। त्यसले पाहुना तान्न सघाउ पुग्छ।’ चिनियाँ पर्यटन बजारमा हस्तक्षेप गरेको खण्डमा बल्ल बढी संख्यामा पाहुना भित्र्याउन सघाउ पुग्ने उनले बताए। 

बजारीकरणसँगै चीनका विभिन्न सहरबाट पोखरा र भैरहवा लक्षित सिधा उडान गरेर चिनियाँ पाहुना भित्र्याउन पहल थाल्नुपर्ने उनले बताए। त्यसबाहेक पोखरा र गण्डकी प्रदेशले चिनियाँ सहर र नगरसँग राखेको सम्बन्धलाई अझ बलियो बनाउँदै लगेको खण्डमा चिनियाँ पाहुना ल्याउन सहज हुने लामिछानेको भनाई छ।  

त्यसैगरि चिनियाँ संचारमाध्यममा नेपालबारे विज्ञापन गर्ने, चीनका विभिन्न विभिन्न विमानस्थलमा नेपालबारे प्रचारप्रसार हुनेगरि होर्डिङबोर्ड राख्ने, चिनियाँ भ्लगर र सोसल मिडियाका इन्फ्लुयन्सरलाई नेपाल घुमाउने हो भने आगामि दिनमा चिनियाँ पर्यटक बढाउन सघाउ पुग्ने उनले बताए। बोर्डले चिनियाँ संचारमाध्यममा विज्ञापन र विभिन्न सहरका विमानस्थलमा नेपालबारे जानकारी दिने होर्डिङबोर्ड राख्ने योजना बनाएको समेत उनले बताए।  

‘नेपालले मात्र नभई चीनले पनि नेपालमा चिनियाँ नागरिकलाई घुम्न पठाउनका लागि केही योजना बनाएको छ,’ उनले भने। नेपालमा विभिन्न सांस्कृतिक गतिविधि गर्ने, पोखरामा ड्रागन बोट रेस, लुम्बिनी पिस कन्सर्ट, नयाँवर्षका गतिविधि पनि गर्ने चिनियाँ तयारी रहेको पनि उनले बताए।

‘कुनै न कुनै तरिकाले चिनियाँ पाहुनालाई नेपाल घुम्न प्रेरणा दिलाउने गरि प्रयास थालिएको छ। अब चीन र नेपाल दुवै मुलुकले प्रवद्र्धनमा जोड दिने हो भने आगामि दिनमा चिनियाँ पाहुना थपिनेमा दुइमत रहन्न,’ उनले भने।  

चीनले नेपालमा चिनियाँ पाहुना घुम्न पठाउने गरि नेपाल भ्रमण वर्ष घोषणा भएसँगै पोखरामा चिनियाँ पाहुना लक्षित व्यावसायी थप आशावादी बनेका छन्। पोखरामा चिनियाँ पाहुना लक्षित पर्यटन व्यावसाय संचालन गरिरहेका व्यावसायी गोपि भट्टराई भन्छन, ‘अब राम्रो हुने अपेक्षा गर्न सकिन्छ। चिनियाँ पाहुना भित्र्याउने गरि माहोल तयार भएको छ। त्यसबाहेक नेपालमै पनि पहुँचमा केही सुधार हुँदै गर्दा चिनियाँ पाहुना थपिनेमा आशावादी हुन सकिन्छ।’  

‘नेपालको मात्र घोषणाले हो भने खासै फरक पर्दैनथ्यो, तर चीनले आफुले गरेको कुरा पुरा गरि छाड्छ, त्यसैले चिनियाँ पाहुना भित्रिनेमा बढी आशावादी हुन सकिन्छ,’ भट्टराईले भने, ‘चिनियाँ हवाई उडानको नेपालसम्म पहुँच बढाउने, नेपाल सरकारले चिनियाँ पाहुनाका लागि छुट सहितको विशेष प्याकेज दिने होे भने चिनियाँ पाहुना भित्रिनेछन्।’

भट्टराईका अनुसार अहिले जे जति चिनियाँ पाहुना भित्रिएका छन, ती सबै खर्च गर्ने खालका छैनन्। धेरैजसो चिनियाँ अहिले समूहमा आएका छन्। उनीहरु प्याकेजमा खानपिन र यात्रा गर्छन। तर, सन् २०१९ अगाडि नेपाल भित्रिने चिनियाँ पर्यटक निकै नै महंगा हुन्थे, व्यक्तिगत रुपमा घुम्न आउने उनीहरु खर्चिला पाहुना थिए। तर, अहिलेका चिनियाँ समूहमा आउने र प्याकेजमा चितवन, पोखरा, घुमेर फर्किने गरेको उनले बताए।  

भट्टराईका अनुसार पोखरामा अहिले आधा दर्जन हाराहारीमा चिनियाँ रेस्टुरेन्ट संचालनमा छन्। कोरोना अघि त्यो संख्या बढी रहेकोमा कोरोनाका कारणले केही बन्द भएका थिए। तर, अहिले फेरि केही व्यावसायीले व्यावसायलाई फर्काउने प्रयास गरिरहेको उनले बताए। पोखराको आकाशमा उडान हुने प्याराग्लाइडिङले चिनियाँ पर्यटकलाई बढी आकर्षित गर्ने पनि भट्टराईको भनाई छ।

प्रकाशित: ७ माघ २०८१ १८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App